+
+

उपसभामुखलाई पदमुक्त गर्ने अविश्वास प्रस्ताव तत्कालका लागि टर्‍यो

लिलु डुम्रे लिलु डुम्रे
२०८१ भदौ २८ गते २१:१२

२८ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई पदीय आचरण अनुसार भूमिका निर्वाह नगरेको दाबीसहित पदमुक्त गराउने सत्ता पक्षको प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानु अघि यो प्रकरणलाई टुंगाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेले तयारी गरेका थिए । ४ असोजमा अमेरिका जाने प्रधानमन्त्री ओली ११ असोजमा फिर्नेछन् । सत्ता पक्षमा रहेको जनमत उपसभामुख रानामगरलाई हटाउन तयार नभएपछि अविश्वासको प्रस्ताव दर्ता तत्कालका लागि टरेको गठबन्धनका शीर्ष तहका नेताले जानकारी गराए ।

उपसभामुख हटाउन पुग्ने गरी स्पष्ट दुई तिहाईको आधार नदेखिएकाले अविश्वासको प्रस्ताव ल्याउने दिन यकिन हुन नसकेको हो । सत्ता पक्ष स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि ३१ भदौबाट संसद बैठक रोक्ने तयारी छ ।

शुक्रबारको संवैधानिक परिषद् बैठकमा उपसभामुख रानाले आफ्नो बारे चलेका चर्चाबारे प्रश्न उठाएकी थिइन् । प्रधानमन्त्री ओलीले भने अहिले बाहिर आएका कुराहरुको पछि नलाग्न आग्रह गरेका थिए ।

गत सोमबार साँझ प्रधानमन्त्री ओलीले आव्हान गरेको सत्ता पक्षको बैठकमा उपसभामुख रानामगरले ‘संवैधाननिक पदको दुरुपयोग’ गरेको विषय उठान भएको थियो । एमाले, कांग्रेस, जनमत र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी बैठकमा उपसभामुख रानामगरलाई पदमुक्त गर्ने बारेमा सबैको समर्थन रहेको कांग्रेस÷एमालेका नेताहरुको दाबी छ ।

उक्त बैठकमा सहभागी कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे सहभागी सबै दल सकारात्मक नै देखिएको बताए । उनले भने,‘प्रधानमन्त्रीले बोलाएको बैठकमा समर्थन गरे जस्तो कुरा थियो । अहिले फरक कुरा सुनिन्छ । मिडियामा अर्कै थरीको कुरा आएको छ ।’

सभामुख वा उपसभामुखले आफ्नो पद अनुकूल आचरण गरेको छैन भन्ने लागेमा प्रतिनिधि सभाका तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाई सदस्यले हटाउने माग गर्न सक्ने व्यवस्था छ । यस्तो प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र बैठकमा छलफल हुनेगरी दिन र समय तोक्नुपर्ने प्रावधान संसद नियमावलीमा छ ।

सत्ता पक्षका नेताहरुका अनुसार आज÷भोलीमा सभामुखलाई हटाउने प्रस्ताव दर्ता हुने सम्भावना छैन । कदाचित् दर्ता भए पनि एक साताभित्र छलफल गराई मतदान गर्दा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजु राणा अनुपस्थित हुने अवस्था बन्नेछ ।

छलफलपछि मतदान गर्ने बेलामा प्रधानमन्त्री र परराष्ट्र मन्त्री उपस्थित नहुने अवस्था बन्ने हुँदा प्रक्रियामा नगएको कांग्रेस सांसद रामहरि खतिवडाले बताए । ‘उपसभामुखले संवैधानिक पद अनुसार काम नगरेको सत्ता पक्षका सबै एकमत छौं,’ खतिवडा भन्छन्,‘प्रधानमन्त्री र परराष्ट्रमन्त्री मतदानको बेलामा उपस्थित हुन नसक्ने हो कि भनेर प्रस्ताव दर्ता हुन ढिलो भएको हो ।’ दुई तिहाइका लागि संख्या पुर्‍याउन भने सत्ता पक्षलाई कठिनाई नहुने खतिवडाको दाबी छ ।

