+
+

डली चायवाला किन नेपाल आउन लागेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ११:५३
माइक्रोसफ्ट संस्थापक बिल गेट्ससँग डली चायवाला

काठमाडौं । माइक्रोसफ्ट संस्थापक तथा अर्बपति बिल गेट्ससँगको एउटा फोटो र भिडियोले आफ्नो जीवन बदलिएला भनेर डली चायवालाले सायदै सोचेका थिए । भारतको नागपुरस्थित सडकमा चिया बेच्ने यी ‘भाइरल म्यान’ यतिबेला सामाजिक सञ्जालदेखि विदेशी मिडियाका शीर्षक बनिरहेका छन् ।

डली चायवाला नामले चिनिने सुनिल पाटिलको रवाफ यतिबेला लोभलाग्दो छ । एकाएक भाइरल बनेर छाएका उनी भदौ ३१ गते नेपाल आउने भएका छन् । भिडियो सन्देश जारी गर्दै उनले आफू घुमघाम र केही समारोहका लागि नेपाल आउन लागेको जनाएका छन् ।

झापाको भद्रपुरस्थित ग्लोबल इनोभेसन पार्टनर नामक कन्सल्टेन्सीले उनलाई नेपाल ल्याउन लागेको हो । संस्थाका प्रतिनिधि आरिफ अलीले एक पडकास्टको अतिथि बनाएर डली चायवालालाई नेपाल ल्याउन लागिएको बताए ।

भारत सिलीगुडी नजिकको एयरपोर्ट बागडोगरा हुँदै त्यहाँबाट उनी गाडीमा भद्रपुर जान लागेका हुन् । सोही दिन उनले त्यहाँ हुने पडकास्टमा अन्तर्वार्ता दिनेछन् । त्यस दिन उनी भद्रपुरमै बस्नेछन् ।

असोज १ गते उनी भद्रपुर हुँदै काठमाडौं आउनेछन् । काठमाडौंमा उनले केही शैक्षिक परामर्शदाता संस्थासँगको मिट एण्ड ग्रीटमा भाग लिनेछन् । हेलिकप्टरबाट काठमाडौं र पर्वतीय उडान भर्ने उनको कार्यक्रम छ । काठमाडौंमा रहँदा उनी पाँचतारे सोल्टी होटलमा बस्नेछन् ।

काठमाडौंबाट उनलाई तीन दिन पोखरा घुमाउने तयारी रहेको अलीले जनाए । ‘उहाँ मार्फत हामी नेपालको पर्यटन प्रवर्द्धन गर्न चाहन्छौं । उहाँको भाइरल छविलाई नेपालको पर्यटनको हितमा लगाउने सोच छ’ अलीले अनलाइनखबरसँग भने ।

डली आफ्ना दुई अंगरक्षक, म्यानेजरसहित पाँच जनाको टोलीसहित नेपाल आउन लागेका हुन् । भारतमा हालै सम्पन्न जी-सेभेन बैठकको क्रममा अमेरिकी अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि उनी विश्वव्यापी चर्चामा आएका थिए । संसारका ठूला मिडियाले उनलाई कभरेज गरेका छन् ।

पछिल्लो समय उनी विदेश भ्रमणमा व्यस्त देखिन्छन् । यतिबेला उनी केही ब्राण्डसँग पनि आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?