+
+
समाजका कुरा :

एउटा मानिसले समाजलाई दिने योगदान कति हो ?

‘हेर्ने कथा’मा प्रसारित कथालाई लिएर सुरु भएको पत्रकारको सामाजिक दायित्वको प्रश्नसँगै अन्य पेशामा लागेका व्यक्तिले समाजलाई दिनुपर्ने योगदानबारे पनि छलफल हुनु आवश्यक देखिएको छ । एउटा शिक्षक, वकिल वा नागरिक अगुवाको दायित्व र योगदान कसले तोक्ने ?

नारायणी देवकोटा नारायणी देवकोटा
२०८१ भदौ २९ गते ६:३०

पछिल्लो समय ‘हेर्ने कथा’ ले युट्युबमा प्रसारण गरेको हराएका वर्ष नामक श्रव्यदृश्य सामग्रीलाई लिएर नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच चर्को वादविवाद भएको देखियो । यो छलफल वा विवादमा विभिन्न पृष्ठभूमि र पेशागत आवद्धता भएका व्यक्तिहरूको सहभागिता देखियो ।

पेशागत रूपमा पत्रकारिता गरिरहेका व्यक्ति वा समूहहरू सीमान्तकृत समुदायको एक व्यक्तिमाथि श्रव्यदृश्य निर्माण गरेको तथ्यको प्रशंसामा देखिए भने एउटा अर्को वर्ग भने पत्रकारको समाजप्रतिको उत्तरदायित्व केवल सामग्री बनाएर त्यसलाई प्रसारण गर्ने र बेच्नेमा मात्र सीमित हुन्छ कि आफूले उठाएको विषय वा व्यक्तिको समस्याको समाधानको जिम्मा पनि पत्रकारकै हुन्छ भन्ने कोणबाट प्रश्नहरू उठे । अधिकतर विवाद त्यो सामग्रीबाट आर्जन हुने आर्थिक लाभको हिस्सा सामग्रीको केन्द्रमा रहेका प्रकाश तामाङले पनि पाउनुपर्छ वा उनको घर बनाइदिनेसम्मका काम हेर्ने कथा टिमले गर्नुपर्छ भन्ने कुरामा भएको देखियो ।

यो विवादले एकातिर पत्रकारिताको दायरा, सीमा र सीमितता कति हो भन्ने प्रश्न त उठायो नै साथै समाजलाई एउटा व्यक्तिले गर्न सक्ने योगदान कति हो भन्ने बृहत्तर प्रश्नलाई पनि छलफलमा ल्याइदियो । किनभने, पत्रकारिता बाहेक पनि ठ्याक्कै यस्ता प्रकारका विवाद हरेक कार्यक्षेत्रमा लगनशील भएर काम गरिरहेका धेरै व्यक्तिले सामना गर्नु परिरहेको हुन्छ । व्यक्तिगत रूपमा म आफैंले पछिल्लो आठ वर्षदेखि यस्ता विवाद आफ्नो पेशागत काम गर्दा भोगिरहेकी छु । पहिला एनजिओकर्मीको रूपमा काम गर्दा, पछि एक शिक्षकको रूपमा काम गरिरहँदा र कहिलेकाहीं लेखकका रूपमा पनि ।

सरकारले वा सामाजिक कामको जिम्मेवारी लिएका व्यक्तिले समाजलाई हिंड्नुपर्ने बाटोमा हिंडाइरहेको छ कि छैन भन्ने विषयमा नागरिक समाजले काम गर्ने हो

पछिल्लो समय शिक्षकहरूले सामना गरिरहेको सवाल ‘शिक्षकको समाजप्रतिको दायित्व के हो ?’ भन्ने हो । शिक्षकको सबैभन्दा पहिलो दायित्व विश्वविद्यालयले निर्माण गरेको पाठ्यक्रमलाई तोकिएको समयमा तोकिएको ढाँचामा पढाएर सक्ने हो । र, राम्रो विद्यार्थीलाई सकेसम्म शैक्षिक क्षेत्रमा अगाडि बढाउने हो । व्यक्तिको पेशागत दायित्व नै उसको सामाजिक दायित्वमा पर्नुपर्ने हो । तर, पछिल्लो पाँच वर्षमा म कैयौं यस्ता राम्रा विद्यार्थीसँग जोडिएकी छु, जो कक्षा पनि मुस्किलले आउन पाउँछन्, पढ्न पाएको खण्डमा पढाइ पनि राम्रो छ, पढेका विषयमा बुझाइ पनि राम्रो छ, लेखाइ पनि राम्रो छ तर, परीक्षामा उनीहरूको राम्रो नम्बर आउँदैन । कक्षामा नआउँदा छुटेका विषयमा सोध्न उनीहरू प्रायः सार्वजनिक विदाका दिनमा मलाई फोन गर्छन् । कैयौं पटक मलाई झर्को लाग्छ (झर्को लाग्नुको कारण मलाई पनि विदाको दिन आफ्नो परिवारसँग बिताउन मन लाग्छ) । तर फेरि म कैयौं पटक आफैंलाई सम्झाउँछु, ‘मैले दुईचार घण्टा पढाइदिए त उनीहरू पास हुन्छन् नि !’

कैयौं प्राध्यापकका साप्ताहिक विदा विद्यार्थीका प्रश्न फोन वा भिडियो कलमा सुन्ने र उनीहरूले जागिर गर्न खोजेको ठाउँमा रिकमेन्डेसन लेटर लेखिदिने गर्दा नै बितिरहेको हुन्छ । मैले एकदमै सम्मान गर्ने कैयौं प्राध्यापकका कैयौं यस्ता विद्यार्थी छन्, जो एउटा रिकमेन्डेसन लेटर नपाएका कारण पाउन लागेको स्कलरसिप गुमाएको झाेंक वर्षौंसम्म बोकेर हिंडिरहेका छन् । विद्यार्थीको उक्त झोंक जायज हो कि होइन ? विद्यार्थीको पक्षमा उभिएर हेर्दा जायज हो, एउटा शिक्षकको सामाजिक दायित्वमा एउटा प्रश्नको उत्तर वा एउटा रिकमेन्डेसन लेटर सामान्य कुरा हो । तर, शिक्षकको पक्षमा उभिएर हेर्दा उक्त दायित्व छनोटपूर्ण हो । रुचि र समय भए लेखिदिने हो । यस्ता विषयमा गफगाफ हुँदा केही सिनियरहरू भन्नुहुन्छ, ‘विद्यार्थीको बीचमा प्रिय शिक्षक बन्नु भनेको नदुःखेको टाउको डोरी लगाएर दुःखाउनु हो ।’

एउटा व्यक्तिले आकाश थाम्ने होइन भन्ने भनाइलाई आत्मसात् गरेर हेर्ने हो भने एउटा व्यक्तिले व्यवस्थाले गर्ने सबै काम गरिदिनुपर्छ भन्ने आग्रह गलत हो

समाजशास्त्र विषयको कुरा गर्ने हो भने, पेशागत रूपमा समाजशास्त्रका विद्यार्थीलाई समाजका आफूले अध्ययन गर्ने हरेक परिघटनाका सामाजिक सम्बन्धका कारण र सामाजिक सम्बन्धमा आउने परिणाम विश्लेषण गर्न सिकाइन्छ । अर्थात् कुनै पनि घटना किन घटिरहेको छ र त्यसले सामाजिक सम्बन्धमा भविष्यमा कस्ता असरहरू पार्न सक्छन् भन्ने खुट्याउने कुरा । त्यो कारण र परिणाम राम्रो हो कि होइन, त्यस परिघटनामा सरकारले वा समाजले के गर्नुपर्र्छ भनेर सुझाव दिने काम पेशागत रूपमा समाजशास्त्रीको होइन । समाजलाई सही या गलत (सही र गलतका समाज, व्यक्ति, समय र परिस्थिति अनुसार फरक-फरक व्याख्या हुन सक्छ) दिशामा लैजाने भनेर निर्णय गर्ने, योजना बनाउने, कार्यान्वयनमा लैजाने काम राजनीति गर्ने व्यक्तिहरूको हो ।

सरकारले वा सामाजिक कामको जिम्मेवारी लिएका व्यक्तिले समाजलाई हिंड्नुपर्ने बाटोमा हिंडाइरहेको छ कि छैन भन्ने विषयमा नागरिक समाजले काम गर्ने हो । नागरिक समाजले सरकारलाई दबाव दिने वा समाजमा जनचेतना जगाउने काम गर्ने हो । तर, समाजशास्त्री पनि त यही समाजका हिस्सा हुन् । उनीहरूको पनि समाजप्रति नैतिक दायित्व छ र समाजमा भएको विभेदमा समाजशास्त्रीहरूले निरन्तर आवाज उठाउनुपर्छ भन्ने मान्यता पनि बलियो छ ।

समाजशास्त्रीको सामाजिक दायित्वबारे अमेरिकन सोसियोलजिकल एशोसिएसनका पूर्व अध्यक्ष माइकल बुरवेले सन् २००४ मा दिएको सार्वजनिक समाजशास्त्र माथिको प्रेसिडेन्सियल नोट महत्वपूर्ण मानिन्छ । र, यो पनि भनिन्छ, संवेदनशील समाजशास्त्री अन्ततः लेफ्ट (तथाकथित कम्युनिस्ट वा मार्क्ससिस्ट भनिने पार्टीको सदस्यता बोक्ने व्यक्ति होइन, सीमान्तकृतप्रति संवेदनशील र सीमान्तकृतका लागि लड्ने भन्ने अर्थमा) बन्छ । तर, समाजका तमाम विभेद विरुद्ध लड्ने वा नलड्ने भन्ने विषय व्यक्तिको पेशाभन्दा बढी नैतिक दायित्व हो । नैतिक दायित्वका लागि भनेर पेशागत दायित्व वा जिम्मेवारीमा लिएका काम छोडेर हिंड्न मिल्दैन ।

अरूका लागि गर्नुपर्ने योगदानको सवाल व्यक्ति आफैंले सोच्ने र छनोट गर्ने कुरा हो । यो एउटाले अर्कोलाई थोपर्ने कुरा होइन

देश र समाजको व्यवस्था बलियो हुने हो भने हरेक व्यक्तिले आफ्नो पेशागत, पारिवारिक जिम्मेवारी भन्दा पर गएर हरेक दिन सामाजिक दायित्व निभाउन आवश्यक पर्दैन । हाम्रो जस्तो व्यवस्थाले लय नसमातेको समाजमा हरेक पेशामा रहेका व्यक्तिले सामाजिक दायित्वको भारी बोक्नुपर्ने बाध्यता छ । तर, सामाजिक दायित्वको नाममा एउटा व्यक्तिले आकाश (दुनियाँ समाजको सबै भार) थाम्नुपर्छ भन्ने चाहिं होइन । उसले जति सक्छ त्यति मात्रै गर्ने हो । यदि एउटा व्यक्तिले आकाश थाम्ने होइन भन्ने भनाइलाई आत्मसात् गरेर हेर्ने हो भने एउटा व्यक्तिले व्यवस्थाले गर्ने सबै काम गरिदिनुपर्छ भन्ने आग्रह गलत हो । साथसाथै सामाजिक दायित्व अर्को व्यक्तिले निभाउनुपर्छ भन्दै गर्दा जो जसको लागि सामाजिक दायित्व जोडिने हो उसको जिम्मेवारी पनि सँगै जोडिएर आउँछ ।

साथै, जो व्यक्तिका लागि भनेर हामीले काम गरिरहेका छौं, उसलाई त्यो मन परिरहेको छ कि छैन ? उसको सोच र बुझाइ अनुसार भइरहेको छ कि छैन ? उसलाई त्यो आवश्यकता महसुस भइरहेको छ कि छैन ? यी ध्यान दिनुपर्ने पक्ष त हुन् तर यिनको कुनै ठोस दायरा पनि छैन । त्यसैले सीमाहीन दायित्वको भारभन्दा अगाडि आफ्नो पेशागत जिम्मेवारीलाई नै पहिलो प्राथमिकतामा राख्नु जरूरी छ । बाँकी कसैको लागि लड्ने कि नलड्ने, अरूलाई सहयोग गर्ने कि नगर्ने भन्ने सवाल नितान्त व्यक्तिगत कुरा हुन् ।

कति मानिस आफ्नै समस्यासँग लड्दालड्दै थाकेर लड्न छाड्छन् । कति आफूले लडिरहेको मुद्दालाई अदालतमा छोडेर ‘अब म यो विषयमा बोल्दिनँ’ भन्छन् र कतिले बाँचिरहेको जीवन नै बाँच्न मन नलागेर समाप्त गर्छन् भने अरूका लागि गर्नुपर्ने योगदानको सवाल व्यक्ति आफैंले सोच्ने र छनोट गर्ने कुरा हो । यो एउटाले अर्कोलाई थोपर्ने कुरा होइन ।

लेखकको बारेमा
नारायणी देवकोटा

देवकोटा समाजशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?