+
+

समयमै सडक नबन्दा दोर्दीलाई केन्द्रसँग जोड्ने यात्रा कष्टकर बन्दै

रासस रासस
२०८१ भदौ २८ गते १५:२३
फाइल फोटो ।

२८ भदौ, लमजुङ । लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक समयमा निर्माण सम्पन्न नहुँदा यात्रा कष्टकर बन्दै गएको छ । सरकारले ‘एक पालिका एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको यस पालिका जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा यात्रुलाई आवागमनमा समस्या हुँदै आएको हो ।

स्तरोन्नति तथा कालोपत्र सुरु गरिएको उक्त खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष बित्दासमेत सम्पन्न भएको छैन । ठाउँठाउँमा सडक खोतलिएको छभने कतिपय ठाउँमा पानी जमेर पोखरी बनिसकेको स्थानीय बताउँछन् ।

‘मेरो आमा बिरामी परेर केही दिनअघि जिल्ला सदरमुकाम बेँसीसहरको लमजुङ अस्पतालमा एम्बुलेन्समा लैजाँदै थिएँ, हिलाम्मे भएर सडक बिग्रिएकाले एम्बुलेन्स चिप्लेर धन्नै दुर्घटनामा परिएन,’ स्थानीय वासुदेव सेढाइँले भने, ‘आमाको ज्यान बचाउन जाँदा अर्को विपद्को सामना गर्नुपर्‍यो ।’

सडक ठाउँठाउँमा हिलाम्मे हुँदा यात्रु हिँड्डुल गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ । पालिकाको केन्द्र रहेको दोर्दी गाउँपालिका–४ नौथर सेराका मेखबहादुर घलेले यहाँबाट बेँसीसहर आउन सडकको दुरावस्थाका कारण दिनभरिजसो लाग्ने उनले बताए ।

‘ठाउँठाउँमा भत्किएको सडक हिलाम्मे छ । हिलोमा गाडी फस्ने समस्या छ । गाडी फस्न नदिन यात्रुहरुलाई ठाउँठाउँमा झर्दै र मिलाउँदै हिँड्नुपर्ने अवस्था छ । सामान्य रुपमा करिब दुई घण्टामा बेँसीसहर पुगिने भए पनि अहिले दिनभरि लाग्ने गरेको छ’, उनले भने ।

बेँसीसहर नगरपालिका–११ चितिका प्राविधिक शङ्कर श्रेष्ठले भने, ‘दोर्दी पालिका जोड्ने सडक सञ्जाल विस्तार भए पनि अधिकांश भाग यस वडाभित्रै पर्दछ । हामी पनि कामले यो सडक हुँदै हिँड्नुपर्छ, वर्षामा सडकले यात्रीले सास्ती दिएको छ ।’

सडक अवस्थाको स्थलगत अनुसन्धान गर्न वर्षाको समयमा पहिरोको जोखिम हुने भन्दै मानविय क्षति नहोस् भनेर अग्रसरता नलिइएको उनले बताए । दोर्दी गाउँपलिकासँग समन्वय गरी वर्षापछि सडक स्तरोन्नतिलाई तीव्रता दिन पहल गरिने प्राविधिक श्रेष्ठले उल्लेख गरे ।

दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सडकमा जताजतैबाट पानी जम्ने, हिलाम्मे हुँदा यात्रा गर्न सास्ती हुने गरेको बताए । ठेकेदारलाई गाउँपालिकाले मौखिक रुपमा समयमा निर्माणसम्पन्न गर्न आग्रह गर्दै आइरहेको भन्दै वर्षापछि कामलाई तीव्रता दिन दबाब सिर्जना गर्ने उनले उल्लेख गरे ।

जिल्लास्थित पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी नरेशराज जोशीले सडक सयममा सम्पन्न नहुँदा पानीले हिलाम्मे र खाल्डाखुल्डी बनाएकाले यात्रा असहज बनिरहेको बताए । उनले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

ग्राभेल, ग्याबिन वाल, मेसिन वालको काम बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । नाला बनाउने काम अधिकांश सकिएको छ । ‘कालोपत्रका लागि सववेस, बेस हाल्ने काम, स्टक्चरलगायत अन्य काम भइरहेको छ’, सूचना अधिकारी जोशीले भने । सम्झौता अनुसार ०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्नेमा कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको थियो ।

निर्माण कम्पनीले विसं २०७९ पुससम्ममा पुनःनिर्माणको जिम्मेवारी पाएको थियो । सो समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो ।

पुनः म्याद थप गरी आगामी मङ्सिर २८ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालयले जनाएको छ । थप गरिएको समयभित्रमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सूचना अधिकारी जोशीले उक्त समयमा पनि नसकिए म्याद थप नहुने बताए । प्रदेश सरकारको २६ करोड २९ लाख रुपैयाँ लगानीमा ७.१२१ किलोमिटर सडक कालोपत्र हुन लागेको हो ।

हालसम्म १६ करोड ८६ लाख रुपैयाँ खर्च भइसकेको कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरबाट दोर्दी गाउँपालिका–४ मा दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ । दुई ठाउँमा गरी १ हजार ११३ घनमिटर सडक ढलान गरिनुका साथै चार सेन्टिमिटरको कालोपत्र हुने जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?