+
+

उद्घाटनको भोलिपल्टै बसपार्क बन्द, विरोध गर्नेविरुद्ध पक्राउ पुर्जी

अमृत सुवेदी अमृत सुवेदी
२०८१ भदौ २७ गते २१:२०

२७ भदौ, पोखरा । बागलुङ नगरपालिकामा निर्माण सुरु भएको २३ वर्षपछि उद्घाटन भएको बसपार्क पनि भोलिपल्टै बन्द भएको छ । १८ भदौमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको बागलुङ बसपार्क भोलिपल्टै बन्द भएको हो ।

उद्घाटन कार्यक्रमको फोहोरले बसपार्क कुरुप देखिएको थियो बसपार्कसम्म पुग्ने बाटो, टिकट काट्ने काउन्टरसमेत सञ्चालनमा आएको छैन । बसपार्क बने पनि बस पुरानै चिप्लेटी बसपार्कबाटै छुटिरहेका छन् भने असुविधाको कारण देखाउँदै वस व्यवसायी बसपार्कबाट गाडी छुटाउनसमेत मानिरहेका छैनन् ।

उपमेयर राजु खड्काले सडक, जग्गा व्यवस्थापनजस्ता विषयमा केही प्राविधिक समस्या देखिएको, बस व्यवसायीसँग छलफल भइरहेको बताए ।

‘नगरपालिकाले दिएको जाहेरीका विषयमा नगर प्रमुखलाई नै सोध्नुहोला । यो विषयमा मसँग छलफल पनि भएको होइन’, खड्काले भने, ‘बसपार्क नियमित सञ्चालनमा कसरी ल्याउन सकिन्छ भनेर लागिरहेका भने छौं ।’

नगरपालिकाका प्रशासन अधिकृत भीमसेन पन्तले अनलाइन टिकेटिङ भएका कारण बसपार्कमा भीड नदेखिएको हुनसक्ने र सुरक्षाका लागि सुरक्षा पोस्ट पनि बनाउने काम रहेको बताए । उनले जाहेरीका विषयमा आफूलाई जानकारी नभएको बतए ।

पूर्व मेयर जनक पौडेलले बसपार्क निर्माण सकिएर पनि बिनातयारी उद्घाटन गर्दा समस्या देखिएको बताए ।

२०७८ सालको असारमा बसपार्क सम्पन्न भएको तर बसपार्ककै विषय अख्तियार हुँदै विशेष अदालतसम्म पुगेपछि आफ्नो कार्यकाल सकिएको उनको भनाइ छ ।

‘बसपार्क निर्माण सकिएको सकिएको चौतर्फी दबाबपछि उद्घाटन त भयो । बिना तयारी उद्घाटन त गरियो तर भोलिपल्टै बन्द भयो’, पूर्वमेयर पौडेलले भने, ‘तलको बसपार्क सार्ने, काउण्टर राख्ने, लामो र छोटो दूरीका गाडी कहाँ कहाँबाट गर्ने भन्ने सहमति र तयारी नै भइसकेको थिएन ।’ ३५ लाख रुपैयाँ खर्च गरेर अस्थायी बाटो बनाइएको भए पनि चल्न सक्ने अवस्था नरहेको पौडेलले बताए ।

‘हाम्रै कार्यकालमा सम्झौताअनुसार निर्माण कार्य सम्पन्न भएको हो । यही बसपार्कको जग्गा व्यवस्थापनमाथि प्रश्न उठाउँदै अख्तियार हुँदै अदालतसम्म मुद्धा पर्दा उद्घाटन गर्न सकिएन,’ पूर्व मेयर पौडेलले भने, ‘हाम्रो कार्यकाल सकिएपछि पनि निर्माण सकिएको २ वर्षपछि मात्रै उद्घाटन भयो । तर, बिनातयारी उद्घाटन गर्दा सञ्चालनमै नआइ बन्द छ । त्यहाँबाट गाडी छुटाउन नसकिने व्यवसायीले बताइरहेका छन् । बाटो, काउन्टर केही छैन ।’

पटकपटक म्याद थपेर तेस्रो भेरिएसनपछि ९ करोड २१ लाख ३५ हजारमा बसपार्क निर्माण सकिएको हो । तर, अझै पनि बसपार्कमा विभिन्न पूर्वाधार निर्माण गर्नुपर्ने काम नगरपालिकाले नगरेको स्थानीयको पनि आरोप छ ।

