+

ठेउलाले सताए यी कुरामा ध्यान दिनुपर्छ

२०८१ भदौ  २८ गते १२:२७ २०८१ भदौ २८ गते १२:२७
ठेउलाले सताए यी कुरामा ध्यान दिनुपर्छ

ठेउला भाइरल संक्रमण हो । यो सामान्यतया बालबालिकामा बढी देखिन्छ । त्यसबाहेक वयस्क र वृद्ध वृद्धाहरूलाई पनि यसले सताउन सक्छ । ठेउला भेरीसेला जोस्टर नामको भाइरसको सङ्क्रमणले हुन्छ, जो गर्मीयाममा बढी सक्रिय हुन्छ । यसले आठ वर्षदेखि १५ वर्ष उमेर समूहकालाई बढी आक्रमण गर्छ ।

परिवारको एक सदस्यमा ठेउला देखिनासाथ अर्कोलाई सर्ने सम्भावना अधिक रहन्छ । त्यसैले यसबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

ठेउला हावा र प्रयोग गरेका लत्ताकपडाका माध्यमबाट अरूलाई सर्छ । एक पटक ठेउला भएर निको भएको व्यक्तिलाई अर्को पटक पनि यस्तो समस्या देखिने सम्भावना भने एकदमै कम हुन्छ ।

ठेउलाको लक्षण

ठेउला आउनुअघि टाउको दुख्ने, जीउ दुख्ने, हल्का ज्वरो आउने, घाँटी सुक्खा हुने, खोकी लाग्ने, छाला सुक्खा हुने, कमजोर महसुस हुने, बान्ता हुने, चिलाउने, पोल्ने र दुख्ने जस्ता लक्षण देखिन्छन् । यसरी लक्षण देखिएको २४ घण्टा नबित्दै शरीरको पेट, ढाड, पिठ्यूँमा मसिना बिमिरा देखिन्छन् र बिस्तारै शरीरमा फैलिंदै हातमुख, अनुहार टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा फैलिन्छ । क्रमशः त्यो पानी फोका जस्तै बन्छ । यस्तो बेला खाना खान मन नलाग्ने, खाना निल्न र चपाउन गाह्रो हुने हुनसक्छ ।

दुई हप्तासम्म रहन सक्छ संक्रमण

ठेउलालाई हामी सामान्य रुपमा लिन्छौं । तर समयमै उपचार भएन भने यसले गम्भीर रूप लिन सक्छ । त्यसैले ठेउलाको पहिचान हुनासाथ एन्टिभाइरल औषधि सेवन गर्नुपर्छ । यसरी समयमै औषधि सेवन गरेको अवस्थामा यो रोग दुई हप्ताभित्रै निको हुनसक्छ ।

हेरचाह

– ठेउला एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले सकेसम्म अन्य व्यक्तिको सम्पर्कमा जानु हुँदैन । ठेउलाको बिरामीलाई अलग्गै कोठामा राखेर हेरचाह गर्नुपर्छ । उनीहरूलाई दिनहुँ कपडा फेरिदिनुपर्छ ।

– ठेउलाको संक्रमण भएको बच्चा स्कुल जाने भए नपठाउने, अन्य बालबालिकासँग पनि टाढा राख्नुपर्छ । संक्रमित बच्चालाई छोइसकेपछि राम्रोसँग हात धुनुपर्छ । लुगा धोइसकेपछि घाममा राम्रोसँग सुकाउनुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

– ठेउलाको पहिचान हुनासाथ चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने र घरमा आराम गर्नुपर्छ । धेरै  चिल्लो खानेकुरा खानु हुँदैन ।

– लुगाकपडा तथा अन्य सामान अलग्गै प्रयोग गरेमा ठेउला एक-डेढ हप्तामै आफैं निको हुन्छ ।

– बिरामीमा कमजोरीपन देखापर्ने, ज्वरो आउने जस्ता लक्षण देखापर्ने भएकाले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ ।

– ताजा फलफूल, पोषिलो तथा झोलिलो खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ ।

– ठेउलाको बिरामीमा यसको जटिलताका रुपमा ब्याक्टेरियाजन्य संक्रमण भई मेनिन्जाइटिस, इन्सेफलाइटिस, निमोनिया, मिर्गौला तथा कलेजोको समस्या देखिएमा घातक हुनसक्छ । तसर्थ चिकित्सकको सल्लाहमा बिरामीको उचित हेरचाह गर्नुपर्छ । केही गम्भीर समस्या देखिएमा तुरुन्त अस्पताल जानुपर्छ ।

– ठेउला विरुद्धको खोप लगाउनुपर्छ । यो खोप दुई डोजमा उपलब्ध छ । जुन एक वर्षदेखि ४० वर्षसम्मको उमेरका व्यक्तिले लगाउन सकिन्छ ।

ठेउला डा. बाबुराम पाण्डे बालरोग
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय