+
+
अमेरिकाका लागि प्रस्तावित राजदूत :

‘हामी नेपालीसँग मात्रै प्रो हुन्छौं, अरू कसैको हुँदैनौं’

‘हामी कुनै फ्रन्टमा हुँदैनौं, हामी नेपालीसँग मात्रै हुन्छौं, नेपालसँग मात्रै हुन्छौं । यो नेपालको फरेन पोलिसी हो । हाम्रो कसैसँग पनि शत्रुतापूर्ण व्यवहार छैन । हामी सबैसँग मित्रवत् व्यवहार गर्छौं’, प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले भने ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ भदौ २७ गते २०:३०

२७ भदौ, काठमाडौं । नेपाल असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्छ । तर, ध्रुवीकृत विश्व राजनीतिमा नेपाल कतै खुल्नुपर्ने दबाब आउने गरेको छिप्दैन । नेपालभित्रै पनि यदाकदा यस्तो बहस हुने गर्दछ ।

बिहीबार अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीको संसदीय सुनुवाइका क्रममा यो विषय उठ्यो । सांसदहरूले ध्रुवीकृत विश्व राजनीति, पछिल्लो समय देखा परेको शक्ति राष्ट्रहरुको सैन्य शक्ति प्रदर्शन र युद्धको स्थितिमा अमेरिकन नीति निर्णायक हुने बताए । यस्तोमा अमेरिकाका लागि नेपाली राजदूतका रुपमा नेपाललाई कसरी प्रस्तुत गर्नुहुन्छ ? भनेर सोधे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले ‘अमेरिकाले नेपाललाई कसरी मूल्यांकन गरिरहेको छ’ भन्ने नेपालले थाहा पाउन सक्नुपर्ने बताए ।

‘अमेरिकाले नेपाललाई कसरी हेरिरहेको छ ? हजुरको कूटनीतिक पहलबाट नेपालको सरकारले र नेपालको जिम्मेवार नेतृत्वले यो थाहा पाउनुपर्छ कि– अमेरिकाले हामीलाई कसरी मूल्यांकन गरिरहेको छ ?’ प्रस्तावित राजदूत रेग्मीलाई पूर्वमन्त्री अर्यालको आग्रह थियो ।

आफ्नो जानकारीमा अमेरिकाले नेपालको असंलग्न परराष्ट्र नीतिका सम्बन्धमा चासो राख्न थालेको सांसद अर्यालले सुनाए ।

‘आजकल अमेरिकी अधिकारीहरु हामीले करिब ७५ वर्षदेखि नेपालसँग सम्बन्ध राख्दै आएका छौं, सहयोग गर्दै आएको लामो समय भयो । सहयोगलाई हेर्दा नेपाल प्रो हुनुपर्ने तर डटडटडट छ, के भइरहेको छ नेपाल ? भनेर भन्न थाले भन्ने छ’, अर्यालले सुनाए ।

प्रस्तावित राजदूत रेग्मीले आफूबाट नेपालको संविधान र नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्रनीतिको पूर्णतः पालना हुने जवाफ दिए ।

‘माननीय सदस्यले उठाउनुभएको विषय मेरो मनमा बिझेको छ’, रेग्मीले भनेका छन्, ‘वासिङ्टन डीसीमा बसेर काम गर्दा मैले नेपालीलाई ढोग्छु र नेपालको माटोलाई ढोग्छु ।’ उनले नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिको लक्ष्मणरेखाको पालना गर्ने विश्वास दिलाए ।

‘हाम्रो परराष्ट्र नीतिमा हामी कसैसँग प्रो हुदैनौं । जनताको प्रतिनिधिहरूको सर्वोच्च थलो संसदले निर्धारण गरेको विदेश नीतिलाई नै मान्ने हो, कार्यान्वयन गर्ने हो । त्यसमा दायाँबायाँ हुँदैन, त्यो लक्ष्मण रेखालाई अक्षरश: पालना गर्छु’, प्रस्तावित राजदूत रेग्मीको प्रतिबद्धता छ ।

