+
+

ओलीले बदले बालुवाटार केन्द्रित दिनचर्या, रातिसम्म सिंहदरबारमै

यसअघि प्रधानमन्त्री छँदा पार्टीका बैठकदेखि कतिपय कुटनीतिक मन्त्रणासमेत बालुवाटार निवासमा गरेको भनी आलोचित हुँदै आएका ओलीले चौथो प्रधानमन्त्रीकालमा कार्यशैली बदलेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १२:३५
बिहीबार राति सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बाहिरिँदै प्रधानमन्त्री ओली । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

२८ भदौ, काठमाडौं । नेपालका प्रधानमन्त्रीहरुले सिंहदरबारको कार्यकक्षभन्दा बालुवाटारको निवासलाई गुलजार बनाउने गरेको भनी आलोचना खेप्दै आएका छन् । चौथोपल्ट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीसमेत यसअघि अपवाद बन्न सकेका थिएनन् । यो नयाँ कार्यकालमा भने ओलीले पुरानो प्रवृत्तिमा बदलाव ल्याएका छन् ।

यसपल्ट चौथो प्रधानमन्त्रीकालमा सल्लाहकार र सचिवालयको टिम चुस्त बनाएर काम थालेका प्रधानमन्त्री ओलीले बालुवाटार निवासभन्दा बढ्ता समय सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिन थालेका हुन् ।

‘रुघाखोकी लाग्दाबाहेक उहाँ सधैं अफिसमै आएर काम गर्नुहुन्छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘पहिले धेरैपल्ट अपरेशन र मिर्गौला प्रत्यारोपण गरेकाले रुघामा चाहिँ बच्नैपर्छ, नत्र ज्वरोस्वरोमा दबाई खाँदै काम गर्दै गरिरहनुभएको छ ।’

बिहीबार राति मन्त्रिपरिषद्को बैठक सकेर सिंहदरबारमा प्रधानमन्त्री ओलीले अरु दुईवटा बैठक भ्याए । उनी अफिसबाट निस्कँदा रातिको १० बजेको थियो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार काठमाडौं बाहिर हुँदा बाहेक ओली औसतमा दिनहुँ ८ घन्टा सिंहदरबारमा बिताइरहेका छन् ।

राति साढे १० बजेसम्म सिंहदरबार बसेर ओलीले कार्यसम्पादन गरिरहेको उनले सुनाए । बालुवाटारलाई निवासकै रुपमा विकास गर्ने, औपचारिक कामहरु कार्यालयमा नै केन्द्रित गर्ने नीति अन्तर्गत यसो गरिएको उनले भने ।

‘कहिलेकाहिँ बाहिर जाने परिस्थिति नबन्दा किताब विमोचन वा केही साना स्केलका कार्यक्रम बालुवाटारमा हुन्छन्, नत्र सबै काम र भेटघाट सिंहदरबारमा नै गर्ने नीति हो,’ मुख्य सल्लाहकार रिमालले भने, ‘पार्टीका बैठकहरु पनि बालुवाटारमा छैनन् । बरु पार्टी अफिसमा सम्भव नहुँदा होटलमा गरेका छौं ।’

प्रधानमन्त्री ओली प्रायः १० बजेभन्दा अगाडि नै कार्यालय पुग्ने प्रयास गर्छन् । उनले नियमित कामसँगै कतिपय जिल्लाबाट आउने डेलिगेशन, अनि विदेशी कुटनीतिज्ञहरुलाई सिंहदरबारमा नै भेट्ने क्रम बढाएका हुन् ।

ओलीले यसअघि प्रधानमन्त्री छँदा पार्टीका अधिकांश बैठक बालुवाटार निवासमा डाक्ने गर्थे । यसपल्टको कार्यकालमा एउटा पनि पार्टी बैठक निवासमा राखेका छैनन् । च्यासलस्थित नेकपा एमाले मुख्यालयमा अधिकांश बैठक डाकिन्छन् । बागमती नदीको बाढीले अफिस डुबानमा पर्दा एउटा बैठक सिंहदरबार नजिकै बसेरा होटलमा डाकियो ।

‘समय व्यवस्थापनका लागि कतिपय कार्यक्रमहरु बालुवाटारमा गर्र्नुपर्ने हुन्छ, तर बैठकजस्ता कुराहरु चाहिँ सरकारी निवासमा नराखौं भन्ने प्रधानमन्त्रीज्यूकै विचार हो,’ ओली निकट स्रोतले भन्यो ।

विगतमा नेकपाकालमा ओलीका लागि एक किसिमको कुर्सी, प्रचण्ड र माधव नेपालका लागि भिन्न खालको कुर्सी व्यवस्थापन भएको भन्दै रडाको नै मच्चिएको थियो । अहिले निवासमा बैठक नराखेपछि यस्तो खालको विवाद स्वतः कम भएको छ ।

यसअघि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, सुशील कोइराला, झलनाथ खनालझैं ओलीले धेरैजसो समय बालुवाटार निवासमा बिताउने गरेका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री छँदा भने सिंहदरबारमा काम गर्ने गर्थे । पछिल्लोपल्ट प्रचण्डले सिंहदरबार आउने क्रम पहिलेभन्दा बढाएका थिए ।

ओली यसअघि प्रधानमन्त्री छँदा उनको मिर्गौला प्रत्यारोपण तथा नियमित डायलासिस चलेको थियो, जस क्रममा उनी बालुवाटार निवासमा बढ्ता रहने गर्थे । क्याबिनेटका बैठक, विदेशी कुटनीतिज्ञसँगका बैठक, पार्टी बैठक सबैजसो बालुवाटार केन्द्रित थिए ।

ओली दोस्रो र तेस्रोपल्ट प्रधानमन्त्री बन्दा देशमा कोभिड महामारी थियो । विश्वव्यापी स्वास्थ्यसंकट देखाउँदै ओली बालुवाटार निवासमा बढ्ता रहने गर्थे । तर स्वास्थ्य अवस्था सहज नै हुँदा पनि ओलीले बालुवाटारमै केन्द्रित भएको भनेर उनकै पार्टीभित्रसमेत विगतमा कुरा उठ्ने गथ्र्यो । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयको अधिकार कतिपय बेलामा सचिवालयले प्रयोग गर्ने गरेको भनेर ओलीलाई आरोपसमेत लाग्ने गरेको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले पहिले पनि सिंहदरबार आउने क्रम कम नरहेको भन्दै बचाउ गरे । उनले भने, ‘स्वास्थ्यमा पहिलेजस्तो अलिअलि उतारचढाव थियो, अहिले त्यो पनि छैन, प्रधानमन्त्रीज्यु सिंहदरबारमै आएर काम गर्ने प्रणाली बसाल्नुपर्छ भन्ने मान्यतामा स्पष्ट हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?