+

रोहित र एरिका वर्ष खेलाडी

२०८१ भदौ  २८ गते २१:१० २०८१ भदौ २८ गते २१:१०
रोहित र एरिका वर्ष खेलाडी

२८ भदौ, काठमाडौं। क्रिकेटर रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको स्पोर्ट्स अवार्डमा एरिका महिलातर्फ र रोहित पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशीलाई पछि पारिन् ।

पुरुष क्रिकेट टिमका कप्तान रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारेका हुन् । उत्कृष्ट खेलाडीद्वय एरिका र रोहितले अवार्डसँगै मोटरसाइकल पाए ।

भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । ई-सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् ।

पिपल्स च्वाइस विजेता कवितालाई अवार्ड प्रदान गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।

कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए । पिपल्स च्वाइस विजेता कविताले पनि अवार्डसँगै मोटरसाइकल पाएकी छिन् ।

वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए । कुशलको प्रशिक्षणमा नेपालले १९औं एसियाली खेलकुदमा एक कांस्य र दशौं विश्व कराते च्याम्पियनसिप इन्डोनेसिया (एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक) मा पदक प्राप्त गरेको थियो ।

उनको प्रशिक्षणमा सातौं एसियन कराते च्याम्पियनसिपमा (२९ स्वर्ण, २५ रजत र सात कांस्य) र युएस ओपन कराते च्याम्पियनसिपमा (एक स्वर्ण र एक रजत) पदक जितेको थियो ।

प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारे ।

भारोत्तोलनका हेमन्त पाल युवा वर्ष खेलाडी घोषित भए । हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पार्दै यो अवार्ड जिते । १६ वर्षे हेमन्त पाल भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य विजेता हुन् । उनले नेपाली भारोत्तोलनलाई ३८ वर्षपछि एसियालीस्तरमा पदक दिलाएका हुन् ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन् । पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन् ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे भने स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भएका छन् ।

१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्‍यो । लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

 

महिला वर्ष उत्कृष्ट खेलाडी अवार्डका साथमा एरिका

रोहित पौडेल लिट टू सिरिजका लागि क्यनडामा भएकाले पुरुष वर्ष उत्कृष्ट खेलाडी अवार्ड लिँदै उनकी आमा र दाइ
वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्डका साथमा करातेका कुशल श्रेष्ठ

पलेशालाई पारा एथ्लिट अवार्ड प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ
नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्दै नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्वल ओली ।
स्पेसल अवार्डबाट सम्मानित भलिबलका प्रशिक्षक कुमार राई
टिम अफ दी इयरको अवार्डको साथमा महिला कबड्डी टोली

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

एरिका गुरुङ रोहितकुमार पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय