+
+

रंगेलीमा विराटनगरका मेयरको प्रदर्शन, एमालेको काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते २१:३४

२७ भदौ, विराटनगर । नेकपा एमालेको मोरङ जिल्ला कमिटीले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई आफ्नो पालिकाको काममा ध्यान दिन आग्रह गरेको छ ।

महानगरपालिकाको काम छाडेर बुधबार रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा कोइराला सहभागी भएपछि एमाले जिल्ला कमिटीले बिहीबार ध्यानाकर्षण पत्र बुझाउदै आफ्नो पालिकामा ध्यान दिन आग्रह गरेको हो ।

एमालेको नेतृत्वमा रहेको रंगेली नगरपालिकाले निर्धारण गरेको करको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन गरिरहेको छ । बुधबार दिउँसो कोइराला रंगेली नगरपालिका विरुद्धको आन्दोलनमा सहभागी भएका थिए । आन्दोलनमा पुगेर उनले आफ्नो महानगरपालिकामा समस्या नरहेको दाबी गरेका थिए । रंगेलीले पनि छलफबाट काम गर्नुपर्ने बताएका थिए ।

‘एउटा पालिका नेतृत्वले अर्काे पालिकालाई त्यो प्रकारको प्रतिक्रिया दिनेकुरा बेठीक हो, तपाईले गरेको बेठीक हो भनेर ध्यानाकर्षण पत्र दियौं’, एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीले भने, ‘तपाईंले गर्नुभएको क्रियाकलाप संगतिपूर्ण छैन, ट्रान्परेन्ट छैन, एकाउन्टेबल छैन, आफैंले गरेका निर्णय बदर गर्नुभएको छ भनेर स्मरण गरायौं ।’

कोइराला निर्वाचित भएको दुई वर्ष पाँच महिनासम्म एमालेले महानगर नेतृत्वको विषयमा चासो दिएको थिएन । गठबन्धनमा भएपनि एमालेको नेतृत्वमा रहेको पालिकाविरुद्ध कांग्रेसबाट निर्वाचित मेयर कोइराला सहभागी भएर आन्दोलन गरेपछि मोरङमा दुई दलबीच विवाद बढेको छ ।

‘विराटनगरको मेयर रंगेलीमा पुगेर पालिकाले गरेको संस्थागत निर्णयको विपक्षमा जे प्रतिक्रिया दिनुभयो त्यो बेठीक थियो, उहाँको क्षेत्राधिकार भन्दा बाहिर गएर एउटा नगरप्रमुखले अर्काे नगरप्रमुखको सार्वभौम निर्णय गर्ने अधिकारलाई उहाँले जुन प्रकारले हस्तक्षेप गर्नुभयो त्यो न्यायोचित थिएन’, कार्कीले भने, ‘किन गर्नुभयो भन्ने हाम्रो प्रश्न हो ।’

विराटनगरका मेयर कोइरालाले काम गर्नका लागि रंगेली नगरपालिकाबाट काम गर्न सिक्नुपर्ने उनको भनाइ छ । ‘कोशी प्रदेशको राजधानी भएको ठाउँमा एउटा शौचालय बनाउन सक्नुभएको छैन, जनताका लागि कुनै नयाँ दिन सक्नुभएको छैन’, उनले भने, ‘रंगेलीबाट केही त सिक्नुहोस्, रंगेलीले गरेको इनोभेसनको विषयमा, गार्डेनको विषयमा, बजेट सञ्चालनका विषयमा सिक्नुहोस् भन्यौं ।’ उनले नगरप्रमुखलाई आफ्नो शैली सच्याउन पनि आग्रह गरेको बताए ।

रंगेली पालिका प्रमुख दिलिप बगडियाले स्वास्थ्यको कारणले गर्दा केही दिनपछि छलफल गरेर समस्या समाधान गर्न आग्रह गर्दा कांग्रेसले आन्दोलनका नाममा जथाभावी गरेको उनले बताए ।

‘कांग्रेसको कन्सर्नको विषयमा रंगेलीका मेयर साबले भाइ बिरामी छ, दिल्लीबाट उपचार गरेर आएपछि छलफल गरौं भन्नुभएको रहेछ, तर कांग्रेसले आन्दोलन गरेको छ’, उनले भने, ‘आन्दोलनका नाममा जथाभावी गरेको छ ।’

एमालेले महानगर प्रमुख कोइरालालाई विराट राजाको दरबार, प्रधानमन्त्री पार्क लगायत विकास निर्माणको काममा भएको ढिलासुस्तीको अन्त्य गरि समय सीमाभित्र निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेको छ ।

नगरपालिकाबाट सञ्चालन हुने नगर बस अविलम्ब सञ्चालन गर्नुपर्ने, नगरभित्र फोहरमैलामा देखिएको लापरवाहीको अन्त्य गर्दै फोहरमैलाको प्रशोधन र उचित व्यवस्थापन गर्नुपर्ने एमालेको माग छ ।

एमालेको टोलीसँग महानगर प्रमुख कोइरालाले विकास निर्माणका कामका आवश्यक बजेट नहुँदा ढिलासुस्ती भएको बताए । बजेटका लागि प्रदेश र संघीय सरकार समक्ष पहल भइरहेको उनले बताएका थिए । कोइरालाले बुधबार नगरप्रमुखको रुपमा नभई पार्टीको मोरङ जिल्ला उपसभापतिको हैसियतमा आन्दोलनमा सहभागी भएको बताए । उनी कांग्रेस मोरङको उपसभापति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?