+
+

कृषि कर्ममा रमाइरहेका रेसबहादुर

रासस रासस
२०८१ भदौ २८ गते १०:०३

२८ भदौ, गल्याङ (स्याङ्जा) । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा आफूलाई बाख्रापालक किसानकै रुपमा चिनाएका छन् । अघिल्लो कार्यकालमा वडा सदस्य भएर जनसेवा गरेका उनी फेरि पशुपालनमै फर्किएका हुन् ।

०७४ मा जनप्रतिनिधि बन्नुअघि उनले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका थिए । परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा ८५ हजार रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरेको बताउँछन् ।

‘घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक–एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’, उनले भने, ‘अहिले फार्ममा ७३ वटा बाख्रा छन् ।’ किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा तीन लाख ५० हजार आम्दानी गर्दै आएको बताए ।

उनले १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन् । ‘केराखेतीबाट वार्षिक एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको छु । यो वर्ष दुई सय ९२ केराका बोट हावाले ढाल्यो’, उनले भने । उनले फार्ममा अहिलेसम्म १५ लाख रुपैयाँ लगानी गरेका छन् ।

उनको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन् । ‘अहिले व्यवसाय राम्रो हुँदै गएको छ । उत्पादन गर्न सके बजारको समस्या छैन । खसीबोका पोखरा पठाउँछु’, किसान क्षेत्रीले भने, ‘चरन क्षेत्रको समस्या छैन ।’ यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन् । एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ । सरकारले कृषि क्षेत्रमा प्रगति हासिल गर्न रकममा भन्दा दानापानीमा अनुदान दिनुपर्ने उनको सुझाव छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?