+
+

एउटै मञ्चमा प्रचण्ड–बाबुरामले भने : हामी गणतन्त्रका मूलधार

उनीहरुले भने : जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते २०:१०

२७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लामो समयपछि एउटै मन्चमा उभिँदा टेलिफिल्म हेर्ने संयोग परेको थियो ।

मन्डला थिएटर काठमाडौंको एउटै मञ्चबाट सम्बोधन गर्दै उनीहरुले नेपालमा चलेको दश वर्षे सशस्त्र युद्ध लाखौं जनता सहभागी भएर लडिएको परिघटना भएको बताए । उनीहरुले आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने दाबी गरे ।

शुक्रबारबाट प्रसारण हुन थालेको टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरुले यस्तो भनेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको बताए । ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौं लाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छ भने त्यो माओवादी जनयुद्ध नै हो’ उनले भने, ‘लाखौं जनताले यसमा भाग मात्र लिएनन्, वर्षौदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ, यति ठूलो आन्दोलन ल्याटिन अमेरिकी मुलुक वा यूरोपतिर भएको हुन्थ्यो भने विश्वब्यापी परिवर्तनको घटनाको रुपमा दर्ज भइसक्ने थियो ।’

कतिपय शक्तिहरुले लाखौं जनताको सहभागितामा भएको उक्त सशस्त्रयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको आरोप लगाउँदै प्रचण्डले इतिहासमा यसको महत्व स्थापित भइसकेको बताए ।

‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौं भनेको पनि सुन्छु’– उनले भने, ‘हामी मूलधारमा आयौं कि हामीले मूलधार सिर्जना गर्यौं ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौं। अन्य दलहरु हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादीलाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन ।’

नेसपाका अध्यक्ष भट्टराईले माओवादी युद्धकै कारण आज संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गरे । उनले जनयुद्धका क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्ष ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताए ।

‘बच्चा जन्मदा सालनालसहित जन्मन्छ, पानीले पखालेर मात्रै सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुशीयाली हो’– उनले भने, ‘माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुशी नै जनयुद्धको मूल पक्ष हो ।’

कार्यक्रममा टेलिफिल्मका निर्देशक निर्माता मरिचमान श्रेष्ठले टेलिश्रृङ्खला ‘राधाकृष्ण’ले माओवादी युद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रवार साँझ प्रसारण हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?