+
+
पुस्तक :

दाउद इब्राहिम : इमानदार प्रहरीका कुख्यात छोरा, सुजाताका प्रेमी

दाउदका कुख्यात कार्यले पुलिस पितालाई लज्जित तुल्याउँथ्यो, उता दाउद केही गरिबहरुका लागि समाजसेवी अनि प्रेमिकाका लागि नरम व्यक्ति थिए । खुंखार दाउदको मायालु पक्ष देख्ने सुजाता एक्ली पात्र थिइन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ भदौ २८ गते २०:५७

काठमाडौंका गुण्डा भनिएकाहरुलाई कुनै बेला रमेश खरेलले भनेका थिए – ती डन होइनन्, फ्याउराहरु हुन् । सबका नाडी छामिसकेको भन्दै ‘एसपी खरेल’ उनीहरुलाई ‘मुसा’ भन्थे, आफूलाई चाहिँ तिनलाई तह लगाउने बिरालो ।

प्रहरी प्रमुख बन्न नपाएपछि डीआईजीबाटै स्वेच्छिक अवकाशको बाटो रोजेका खरेलको बुझाइमा, तिनीहरु अनेक आवरणमा जोगिँदै आएका मामुली अपराधी मात्र हुन् । मुम्बई अन्डरवर्ल्डका इन्साइक्लोपीडिया हुसेन जाहिदीको पुस्तक ‘डोङ्ग्री टू दुबई : सिक्स डिकेड्स अफ मुम्बई माफिया’ पढ्ने हो भने लाग्छ – खरेलले ठिकै भनेका थिए ।

झण्डै ६ दशकदेखि मुम्बईमा राज गरेका अन्डरवर्ल्ड नाइकेहरुको कथा पढ्दा लाग्छ, नेपालका डन त के डन ! बलिउडदेखि फोर्ब्स म्यागजिनको विश्व शक्तिशाली व्यक्तिसम्म, मुम्बईदेखि कराचीसम्म। प्रहरीभित्रै घुसपैठदेखि डनहरुको आफ्नै इन्टलिजेन्स संयन्त्रसम्म ।

हाजी मस्तान, करिम लाला, बर्द राजन, छोटा राजन, अबु सलिमदेखि अमेरिकाले अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गरेका दाउद इब्राहिमसम्म । मुम्बई माफियाका साना-ठूला खेलाडीहरुको इतिवृत्तान्त कुनै काल्पनिक ‘डार्क थ्रिलर’ सिनेमाभन्दा कम लाग्दैन । अनि, फेरि नेपालका ‘फ्याउरा’हरुलाई सम्झिने हो भने लाग्छ, ‘धन्न, त्यो तहको डनराज यहाँ छैन ।’

आपराधिक पृष्ठभूमिका मनोज पुन, समिरमान सिंह बस्न्यात लगायतले नेपालमा अन्डरवर्ल्ड शैली पछ्याउने प्रयास नगरेका होइनन् । तर, पुन र उनका साथी सोम आले प्रहरी ‘मुठभेड’मा मारिए । बस्न्यात पक्राउ परेर केन्द्रीय कारागारको गोलघरमा छन् ।

डनका रुपमा चिनिएका अर्का व्यक्ति रमेश बाहुन थुनामुक्त भएर दुबईतिर छन् । सार्वजनिक जानकारीमा भएको तथ्यलाई मान्ने हो भने उनी त्यहीँ ‘व्यवसाय’मा भुलिरहेका छन् ।

अन्डरवर्ल्ड रिपोर्टरको सनसनीपूर्ण खोज

पुस्तकका लेखक हुसेन जाहिदी पूर्वपत्रकार समेत हुन् । उनले यस्तो बेला पत्रकारिता थालेका थिए, जतिबेला मुम्बईमा अन्डरवर्ल्डको जगजगी थियो । राजनीतिदेखि बलिउडसम्म पकड जमाएर आतंक फैलाइरहेको अन्डरवर्ल्डसामू पत्रकार ‘मामूली’ कुरा थिए ।

खबर छापेकै कारण पत्रकारहरुले बीच बजारमा लखेटिएर मारिनु परेको घटना सतहमा आइरहन्थे । यस्तो बेला जाहिदीले ‘एसियन एज’ अखबारका लागि अपराध मामिलामा रिपोर्टिङ थालेका थिए ।

हुसेन जाहिदी

त्यसबेला अन्डरवर्ल्डबारे लेख्न जति जोखिम थियो, त्योभन्दा कयौं गुणा बढी रुचिकर विषय पनि थियो । मुम्बई विष्फोटपछि दाउद इब्राहिमको स्कुप अन्तरर्वार्ता होस् या छोटा राजनका गतिविधि समेटिएको सामग्री – हप्तौंसम्म जाहिदीले लेखेका विषयहरु ‘टक अफ दी टाउन’ बनिरहन्थे ।

पाठक मात्र होइन, प्रहरीका लागि पनि अखबारबाट नयाँ सूचनाहरु मिल्थे । जाहिदीले त्यहीं अवसर देखे र सन् १९९५ देखि अन्डरवर्ल्डका गतिविधिहरु पछ्याउन थाले ।

हुन त उनलाई अखबारी लेखन थालेको दुई वर्षमै एक जना साथीले अन्डरवर्ल्डको अन्तरकुन्तर केलाएर पुस्तक लेख्न सुझाएका थिए । यद्यपि, दिनैपिच्छेका ‘ग्याङ वार’ पस्कँदै उनलाई पुस्तकका लागि अनुसन्धान थाल्न थप आठ/नौं वर्ष लाग्यो ।

सन् २००४/५ देखि मुम्बई माफियाको खुनखराबीको इतिहास खोज्न थालेका जाहिदीको खोजले पुस्तकको रुप पाउन अझै ७/८ वर्ष लियो । अनि  सन् २०१२ मा छपियो, मुम्बई माफियाका ६ दशकको कथा – डोंग्री टू दुबई ।

इमान्दार प्रहरीका आतंकवादी छोरा

अवैध मदिरा, वेश्यावृत्ति, महंगा सामानका तस्करी लगायतमा कहलिएका बर्द राजन अनि त्यहीबेला त्रासको अर्को नाम बनेको पठान ग्याङसम्मका कथा पुस्तकमा समेटिएका छन् । फिल्मका सौखिनदेखि क्लासिक साहित्य पढेर अपराध गर्ने डनका थ्रिलर वृत्तान्त पनि पुस्तकमा छन् ।

सन् १९५० को बम्बईमा रामपुरी चक्कु प्रयोग गरेर लुट मच्याउने रामपुरी र कानपुरी समूहदेखि आफूलाई बम्बईको बादशाह भन्ने हाजी मस्तानसम्मका वृत्तान्त समेटिए पनि पुस्तकको केन्द्रमा डि-कम्पनीका नाइके दाउद इब्राहिम नै छन् ।

रोचक के छ भने यस्ता कुख्यात अन्डरवर्ल्ड नाइकेका बुबा भने एक इमान्दार र कर्तव्यनिष्ठ प्रहरी थिए । त्यही इमान्दारीका कारण अन्डरवर्ल्ड नाइकेहरुले पनि श्रद्धा गर्ने व्यक्ति बनेका थिए, उनका बुबा इब्राहिम कस्कर ।

प्रहरी-प्रशासन र प्रणालीलाई अन्डरवर्ल्डका सदस्यहरु सधैं दुस्मन मान्थे । तर, मुम्बई क्राइम ब्रान्चका हवल्दार कस्कर भने तिनले पनि श्रद्धा गर्ने पात्र थिए ।

कुख्यात बासु दादा उर्फ अहमद खानले एकपटक उनलाई भनेका थिए, ‘अगर आप पुलिसमे नहीं होते, तो मेरे साथ होते (यदि तपाईं पुलिसमा हुनुहुन्थेन भने मसँग हुनुहुन्थ्यो ।)’

जवाफमा कस्करले ‘भगवान ! मैले त्यस्तो दिन कहिल्यै देख्नु नपरोस्’ भनेका थिए ।

दाउद इब्राहिमले १४ वर्षको उमेरमै उनले पहिलो अपराध गरे । त्यसबेला उनले सडकमा बसेर नगद गनिरहेका व्यक्तिलाई लुटेर भागेका थिए । यसबारे थाहा पाएपछि उनका बुबा कस्करले एकदमै पिटे ।

कस्करको स्वाभिमानप्रति अन्डरवर्ल्ड डनहरु नतमस्तक थिए । अरु सबै पैसामा बिक्दा पनि उनले त्यो बाटो रोज्न चाहेनन् ।

जाहिदीको पुस्तकमा उल्लेख भए अनुसार, हाजी मस्तान र करिम लालाको दबदबा रहेका बेला उनीहरुको ‘दरबार’मा यदि कोही सिधै पुग्न सक्थ्यो भने त्यो कस्कर नै थिए । गाउँमा कुनै परिवारिक वा सामाजिक लफडा हुँदा पनि समन्वयकर्ताका रुपमा कस्कर नै बोलाइन्थे। उनी कहिलेकाहीँ अशक्तलाई खाना र नगद बाँडिरहेको पनि भेटिन्थे । अपांग र अनाथलाई सहयोग गरिरहेको देखिन्थे ।

