+
+

बीमा बोर्डका अध्यक्ष डा. लोहनी भन्छन् : काम गर्ने वातावरण नभएपछि राजीनामा दिए

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १८:११

२८ भदौ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बीमालाई सोचेजस्तो हिसाबले अगाडी बढाउन नसक्दा राजीनामा दिनुपरेको बताएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयमा राजीनामा पत्र दिएका हुन् ।

‘स्वास्थ्य बीमालाई अगाडी बढाउन धेरै कुरामा सुधार गर्नुपर्ने थियो । बीमा बोर्डको जिम्मेवारी समाल्दै गर्दा काम गर्न नसके राजीनामा दिन्छु भनेको थिए,’ डा. लोहनीले अनलाइनखबरसँग भने, ‘सबैतिरबाट काम गर्न वातावरण नभएपछि राजीनामा दिएको हुँ ।’

१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । ‘आफ्नो कार्यकालमा बीमालाई सफल बढाउने सोच राखेको थिए । तर काम गर्ने सहज वातावरण पनि हुन सकेन,’ डा. लोहनीले भने, ‘सरकारले बीमाको कार्यक्रमलाई प्राथमिकतामा राख्न सकेन ।’

स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो ।

तर अर्थ तथा स्वास्थ्य मन्त्रालय सकारात्मक नभएपछि राजीनामा बाटो अपनाएको बुझिएको छ ।

यसभन्दा अघि बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले राजनैतिक कारण देखाउँदै २०७९ माघ २५ मा राजीनामा दिएका थिए । सरकारले स्वास्थ्य बीमा प्रभावकारी बनाउन चासो नदिएको उनको आरोप थियो ।

सहज र गुणस्तरीय सेवा दिन नसक्दा पाँच वर्षभित्र तीन करोड नागरिकलाई समेट्ने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता माथि नै प्रश्न उब्जिएको छ ।

विसं २०७२ साल देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा पुगे पनि झन् झन् सेवा फितलोको कारण असफलको बाटोमा जाँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?