उपल्लाचौरको दापगरामा बसपार्क निर्माण गर्ने निर्णय भएपछि २०५७/५८ सालदेखि त्यहाँका स्थानीय जग्गा लिन सुरु भएको थियो । आधुनिक बागलुङ बसपार्क निर्माण गर्ने २० औं वर्ष पुरानो योजना २०७५ साल कात्तिकबाट सुरु भएको हो । २०६१ सालमा बागलुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले शिलान्यास गरेको बसपार्क २०७५ फागुन १४ गते शहरी विकास मन्त्री मोहम्मत इस्तियाकले फेरि शिलान्यास गरेपछि यो बसपार्क चर्चामा आएको थियो ।

निर्माण सम्झौतादेखि सम्पन्न गर्ने बेलासम्म सधैं विवाद र चर्चाको केन्द्रमा रह्यो बागलुङ बसपार्क । बागलुङमा बसपार्क बनाउँन २०५९ सालमा ५२ जना स्थानीयले निशुल्क उपलब्ध गराएको ५९ रोपनी जग्गाबाट साढे १८ रोपनी जग्गामा बसपार्क निर्माण हुँदै थियो ।

बागलुङ नगरपालिका वडा नम्बर ४ मा उपल्लाचौर दाबगह्रा भन्ने ठाउँमा बसपार्कका लागि जग्ग दिने स्थानीयको जग्गा व्यवस्थापन पनि गरिदिनुपर्ने सम्झौता थियो । जग्गाको प्लानिङ गरेर स्थानीयलाई फिर्ता गर्ने सर्तमा सुरु भएको बागलुङ बसपार्कको निर्माण सम्झौता नै बिवादित बन्यो । करिब ७ करोड रुपैयाँ निर्माण ठेक्का दिइएकोमा डीपीआर नै गलत भएको भन्दै रिडिजाइन गरिएको थियो भने सेटिङमा ठेक्का सम्झौता गरिएको आरोप लागेको लाग्यो ।

बसपार्कको रिडिजाइन गर्दा निर्माण खर्च ७ करोडबाट करिब ११ करोड रुपैयाँ पुग्यो । बसपार्क निर्माणको जिम्मा फेवा जेभी पोखराले पाएको थियो । बोलपत्र मूल्यांकन र सिफारिस नै गलत भएको भन्दै आवाज उठ्यो ।

बसपार्क निर्माणमा जग्गा व्यवस्थापन गर्न जमिन सम्याउने, माटो पुर्ने, स्टिमेट गर्ने, मूल्यांकन र भुक्तानी गर्ने काममा मिलेमतो भएको विषय अख्तियारसम्म पुग्यो । अख्तियारले ५ लाख ९० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अघिल्लो कार्यकालका उपमेयरसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो । अहिले उनीहरुले सफाइ पाइसकेका छन् ।

बसपार्क सञ्चालनमा नआएकामा नागरिक अभियन्ता एकबहादुर केसी (संगम) ले विरोध जनाएका थिए । उनले बसपार्कको फोहोर सफा गर्ने क्रममा उनले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिने क्रममा शिलालेखमा फटाएर फाल्ने चेतावनी दिएका थिए । अहिले उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बागलुङ नगरपालिकाकाकै नाममा संस्थागत जाहेरी परेको र सरकारी वकिल, नगरपालिका र प्रहरी प्रशासनकै सहमतिमा जाहेरीको कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता तथा इन्स्पेक्टर प्रताप पौडेलले जानकारी दिए ।

‘मंगलबार उजुरी परेको हो । सामाजिक सञ्जालहरुमा नगरपालिकाको भ्रम फैलाउने गरी विभिन्न कामहरुप्रति टिप्पणी गरेको, नयाँ बसपार्कप्रति टार्गेट गरेर तोडफोड गर्छु भन्ने कुरा गरेको भन्ने निवेदन छ । सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको भन्ने छ’, पौडेलले भने, ‘सरकारी वकिल, प्रशासनको सल्लाहमा नै प्रक्रिया अगाडि बढाएका हौं । उहाँलाई सम्पर्कमा आउन भनेका छौं । कानुनलाई सहयोग गर्नुस् भनेका छौं ।’

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले सुरक्षा समितिको बैठक गरेर कसैमाथि पक्राउ पुर्जी जारी गर्ने काम नभएको बताए ।

‘चित्त नबुझेका कुरा राख्न पाइन्छ, राज्यको स्रोत साधनको रक्षा होस् भन्न पाउँछ । अवाज उठाउन पाइन्छ । लोकतन्त्र भनेकै त्यही हो,’ बरालले भने, ‘शान्ति सुरक्षामा खलल पर्‍यो भनेर पक्राउ पुर्जी जारी गर्न हामीले कहीँ सहमति वा आदेश दिएका छैनौं ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?