उपसभामुख रानामगरलाई पदबाट हटाउन दुई तिहाइका लागि १८३ सांसद आवश्यक पर्दछ । सत्तारुढ दलमा कांग्रेस (८८), एमाले (७७), जसपा (७ अशोक राई पक्ष), लोसपा (४) र नागरिक उन्मुक्ति(४)का सांसद संख्या १८० छ । ६ सांसद रहेको जनमतले उपसभामुख हटाउन मत दिँदा दुई तिहाई सहजै पुग्छ ।

जनमत पार्टीले उपसभामुख हटाउनका लागि कांग्रेस र एमालेसँग शर्तहरु राखेको छ । जनमत अलमल र अनिर्णित अवस्थामा नरहेको पार्टीका उपाध्यक्ष अब्दुल खानले अनलाइनखबरसँग बताए । सत्ता पक्षले गर्ने राजनीतिक भागवण्डामा जनमतलाई वेवास्ता गरिएको प्रति असन्तुष्टि व्यक्त गरे ।

मधेसमा कांग्रेस र एमालेको समर्थनमा जनमतको नेतृत्वमा सरकार बनाएको छ । उपसभामुखलाई हटाउने प्रस्तावमा समर्थन गर्न केन्द्रीय मन्त्रिपरिषद् र लुम्बिनी प्रदेश सरकारमा सहभागी गराउनुपर्ने जनमतले शर्त राखेको छ । दलगत नियुक्ति हुने ठाउँमा जनमतको प्रतिनिधित्व हुनुपर्ने आफ्नो शर्त रहेको खानले बताए ।

‘सबैभन्दा पहिले जनमत पार्टी सत्ता गठबन्धनमा भए÷नभएको दुई ठूला दलले स्पष्ट पार्नुपर्दछ । कुनै ठाउँमा हामीलाइ स्थान नदिएपछि गठबन्धनको कुरा मानिराख्ने भन्ने हुँदैन,’ खानले भने,‘पहिले यो दुई शर्त उहाँहरुले मान्नु पर्‍यो । त्यसपछि अरु कुरामा हामी समर्थन गर्छौं ।’

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जनमत पार्टीबाट खान सहभागी भएका थिए । उक्त बैठकमा पनि यही कुराहरु आफूले राखेको उनले सुनाए । अघिल्लो सरकारले योजना आयोगमा एक सदस्य जनमतलाई छुट्याउँदा अहिले बेवास्ता गरिएको उनले सुनाए ।

जनमतका अध्यक्ष सीके राउतले बुधबार दिएको अभिव्यक्तिले पनि सत्तापक्ष झस्किएको छ । एमाले र कांग्रेसले उपसभामुख रानामगरलाई हटाउने कुरा गलत नियतका साथ आइरहेको आशंका बुधबार गरेका थिए । संवैधानिक परिषद्मा बहुमत पुर्‍याउनका लागि कांग्रेस एमालेबाट यो कार्य भइरहेको उनको आशंका छ । राउतले भने, ‘यस्तो नगर्दिए लोकतन्त्रको मान रहन्थ्यो कि । साना पार्टीहरुलाई कसरी सखाप पार्ने गरी केन्द्रित भएको देखिन्छ ।’

कांग्रेसकै हस्ताक्षर अपूर्ण

कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदको मंगलबार र बुधबार हस्ताक्षर गराएको थियो । यद्यपी, कांग्रेसका शेखर कोइराला पक्षका कतिपय सांसदले हस्ताक्षर गरेका छैनन् । शेखर पक्षका सांसद सञ्जय गौतमले हस्ताक्षर नगरेको जानकारी गराए । ‘के प्रयोजनका लागि सही गर्ने हो । त्यो त खुल्न पर्‍यो नि,’ गौतमले अनलाइनखबरसँग भने,‘पार्टीले काठमाडौं बाहिर नजान भन्नु अघि नै बर्दिया आएको थिएँ । खालि पेपरमा गर्दिनँ, प्रयोजन खुल्न पर्‍यो भनेका हो ।’

सांसदहरुको हस्ताक्षर संकलन भइरहेको बेला समूहका नेता डा.शेखर भने मंगलबार सिंगापुर गएका छन् । आँखाको उपचारका लागि शेखर सिंगापुर गएको उनी पक्षीय नेताहरुले जानकारी गराएका छन् । सिंगापुर जानु अघि महामन्त्री गगन थापासँग कुराकानी भएको शेखर पक्षका एक नेताले दाबी गरे । शेखर पक्षका नेताहरुका अनुसार उपसभामुख रानामगरलाई हटाउन लागिएको प्रक्रियाप्रति उनीहरु असन्तुष्ट छन् ।