यस्ता व्यक्तिको कोखबाट जन्मिने दोस्रो सन्तान शक्तिशाली, चर्चित र धनी हुने एकजना धर्मगुरुले भविष्यवाणी गरेका थिए । त्यसैले २६ डिसेम्बर १९५५ मा दोस्रो सन्तानको जन्म हुँदा कस्कर औधी खुशी थिए ।

धार्मिक स्वभाव भएकाले कस्करले त्यस्तो भविष्यवाणी गरिएका दोस्रो छोराको नाम दाउदबाहेक अरु सोचेनन् । ‘दाउद’ नामलाई कुरान र बाइबलमा भगवानको शक्तिशाली अवतार मानिन्छ ।

जब एकदिन कस्करले जागिरबाट हात धुनुपर्‍यो, त्यसपछि घर चलाउन पनि धौधौ हुन थालेको थियो । अंग्रेजी माध्यमको स्कुल पढिरहेका दाउदले १० वर्ष हुँदाबाट औपचारिक पढाइ छाड्नुपर्‍यो । उनका बुबा इब्राहिम कस्करले गुजारा चलाउन सानोतिनो काम गर्न थाले ।

परिवार आर्थिक संकटमा परेपछि उनले विद्यालय पनि छाड्नुपर्‍यो । त्यतिबेला उनी यति फुसर्दिला भए कि डोंग्री र जेजे क्षेत्रका अरु युवाहरुसँग मिलेर प्रायः क्रिकेट खेल्ने, डुल्ने गर्न थाले ।

परिवार पाल्न कस्कर विभिन्न काम गरिरहेका बेला दाउद खराब संगतमा परे । १४ वर्षको उमेरमै उनले पहिलो अपराध गरे । हुसेन जाहिदीको पुस्तकमा उल्लेख भए अनुसार, उनले त्यसबेला सडकमा बसेर नगद गनिरहेका व्यक्तिलाई लुटेर भागेका थिए । पीडितले उनलाई चिने र प्रहरीमा उजुरी पनि दिए ।

यो थाहा पाएपछि त्यो दिन कस्करले दाउदलाई एकदमै पिटे । तर, दाउद रोकिने वाला थिएनन् । उनले छोटो समयमै स्थानीय स्तरमा आफूलाई अपराधको क्षेत्रमा चिनाउँदै लगेका थिए ।

पुस्तकमा उल्लेख भएअनुसार, त्यसबेला छोराको अपराधबारे सुन्दा कस्कर प्रहरी र बुबा दुवै रुपमा एकदमै लज्जित भएका थिए । उनका बुबाले मुम्बई क्राइम ब्रान्चमा पनि काम गरे । त्यतिबेला उनले छोरालाई पर्याप्त ध्यान दिन पाएनन् । त्यही कारण दाउद अपराधिक दुनियाँमा सानै उमेरदेखि आफ्नो पकड जमाउन थाले ।

आमाले सधैँ बुबाको इज्जतका लागि भएपनि सबै कुरा छाडिदे भन्दै सम्झाउँथिन् । तर, उनले ‘देखुंगा माँ’ मात्र भन्थे । सायद, त्यसबेलै भविष्यका कुख्यात डनका रुपमा उनले आफूलाई कल्पना गरिरहेका थिए । सन् १९७२-७३ देखि उनी फिरौती असुलीमा पनि सक्रिय हुन थालेका थिए ।

केही मानिसहरुको भावनामा खेल्ने, केहीलाई त्रासमा राख्ने संसारभरिका डनहरुको समान रणनीति नै हो ।

डनका समान चरित्र

नेपालमा केही डनहरु यस्ता थिए/छन्, जसको दुईवटा पाटो छन् । एकातिर उनीहरु निश्चित ठाउँमा समाजसेवी चरित्रमा देखिन्छन्, अर्कातिर एउटा खुंखार पात्र लुकेको छ ।

जस्तै, काठमाडौं प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका बेला डन दावा लामाले कोभिडका कारण दुःखमा परेकाहरुलाई सिन्धुपाल्चोकमा सहयोग गरिरहेको भिडियो एउटा टेलिभिजन च्यानलमार्फत सार्वजनिक भएको थियो ।

प्रहरी ‘मुठभेड’मा मारिएका दिनेश अधिकारी ‘चरी’ले पनि थुप्रै सामाजिक संस्थालाई सहयोग गरेका थिए । डोंग्री टू दुबई पढ्दा लाग्छ – यो विश्वभरिका डनहरुमा पाइने समान चरित्र हो ।

उनीहरु समाजमा डर पैदा गराएर असुली गर्न एउटा समूहमाथि गम्भीर अपराध गर्छन् । फेरि अर्कोतिर कसैलाई सहयोग गरेजस्तो गरेर मानिसहरुको भावनामा खेल्छन् । अर्थात्, केही मानिसहरुको भावनामा खेल्ने, केहीलाई त्रासमा राख्ने संसारभरिका डनहरुको समान रणनीति नै हो ।

पुस्तकमा दाउदको यस्तै चरित्रबारे उल्लेख छ । दाउदले हानिफ कुता र सयद राजीलाई प्रयोग गरेर लुटेको रकममध्ये केही गरिब परिवारको विवाह र मृत्यु संस्कारमा खर्च गरेको समेत पुस्तकमा उल्लेख छ ।

दाउदको समूहले आफूलाई चाहिने सूचना संकलन गर्न स्थानीय स्तरमा ‘छुट्टै माफिया इन्टलिजेन्स नेटवर्क’ पनि बनाएको थियो । सन् १९७४ तिर त्यही नेटवर्कमार्फत उनले एउटा ‘टिप’ पाए, जसमा हाजी मस्तान समूहको ५ लाख रुपैयाँ एउटा क्याबमा आउँदैछ भनिएको थियो ।

दाउद इब्राहिम

हुण्डी कारोबार गर्ने व्यक्तिहरुले त्यो रकम लिएर आउन लागेको भन्ने सूचना थियो । त्यसपछि दाउद समूहले बाटोबाटै गाडी लुट्ने योजना बनायो । त्यतिबेला ५ लाख भनेको असाध्यै धेरै रकम थियो । उनीहरुले त्यतिञ्जेल त्यति धेरै रकम देखेका पनि थिएनन् ।

योजना अनुसार, उनीहरु स्थानीय स्तरमा बनेका कट्टा, छुरीलगायत लिएर बाटो छेकेर बसेका थिए । उनीहरु क्याबबाट ४ लाख ७५ हजार रुपैयाँ लुटपाट गर्न सफल पनि भए ।

तर, पछि थाहा भयो – त्यो रकम हुण्डी वा हाजी मस्तान समूहको नभइ मेट्रो कोअपरेटिभ बैंकको रहेछ । भोलिपल्ट पत्रपत्रिकामा छ्याप्छ्याप्ती समाचार आयो, ‘बैंकको झण्डै पाँच लाख रुपैयाँ हतियार देखाएर लुटियो ।’

दाउदका बुबा छोराको कारनामा सुनेर स्तब्ध भए । यो घटना हुँदा दाउद जम्मा १९ वर्षका थिए ।

जब डन प्रेममा पर्छन्…

‘डोंग्री टू दुबई’ पढ्दै जाँदा कतिपय बलिउड सिनेमाका दृश्यहरु सत्यमा आधारित रहेछन् भन्ने लाग्छ । जस्तै, धेरै भारतीय सिनेमामा प्रहरी चौकीमा चिया लिएर जाने बच्चा खलपात्रबाट प्रभावित रहेको देखाइन्छ ।

दक्षिण भारतीय फिल्म ‘केजीएफ’मा पनि ‘रकी’ चौकीमा आएको संकेत पाउने बित्तिकै चिया लिएर आउने बच्चा पैसा लिएर निस्किन्छन् । उनलाई लाग्छ, ‘रकी आएपछि त्यहाँ कोही बाँकी रहँदैनन्, त्यसैले तत्कालै पैसा लिनुपर्छ ।’

दाउदलाई छोरीले नछाडे बुबाआमा दुवैले छतबाट हाम फाल्ने बताएपछि खुँखार डनको केही चलेन । सुजाता केही बोल्न सकिरहेकी थिइनन् । अनि दाउद नै अघि सरे, ‘हामी एकसाथ हुन सक्दैनौं ।’ यसको धेरै समयसम्म दाउदले दिलिप कुमार अभिनित हिन्दी सिनेमा ‘दिल दिया, दर्द लिया’को गीतहरु सुनिरहन्थे भनिन्छ ।

यो पुस्तकमा पनि अन्डरवर्ल्डका त्यस्ता सत्य कथाहरु छन्, जसमा चौकीमा चिया लिएर जानेहरुले नै डनहरुका लागि सुराकीको काम गरेका छन् । पुराना सिनेमाहरुमा अक्सर मुख्य पात्र युवतीसँग प्रेममा पर्दा परिवार बाधक बनेको देखाइन्छ । दाउदको जीवनमा पनि उस्तै घटना भएको पुस्तकमा उल्लेख छ ।

मुसाफिरखानास्थित दाउदको घर नजिकै सुजता नाम गरेको युवती दैनिक हिँडिरहेको हुन्थिन् । मनिष मार्केटमा उनी हिँड्दा सुजाताको एक झलक पाउन दाउद सधैँ आतुर हुन्थे । अग्लो कद र मिलेको जिउडाल भएकी उनलाई हेर्न उनी घन्टौंसम्म बस स्टपमा बसिदिन्थे ।

पछि सुजाता पनि उनीसँग प्रेममा परिन् ।

दुई वर्षसम्म उनीहरुको सम्बन्ध ठिकठाकै चल्यो । जतिबेला मानिसहरुले दाउदको एकदमै क्रुर र हिंसात्मक रुप मात्र देखेका थिए, त्यतिबेला सुजाता मात्र एउटा यस्तो पात्र थिइन्, जसले त्यस्ता व्यक्तिको रोमान्टिक अवतार देखेको थियो । त्यतिबेला दाउदको मायालु पक्ष देख्ने उनी एक्ली पात्र थिइन् ।

पछि उनका बुबाले सुजाताले दाउदसँग डेट गरिरहेका छन् भन्ने थाहा पाए । त्यसपछि उही सिनेमामा देखाइने दृश्यहरुमा झैँ सुजातालाई बुबाआमाले घरबाट बाहिर निस्किनै प्रतिबन्ध लगाए ।

यसबारे थाहा पाएपछि दाउद रिसाउँदै चक्कु लिएर उनको घरमा गए । बुबालाई थर्काउँदै ‘उसले कसलाई विवाह गर्न चाहन्छिन्, उसैलाई छान्‍न दिनुस्’ भने । त्यतिबेला सुजाताको घरमा भएको होहल्लाका सुनेर छरछिमेकहरु समेत भेला भएका थिए । बुबाले ‘उसले आफ्नो निर्णय लिन सक्छिन्, तर तिमीसँग विवाह गरी भने अनाथ हुन्छे’ भनिदिए ।

दाउदलाई छोरीले नछाडे बुबाआमा दुवैले छतबाट हाम फाल्ने बताएपछि खुँखार डनको केही चलेन । सुजाता समेत दोधारमा परिन् । केही बोल्न सकिरहेकी थिइनन् । अनि दाउद नै अघि सरे, ‘हामी एकसाथ हुन सक्दैनौं, म तिमीसँग विवाह गर्न चाहदिनँ ।’

यसको धेरै समयसम्म दाउदले दिलिप कुमार अभिनित हिन्दी सिनेमा ‘दिल दिया, दर्द लिया’को गीतहरु सुनिरहन्थे भनिन्छ । गीतमा भनिएको छ, ‘गुज्रे हे आज इश्क मे, हम उस माखम से, नफरत सी हो गई हे, मोहब्बत के नाम से ।’

पुस्तकमा सिनेमासँग जोडिएका यस्ता थुप्रै प्रसंगहरु छन् । कतिपय कथाहरु पढ्दै जाँदा सिनेमाका केही दृश्यहरु याद आउँछन् । कतिपयमा खण्डमा ‘डार्क थ्रिलर’ दृश्यहरु दिमागमा आउँछन्, कतिपयमा डनका कहिल्यै नसुनिएका पाटोका पर्दा उघारिन्छन् । प्रहरी र अन्डरवर्ल्ड नेक्ससको कथा त आउने भइ नै हाल्यो ।

नेपालमा पनि गुण्डा, प्रहरी र नेताबीचको नेक्सस ‘ओपन सेक्रेट’ जस्तै हो । प्रहरी मुठभेड भनिएका घटनामा आपराधिक पृष्ठभूमिका व्यक्ति मारिँदा नेपाली नेताहरुबाट आउने प्रतिक्रियाले पनि त्यसको धेरथोर पुष्टि गर्छ ।

फेरि रमेश खरेलतिरै फर्किँदा, त्यस्तो नेक्सस तोड्न थुप्रै इमान्दार प्रहरीहरु चाहिने स्थिति छ । यद्यपि, अन्डरवर्ल्ड डनका कथा पढ्दा खरेलले भने जस्तै नेपालका डनहरु मामुली अपराधी नै हुन् भन्ने लाग्छ । आखिर उनले भनेकै छन्, ‘यी गुण्डा होइनन्, फ्याउरेहरु हुन् । मैले सबैको नाडी छामिसकेको छु ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?