+
+

धार्मिक महत्वको बहुमूल्य श्रीखण्डको व्यावसायिक उत्पादन

डा. मित्र पाठक डा. मित्र पाठक
२०८१ भदौ २८ गते ९:११

पचास एकाउन्न वर्ष पहिला भारतबाट ल्याइएका दुईवटा श्रीखण्डका रूखबाट उत्पादित बीउबाट अहिले प्युठानको दाखाक्वाटीको एउटा सामुदायिक वनले श्रीखण्डको सरंक्षण समिति नै बनाएर वर्षेनि लाखौंको काठ बेचिरहेको छ। यति मात्र हैन जिल्लाका अन्य ठाउँमा पनि श्रीखण्डको एउटै रूखबाट तीन लाखसम्मको चुरो काठ बेचिराखेका छन्। नेपालका कञ्चनपुर लगायत अन्य ठाउँमा पनि खेती गर्ने क्रम बढेको छ। आजको लेखमा त्यही मूल्यवान् काठ दिने बहुमूल्य रूख श्रीखण्डको बारेमा चर्चा गर्नेछौं।

 परिचय

वैज्ञानिक भाषामा सान्टालम एल्बम भनिने सान्टालेसी वानस्पतिक परिवारको एक सदस्य तथा हाम्रा घर एवं मन्दिरमा घोटेर लेपको टीका लगाइने सामान्य चन्दनलाई नै हामी सेतो चन्दन वा श्रीखण्ड भन्दछौं। यो एक मझौला किसिमको रूख हुने अर्ध परजीवी बिरुवा हो। एक्लै हुर्काउँदा यो निकै ढिलो बढ्छ।

अङ्ग्रेजीमा यसलाई ‘स्याण्डल उड’ भनिन्छ। अर्को चर्चामा रहेको रक्तचन्दनलाई पनि अङ्ग्रेजीमा अगाडि ‘रेड’ थपेर ‘रेड स्याण्डल उड’ भनिन्छ, जसको बारेमा मेरा अघिल्ला लेखहरूमा चर्चा गरिसकिएको छ। नेपालमा चन्दनको खेती गरेको पाइए पनि श्रीखण्ड चन्दन वा रक्तचन्दन हाम्रा रैथाने बिरुवा भने हैनन्।

 धार्मिक महत्व

धार्मिक हिसाबले पूजाआजामा श्रीखण्डको प्रयोग गरिन्छ। यसको सुगन्धित तेलको रासायनिक नाम ‘स्यान्टालोल’ छ। पुरानो ग्रन्थमा श्रीखण्डलाई ‘स्यान्टल उड’ नै भनिएको छ। तर कालान्तरमा अङ्ग्रेजी अपभ्रंशले ‘स्याण्डल’ बनाएर हेय भावार्थ दिएको देखिन्छ। श्रीखण्ड हिन्दु धर्मका पवित्र ग्रन्थहरूमा उच्च महत्त्वका साथ व्याख्या गरिएको छ। पूजाआजा, जपध्यान, मर्दापर्दा सबै कार्यमा धर्मसंस्कृति अनुसार अति आवश्यक वस्तुको रूपमा व्याख्या गरिएको छ।

हिन्दु धर्म अनुसार भन्ने हो भने धर्मशास्त्रले तीनवटा चन्दनको नाम लिएको छ; श्वेतचन्दन, पहेंलो चन्दन, रक्तचन्दन। यी तीनमध्ये सबभन्दा उत्तम श्वेतचन्दन अर्थात् श्रीखण्डलाई मानेको छ। साथै हिन्दु धर्मसंस्कृति अनुसार हरेक कार्यमा अत्यन्त पवित्र वस्तुको रूपमा यसको प्रयोग गरिन्छ। श्रीखण्डलाई घोटेर बनाएको चन्दन लगाउने परम्परा करिब पाँच हजार वर्ष पुरानो हो। अहिले आएर हेर्दा पनि श्रीखण्डको चन्दन प्रयोगमा कुनै कमि आएको छैन बरु श्रीखण्डको पर्याप्तता नभएको ठाउँमा चन्दनको साटो विभिन्न अन्य काठको प्रयोग गरेकोले धर्म अनुसार पवित्र र चोखो वस्तुको रूपमा व्याख्या गरिएको पाइन्छ।

श्रीखण्डको चन्दन लगाउने र सके श्रीखण्ड काठको चितामा जल्ने नसके एउटा टुक्रा श्रीखण्ड भए पनि चितामा राखेर पार्थिक शरीर जलाउने मान्यता आजभन्दा कैयौं वर्ष अगाडिदेखि चलिआएको हो। साथै प्राचीन हिन्दु ग्रन्थहरूमा पनि यसबारे लेखिएको छ। यी सबैको अध्ययन गर्दा श्रीखण्ड त्यो युगदेखि नै महत्त्वपूर्ण वृक्षको रूपमा मानिएको कुरा प्रस्ट हुन्छ। निधारको बीचमा लगाइने यसको लेपले तेस्रो नेत्र शान्त र शीतल बनाउँछ र मानसिक शान्ति प्रदान गर्दछ भन्ने मान्यता छ।

 प्रयोग तथा बजारमूल्य

श्रीखण्डको विश्व बजारलाई हेर्ने हो भने यसको अन्तर्राष्टिय स्तरमा माग बढी रहेको छ। यो औषधीय गुणको भएको हुँदा विभिन्न औषधि तथा कस्मेटिकका सामग्री उत्पादनमा यसको प्रयोग गरिएको पाइन्छ। साथै यसको काठको मूर्ति, मालाहरू समेत बनाइन्छ। यसको प्रयोगको हिसाबले हेर्ने हो भने खासगरी महँगा पर्फुम, पाउडर लगायतका कस्मेटिक सामग्री, औषधिहरू निर्माणमा यसको प्रयोग हुन्छ।

चुरो काठको गुणस्तर हेरेर नेपाली बजारमा यसको मूल्य पाँच हजारदेखि दश हजारसम्म प्रति किलोसम्म भएको पाइन्छ भने भारतमा नेपाली रुपैयाँ बीसदेखि पच्चीस हजारसम्ममा किनबेच भएको पाइन्छ। जीउ भत्भती पोल्ने, चर्मरोग, कुष्ठरोग, टाउको दुखेको, बिर्सने बानी भएको, स्मरणशक्ति पूर्ण वा आंशिक रूपमा गुमेको, मस्तिष्कका रोग, मुटुको रोग, अम्लपित्त, कमलपित्त, ग्याष्ट्रिक, महिनावारीका बखत धेरै रगत बग्ने र योनीबाट सेतो पानी बग्नेमा चूरकाठको चूर्ण खाइन्छ। काठबाट निकालिएको तेल गनोरियामा दलिन्छ।

रगत आइरहने खालको पाइल्समा चूरकाठलाई पानीमा पकाई त्यसमा अदुवाको रस मिसाई दलिन्छ/खाइन्छ। काठको विभिन्न किसिमका सौन्दर्य प्रसाधनहरू बनाउन पनि प्रयोग गरिन्छ। सुगन्धको हिसाबले सेन्ट बनाउन, साबन स्याम्फू लगायत अन्य कस्मेटिक्समा पनि प्रयोग गरिन्छ।

 खेती प्रविधि

श्रीखण्ड एक मझौला किसिमको रूख हुने अर्ध परजीवी बिरुवा हो। रोप्नका लागि बिरुवा बीउबाटै राम्रो उमार्न सकिन्छ। कटिङबाट जरा हाल्न मुस्किल मान्छ। फिल्डका लागि कम्तीमा दुई वर्ष पुगेका बिरुवा उपयुक्त मानिन्छन्। सामुद्रिक सतहबाट दुई–तीन सयदेखि १००० मिटरसम्म खेतीका लागि सबैभन्दा राम्रो भए पनि १५०० मिटरसम्म पनि यो हुर्केको पाइन्छ। तराई र भित्री मधेशका थोरै भिरालो परेका पानी नजम्ने भूभाग श्रीखण्ड वा सेतो चन्दनका लागि उत्कृष्ट जमिन हुन्।

विश्वका १० महँगा काठहरू मध्ये श्रीखण्ड पनि एक मानिन्छ। श्रीखण्ड अर्ध परजीवी भएको हुँदा यसलाई होस्ट प्लान्टसँगै लगाउँदा छिटो हुर्किने र उत्पादन समेत छिटो दिने हुन्छ। यसलाई होस्ट प्लान्टको रूपमा अमला, किम्बु, केरा साथै जमिनमा अन्य कोसे बिरुवालाई होस्ट प्लान्टको रूपमा लगाउन सकिन्छ। केरालाई होस्ट प्लान्टको रूपमा लगाउँदा दुवैतिरबाट आम्दानी लिन सकिन्छ।

रूख रोपेको १२ देखि १५ वर्षमा उत्पादन लिन सकिन्छ। यसको १५ वर्षपछि उत्पादन लिंदा यसको चुरो पसेको काठ करिब १५ किलो देखि २५ किलोसम्म उत्पादन दिन्छ तर ढिलो गरी बाली काट्ने हो भने यसको उत्पादन बढ्न सक्छ।

 अब के गर्ने त ?

नेपालमा बढेको बढ्दो शहरीकरणको कारणले पहाडका खेतबारीमा निजी वनहरू दिनानुदिन बढ्दै र बाँझिदै गएका छन्। यो अवस्था कायमै रहने हो भने पहाडका खेतबारीहरू अरू आठ दश वर्ष पछि वनको रूपमा परिणत हुन पुग्छन् अनि हामीले गर्ने गर्व भनेको वन क्षेत्रको प्रतिशत यति वर्षमा यति बढायौं भन्ने मात्र हुनेछ।

ती पहाडका खेतबारी र तराई मधेशमा मार्जिनल ल्यान्डमा यदि अब पनि हामीले खेती नगरी जंगलै बढाउने हो भने जंगलको प्रतिशत त अरू बढ्ला तर देश अरू गरिब हुँदै जाने कुरामा दुईमत नहोला।

श्रीखण्ड जस्ता बहुमूल्य प्रजातिका रूख पनि ती खाली जग्गामा सही विकल्प हुन सक्छन्। तसर्थ वन मन्त्रालय अन्तर्गतका वनस्पति विभाग, डिभिजन वन लगायतका सम्बन्धित निकायहरूले नीतिगत सहजता खोजेर आधुनिक प्रविधि सहित, जनताको देश–विदेशको कमाइ पनि लगानी हुने गरेर ठोस योजना र सोही बमोजिमका कार्यक्रम आउन निकै विलम्ब भइसक्यो।

लेखकको बारेमा
डा. मित्र पाठक

डा. पाठक वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?