+
+

सुखद् अकुपेन्सीसहित ‘शाम्बाला’ रिलिज, ‘अस्कर इफेक्ट’ले फाइदा पुग्ला ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १२:४०

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ ।

काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा अकुपेन्सी बढेर शतप्रतिशत हुने अनुमान छ ।

विशेषगरी क्यूएफएक्सको छाया सेन्टर र लाबिम हलमा अकुपेन्सी बढी छ । चावहिलको केएल टावरस्थित एफक्युब सिनेमाजमा पनि अपरान्ह र बेलुकीका शो खचाखच हुने देखिएका छन् । तर नियमितजसो नेपाली फिल्मको अकुपेन्सी राम्रो हुने अन्य हलमा भने ‘शाम्बाला’ले दर्शक तान्न सकेको देखिएको छैन ।

पोखरा र चितवनका हलमा अकुपेन्सी ३० प्रतिशत हाराहारीमा छ । अपरान्ह र बेलुकीका शो ती सहरमा केही बढ्ने अनुमान छ । बलियो वर्ड अफ माउथ र नयाँ ठूला फिल्म नआउँदाको फाइदा यो फिल्मलाई पुग्ने अनुमान छ । आगामी अस्कर अवार्डमा यो फिल्मले नेपालको प्रतिनिधित्व गर्ने खबरपछि फिल्मले थप दर्शकलाई तान्न सक्ने अनुमान छ ।

अस्करमा जाने निश्चित भएलगत्तै फिल्मले पोस्टर पनि सार्वजनिक गरेको छ । विगतमा केही फिल्म अस्करमा सिफारिस भएपछि पुनः प्रदर्शनमा आएको इतिहास छ । अस्कर इफेक्टले फिल्मलाई केही हदसम्म फाइदा पुग्न सक्ने देखिन्छ । भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र अनुराग कश्यपको नेपाल भ्रमणले पनि फिल्मलाई प्रवर्द्धनमा फाइदा पुग्ने अनुमान छ ।

शुक्रबारदेखि क्यूएफएक्स बाहेकका हलमा शाहरुख खान, प्रीति जिन्टा र रानी मुखर्जी स्टारर बलिउड फिल्म ‘वीरजारा’को पुनः प्रदर्शन सुरु भएको छ । यो फिल्म २० वर्षपछि फेरि हलमा रिलिज भएको हो ।

शुक्रबारदेखि जापानी एनिमेटेड फिल्म ‘डिटेक्टिभ कोनान : द मिलियन डलर पेन्टाग्राम’ पनि प्रदर्शनमा आएको छ । केस क्लोज्ड फिल्म श्रृंखलाको यो २० औं श्रृंखला हो जसलाई हिगा नाकाओगाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?