नेपाल कतै प्रो नहुने पनि उनको जवाफ छ । प्रस्तावित राजदूत रेग्मी भन्छन्, ‘हामी प्रो कसैको पनि हुँदैनौं । हामी प्रो नेपाली हुन्छौं ।’

नेपाल सरकारका पूर्व मुख्यसचिव रेग्मीले यसअघि बेलायतमा नेपाली राजदूतका रुपमा काम गरिसकेका छन् । यसपटक सरकारले पूर्वप्रशासक रेग्मीलाई राजदूतका रुपमा अमेरिका पठाउन लागेको हो ।

‘विश्व परिस्थिति दिनप्रतिदिन पेचिलो हुँदै गइरहेको छ । तेस्रो विश्ययुद्धको निकट निकट छ । यस्तो परिस्थितिमा अमेरिकासँगको सम्बन्ध नेपालको लागि अत्यन्त महत्वको हुनेछ’, माओवादी सांसद जनार्दन शर्माले भने ।

जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले तेस्रो विश्वयुद्धको सम्भावना देखिएको बताए ।

‘तेस्रो विश्वयुद्धको सम्भावना देखिंदैछ । यसलाई रोक्ने वा बढाउने कुरामा अमेरिकाको भूमिका महत्वपूर्ण रहन्छ । यसबारेमा यहाँको धारणा के छ ?’, अधिकारीले प्रश्न गरे ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विश्व परिस्थिति विश्वयुद्धको सन्निकट रहेको बताए ।

‘विश्व परिस्थिति दिनप्रतिदिन पेचिलो हुँदै गइरहेको छ । तेस्रो विश्ययुद्धको निकट निकट छ । यस्तो परिस्थितिमा अमेरिकासँगको सम्बन्ध नेपालको लागि अत्यन्त महत्वको हुनेछ’, शर्माले भने ।

यस्तोमा नेपालले असंलग्न परराष्ट्र नीतिमा अडिग हुनुको विकल्प नरहेको माओवादीका उपमहासचिव शर्माको आग्रह थियो ।

उनले अगाडि भनेका छन्, ‘हाम्रो लागि युद्ध महत्वपूर्ण होइन । हाम्रो तर्फबाट असंलग्न परराष्ट्र नीतिमा नेपालको भूमिका थप सुदृढ गर्ने एउटा अवसर तपाईंलाई मिल्नेछ ।’

जवाफमा प्रस्तावित राजदूत रेग्मीले नेपाल कतै पनि ‘फ्रन्ट’ मा नदेखिने प्रतिवद्धता जनाए ।

‘हामी कुनै फ्रन्टमा हुँदैनौं, हामी नेपालीसँग मात्रै हुन्छौं, नेपालसँग मात्रै हुन्छौं । यो नेपालको फरेन पोलिसी हो । हाम्रो कसैसँग पनि शत्रुतापूर्ण व्यवहार छैन । हामी सबैसँग मित्रवत् व्यवहार गर्छौं’, प्रस्तावित राजदूत रेग्मीले कूटनीतिक रुपमै जवाफ दिए ।

नेकपा एमालेकी सांसद भगवती न्यौपानेले अमेरिकाले अगाडि सार्ने रणनीतिले शंका उत्पन्न गर्ने गरेको बताइन् ।

उदाहरणका रुपमा उनले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट, स्टेट पार्टनरसिप प्रोग्राम

(एसपीपी) र तिब्बतको सन्दर्भमा अमेरिकाले बनाएको कानुनलाई देखाइन् ।

‘कहिले इन्डो प्यासिफिक स्ट्राट्रेजीको कुरा आउँछ । कहिले एसपीपीका कुरा हुन्छन् । केही महिना अगाडि तिब्बत रिसोलुसन एक्ट भनेर तिब्बतको मामिलामा अमेरिकाले एउटा कानून पनि पारित गरेको छ । यी विषयहरूले हाम्रो देशमा शंकाहरू उत्पन्न भएको छ । ती शंका निवारण गर्न यहाँ पक्कैपनि सचेत हुनुपर्छ’, एमाले सांसद न्यौपानेले भनिन् ।

नेकपा एमालेका सांसद लीलानाथ श्रेष्ठले चीन र अमेरिकाको बीचमा द्वन्द्व रहेको स्मरण गरे ।

‘पटक–पटक अमेरिका र चीनको सम्बन्ध नमिलेको अवस्था छ । त्यो कारणले भोलि हामीलाई पनि त्यसको असर पर्न सक्छ । त्यसमा राजदूतको हिसाबले तपाईंको भूमिका के रहन्छ ?’, सांसद श्रेष्ठको प्रश्न थियो ।

तिब्बतको विषय उनले पनि स्मरण गरे । सांसद श्रेष्ठले प्रश्न गरे, ‘ताइवानको कुरा आउँछ । तिब्बतको कुरा आउँछ । त्यसको हामी छिमेकी मुलुक भएको हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्छ । यसमा तपाईंको भूमिका के रहन्छ ?’

जवाफमा प्रस्तावित राजदूत रेग्मीले बुद्धिमानी ढंगबाट, परिपक्वताका साथ नेपालको हित हेरिनुपर्ने बताए ।

‘कतिपय शंकाहरू, द्विविधाहरू, अस्पष्टताहरू, अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दा आउन सक्छन् । तर, त्यसलाई हामीले बुद्धिमानी ढंगबाट, परिपक्वताका साथ नेपालको माटो समातेर, नेपालीको अनुहार हेरेर समाधान खोज्नुपर्छ’, उनले भने ।

यसमा आफ्नो प्रभावकारी भूमिका रहने प्रतिबद्धता जनाउँदै उनी थप्छन्, ‘यसरी समाधान खोज्यो भने हामी अन्तर्राष्ट्रिय जगतमा भएका ठूला उतारचढावहरूको स्वाभाविक बाछिटाबाट टाढा रहन सफल हुन सक्छौं ।’

नेपालले विगतमा पनि यही नीति अवलम्बन गरेको रेग्मीले बताए ।

‘विगतमा हामी यस (अन्तर्राष्ट्रिय जगतको उतारचढावको बाछिटा) बाट जोगिंदै आएका हौं । विश्व एउटा हुँदा पनि हामी जोगिएर अलग्ग बसेका थियौं । हामी सग्लो छौं । त्यो आत्मविश्वास नेपालमा छ, नेपालीमा छ’, उनले भने ।

नेपालको राजनीतिको सफलतापूर्ण इतिहासमा राजनीतिक दलहरू नेपालको आन्तरिक समस्या र अन्तर्राष्ट्रिय सम्बन्धमा एक रहेको बताए ।

उनले भने, ‘केही समयमा आ–आफ्नो पोजिसन भएतापनि राष्ट्रलाई समस्या परेको बेला एक हुने बुद्धिमत्ता नेपालको राजनीतिक नेताहरूमा प्रशस्त छ । मैले त्यो अनुभव गरेको छु ।’

यसका प्रशस्त उदाहरण दिन सकिने भन्दै प्रस्तावित राजदूत रेग्मीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संघीय संसदबाट सर्वसम्मत रुपमा पास हुनु पछिल्लो उदाहरण रहेको बताए ।

राजदूत भएपछि काम गर्ने प्राथमिकता सुनाउने क्रममा उनले अमेरिकासँगको सम्बन्धलाई थप बलियो बनाउन भूमिका निर्वाह गर्ने बताएका थिए । यसका लागि अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने उनको प्रतिबद्धता थियो ।

अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन र जोन अफ केनेडीले नेपालको सगरमाथाबारे चासो देखाएको भन्दै उनले भने, ‘हामीले सागरमाथा डाइलग भनेर पनि अगाडि बढाउन खोजेका छौं । यो विषयलाई लिएर अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन सकिन्छ कि ?’

अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउँदा दुई देशको सम्बन्धका साथै नेपालको आर्थिक विकासका लागि समेत नयाँ सम्भावनाको खोजी र त्यसको सुरुवात हुने उनको विश्वास छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?