उपसभामुख रानामगरले नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्रको प्रकरण उत्कर्षमा पुगेको बेला प्रक्रिया सुरु नगरेर यति बेला गर्नुमा आशंका रहेको शेखर पक्षका एक नेताले बताए । ‘राजीनामा गर्न बाध्य पार्नेगरी संसद र बाहिरबाट दबाब सिर्जना गरिराख्नु पर्ने थियो । त्यो बेलाको कुरा अहिले एक्कासी ल्याइएको छ,’ शेखर पक्षका एक नेताले भने,‘ओलीले कुरा निकाले पछि कांग्रेस अहिले किन पछि लाग्नु परेको?’ प्रधानमन्त्री ओलीको आशय नबुझि कांग्रेस हतारिएको उनले बताए ।

दुई तिहाई पुर्‍याउनका लागि सत्ता पक्षले हालसम्म एक सांसद रहेको दल र स्वतन्त्र सांसदहरुसँग संवादका गरिसकेको छैन । आम जनता पार्टीका सांसद प्रभु साह र स्वतन्त्र सांसद अमरेश सिंहले सत्ता पक्षले उपसभामुख हटाउने बारेमा कुराकानी नगरेको जानकारी गराए । उनीहरु दुबैले सत्ता पक्षले प्रस्ताव ल्याए विपक्षमा मत दिने दाबी गरे ।

प्रतिकार गर्ने रास्वपाको चेतावनी

उपसभामुखको पत्र प्रकरणलाई कांग्रेस एमालेले उचालेपछि रास्वपाले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको छ । सभापति रवि लामिछानेले प्रधानमन्त्री ओलीलाई भेट मार्फत र बिहीबार पत्रकार सम्मेलन गरेर चेतावनी दिएको हो । प्रधानमन्त्रीलाई उनले मंगलबार भेटेका थिए । उपसभामुख हटाए कांग्रेस र एमालेका लागि आत्मघाती हुने चेतावनी लामिछानेले दिए । बुधबार सचिवालय बैठक पछि उनले भने,‘ ‘यो गलत गर्दै हुनुहुन्छ भनेर प्रधानमन्त्रीलाई भनें । आफ्नै पोष्टमा गोल हान्न खोज्नुभएको छ भने मेरो भन्नु के छ र?’

बिहीबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा पत्रकार सम्मेलन गरेर रास्वपाले कांग्रेस र एमालेलाई उपसभामुख हटाउने प्रस्ताव नल्याउन चेतावनी दिएको छ । ‘एमाले र कांग्रेसले तयारी गर्दै हुनुहुन्छ रे । एउटा कुरा स्पष्ट रुपमा भन्न चाहन्छु कि । प्रतिकार गर्नेछौं,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

उपसभामुख रानामगरले गरेको त्रुटी पदबाट हटाउने गरी नभएको रास्वपाको दाबी छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुख रानामगरले गरेको त्रुटी पद नै जानसक्ने गरी नभएको दाबी गरे । ‘यो कुरा किन अहिले बाहिर निकाल्न खोजियो भन्दाखेरि संवैधानिकमा बहुमत नपुग्ने भइसकेपछि आयो,’ कार्यवाहक महामन्त्री बुर्लाकोटीले भने,‘रास्वपाबाट आएको व्यक्ति वाधक हुन्छ भन्ने देखि सकेपछि अहिले यो मुद्दालाई राष्ट्रिय बहसमा ल्याइएको छ ।’

पाँच जनालाई अमेरिका लाने उद्देश्यले लेखिएको पत्रले उपसभामुख विवादमा तानिएकी छन् । साउन पहिलो साता उनले संसद सचिवालयको लेटरप्याडमा संसदसँग पूरै असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तर्वार्ता मिति मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो ।

संयुक्त राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा जानका लागि २०२३ को फेब्रुअरीमा उपसभामुख रानामगरले चार पुरुष र एक महिलालाई आफूसँग लैजाने गरी दूतावासमा सिफारिस पत्र लेखेकी थिइन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?