+

औषधीय गुणले भरिपूर्ण फिटकिरी

२०८१ भदौ  २८ गते १५:५९ २०८१ भदौ २८ गते १५:५९
औषधीय गुणले भरिपूर्ण फिटकिरी

एन्टिबायोटिक र एन्टी-इन्फ्लेमेटरी गुणले भरिपूर्ण फिटकिरी प्राय: भान्सामा हुने रासायनिक पदार्थ हो । यसले स्वास्थ्यलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ । यसमा रहेको आल्मुनियम सल्फेटले मानव कोषलाई स्वस्थ राख्न मद्दत गर्छ । फिटकिरी धेरै औषधीय गुणले भरिपूर्ण हुन्छ ।

पछिल्लो समय फिटकिरीको प्रयोग एकदमै कम हुने गर्छ, किनकि अहिले हरेक समस्याको समाधान मान्छेलाई छिटो चाहिन्छ । फिटकिरी जस्ता प्राकृतिक कुराले बिस्तारै समस्या समाधान गर्ने भएकाले पनि यसको प्रयोग कम भएको हुनसक्छ ।

फिटकिरीको औषधीय गुण र उपयोगिता

फिटकिरीमा एन्टिबायोटिक गुण पाइन्छ, जसकारण यो धेरै प्रकारका संक्रमणसँग लड्न निकै प्रभावकारी हुन्छ । मुखमा घाउ आउने र टन्सिलको समस्यामा यसको प्रयोग गर्न सकिन्छ । फिटकिरी दाँतको दुखाइ र गिजाको समस्यामा पनि उपयोगी हुन्छ । दाँतमा रहेको प्लाक पनि यसको प्रयोगले कम गर्न सकिन्छ ।

यसमा एन्टी-ब्याक्टेरियल गुण पनि पाइन्छ । यस गुणको कारण यो ब्याक्टेरिया नष्ट गर्न धेरै प्रभावकारी हुन्छ । घाँटी दुख्ने, शरीरको दुर्गन्ध, चिलाउने, एक्जिमा, डन्डीफोर जस्ता समस्यामा फिटकिरी फाइदाजनक मानिन्छ । शरीरमा पसिनाको दुर्गन्ध आउँछ भने त्यो दुर्गन्ध हटाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।

महिलाको यौनाङ्गबाट सेतो पानी बग्ने समस्या, पायल्सको समस्या र युरिन इन्फेक्सनको समस्यामा पनि फिटकिरीको प्रयोग गरिन्छ । फिटकिरीको प्रयोग पायल्सको प्राकृतिक उपचारमा पनि लाभदायक मानिन्छ ।

फिटकिरीमा पाइने एन्टी-इन्फ्लेमेटरी गुणले दुखाइ र सुन्निने समस्यालाई कम गर्छ । यदि शरीरको कुनै भागमा दुखाइ वा सुन्निएको छ भने त्यसमा पनि फिटकिरीको प्रयोग गर्न सकिन्छ ।

फिटकिरीमा एस्ट्रिन्जेन्ट गुण प्रचुर मात्रामा पाइन्छ । यसको प्रयोगले अनुहारको दाग र चाउरीको समस्या पनि कम गर्न सक्छ । अनुहारको कालोपन हटाउन पनि फिटकिरी प्रभावकारी हुन्छ । यसमा पाइने एस्ट्रिजेन्ट गुणका कारण यसले छालाको छिद्रलाई कडा बनाउन मद्दत गर्छ ।

प्रयोग गर्ने तरिका

टन्सिलको समस्या छ वा मुखमा घाउ आएको छ भने फिटकिरी पानीले मुख कुल्ला गर्दा छिटो सन्चो हुन्छ । एक गिलास मनतातो पानीमा एक चिया चम्चा फिटकिरीको धुलो मिसाएर बिहान बेलुका कुल्ला गर्दा समस्या कम हुन्छ ।

काटेको ठाउँबाट रगत बगेको छ भने फिटकिरी पानीले त्यो ठाउँमा धुने र फिटकिरीको पाउडर लगाइयो भने रगत बन्द हुन्छ । शरीरमा पसिनाको दुर्गन्ध आउँछ भने त्यसलाई हटाउन पानीमा दुईदेखि तीन चम्चा फिटकिरीको धुलो मिसाएर नुहाउन सकिन्छ । शरीरको कुनै भागमा दुखाइ वा सुन्निएको छ भने फिटकिरी पानीमा डुबाउनाले आराम मिल्छ ।

अनुहारमा फिटकिरी रगड्दा पिम्पल र चाउरीको समस्या कम हुन्छ । यसबाहेक फिटकिरी पानीले पनि मुख धुन सकिन्छ । यसो गर्दा छाला सम्बन्धी समस्यामा धेरै फाइदा हुन्छ । शरीरमा खटिरा आएर चिलाउँछ भने दैनिक फिटकिरी लगाउँदा कीटाणुहरू नष्ट भई चिलाउने समस्या हट्छ । संक्रमण फैलिन दिंदैन ।

फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो संवेदनशील अंगकव सफाइ गर्ने गर्नुपर्छ । यस्तो गर्दा सेतो पानी बग्ने समस्या कम हुने गर्छ । आधा चम्चा फिटकिरीलाई एक गिलास पानीमा मिसाएर बिहान उठेपछि र राति सुत्नेबेला कुल्ला गर्दा दाँतलाई बलियो बनाउँछ । साथै सासको दुर्गन्ध पनि हट्छ ।

पायल्सको समस्या हुनेले पानीमा फिटकिरी मिसाएर प्रभावित क्षेत्रमा लगाउन सकिन्छ । यसले पायल्सको समस्यालाई कम गर्छ ।

डा. शेखर मुखिया सुनुवार प्राकृतिक चिकित्सा फिटकिरी
डा. शेखर मुखिया सुनुवार
लेखक
डा. शेखर मुखिया सुनुवार
प्राकृतिक चिकित्सक

डा. मुखिया काठमाडौंको नयाँ बानेश्वरस्थित होलिस्टिक अस्पताल तथा अनुसन्धान केन्द्र, मध्यबानेश्वरस्थित हिमालयन योग तथा प्राकृतिक अस्पताल र पुरानो बानेश्वरस्थित प्रकृति उपचार अस्पतालमा कार्यरत छन् । उनको एनएचपीसी नम्बर ए-६२ एमईडी, एनवाईएल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय