+

कहिले हुन्छ तेस्रो संस्करणको नेपाल सुपर लिग ?

२०८१ भदौ  २९ गते ११:५२ २०८१ भदौ २९ गते ११:५२
कहिले हुन्छ तेस्रो संस्करणको नेपाल सुपर लिग ?

२६ भदौ, काठमाडौं । इन्डियन सुपर लिग (आईएसएल‌) को शैलीमा नेपालमा पहिलो पटक २०७७ सालमा सुरु भएको नेपाल सुपर लिग (एनएसएस) को गत वर्ष दोस्रो संस्करण सञ्चालन भयो ।

यस वर्ष तेस्रो संस्करण सञ्चालन हुनुपर्ने भए पनि कहिले होला भन्ने अन्योल छ । दोस्रो संस्करण २०२३ नोभेम्बर २४ देखि डिसेम्बर ३० (२०८० मंसिर ८ देखि पुष १४ गते) सम्म काठमाडौंमा भएको थियो ।

नेपाली फुटबल पिरामिडमा शहीद स्मारक ए डिभिजन लिग शीर्ष श्रेणीको फुटबल लिग हो । तर, नियमित रुपमा लिग हुन नसक्दा सुरु भएको एनएसएलले नेपाली फुटबलमा छुट्टै माहोल बनाएको थियो ।

फ्रेन्चाइज टिमहरुको खर्च देखि लिएर खेलाडीहरुले आकर्षक आर्थिक आर्जन गरेका थिए । एनएसएलले नेपाली फुटबलमा छुट्टै रौनक थपेको थियो ।

मैदानको साइडमा चियर लिडर राख्नेदेखि लिएर मैदानमा डिजिटल रनिङ बोर्ड, फुड कोर्ट राख्ने जस्ता अन्तर्राष्ट्रियस्तरमा भइरहेको प्रयोग एनएसएलले नेपाल भित्र्याएको थियो ।

फुटबल खेलाडीहरुको लागि पनि एनएसएल एउटा प्रतीक्षा गर्ने प्रतियोगिता बनिसकेको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाले यस सिजनका लागि एन्फाको वार्षिक क्यालेन्डरमै एनएसएलका लागि असोज-कात्तिकको मिति उल्लेख गरेको छ । तर, दशैं-तिहार जस्ता ठूला चाडपर्व यही समयमा पर्ने भएकाले एनएसएलका लागि यो उचित समय भने थिएन ।

तेस्रो संस्करणको एनएसएल हुन्छ कि हुँदैन भन्ने अन्योल भइरहेको बेला एउटा आशा भने पलाएको छ ।

एनएसएसलका आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) र अखिल नेपाल फुटबल संघ (एन्फा) प्रतिनिधिबीच एनएसएसलको तेस्रो संस्करणको आयोजनाबारे मंगलबार छलफल भएको छ ।

असोज-कात्तिकमा लिग हुन नसके पनि केही समय पछि सञ्चालन गर्नेबारे प्रारम्भिक छलफल भएको छ । एन्फा प्रवक्ता सुरेश शाह भन्छन्, ‘एनएसएलको तेस्रो संस्करण कहिले गर्ने भनेर मितिको विषयमा पहिलो पटक छलफल भएको हो । बाँकी कुराहरु मितिको टुङ्गो लागेपछि छलफल हुनेछ ।’

एन्फाले उपलब्ध गराएको मितिमै एनएसएल हुने सम्भावना कम रहेपनि सरोकारवालाहरु अहिले प्रतियोगिता आयोजनाका लागि उपयुक्त मितिको खोजीमा छन् ।

एन्फाले आफ्नै कार्यक्रमअन्तर्गत रहेका लिगहरू आयोजना गर्न सकेको छैन । एन्फा महिला लिग भर्खरै सुरु भएको छ । अक्टोबरमा एन्फाले काठमाडौंमै साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ ।

शहीद स्मारक बी डिभिजन लिग हुनै बाँकी छ । नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग कहिले हुने टुङ्गो छैन । यस्तै, एन्फाले बी डिभिजन लिग अझै आयोजना गर्न सकेको छैन । त्यसका लागि समेत बी डिभिजनका क्लबहरुसँग बसेर छलफल गर्दै मिति टुंग्याउने तयारीमा छ ।

त्यसैले एन्फाले आफ्नै कार्यक्रमहरुलाई पनि मध्यनजर गर्दै एनएसएलका लागि मिति उपलब्ध गराउने विषयमा छलफल गरिरहेको छ ।

एन्फा प्रवक्ता शाहले जाडो महिनापछि एनएसएल गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । ‘एन्फाकै आफ्नै कार्यक्रमहरु पनि छ । नोभेम्बर विन्डोमा राष्ट्रिय टिमको खेल पनि हुनेछ । त्यसैले अलि पछि गर्नेकि भन्ने छ’, शाहले भने ।

सेप्टेम्बर विन्डोमा नेपाली राष्ट्रिय टिमले कुनै मैत्रीपूर्ण खेल खेलेन । अक्टोबरमा काठमाडौंमै साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । एन्फाले नोभेम्बरको फिफा विन्डोमा थ्री नेसन्स फुटबल प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरिरहेको छ । त्यसैले एनएसएलका लागि फेब्रुअरी पछि गर्ने गरी छलफल भएको छ ।

एन्फाले मंगलबार दुईपक्षबीच एनएसएलको विषयमा दुई पक्षबीच छलफल भएको भन्दै फोटो सार्वजनिक गरे पनि यस विषयमा धेरै जानकारी भने सार्वजनिक भएको छैन । खेलाडीको अक्सन, प्रतियोगिताको मोडालिटी जस्ता विषयमा भने पछि छलफल हुने जनाइएको छ ।

एनएसएलको पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसबाट हौसिएर दोस्रो संस्करणमा १० टिम बनाउने गरी आयोजकले ३ नयाँ टिम थप गरेको थियो । तर, पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करणमा सहभागिता नजनाएपछि ९ टिमले प्रतिस्पर्धा गरेका थिए ।

अब तेस्रो संस्करणमा कति टिमले प्रतिस्पर्धा गर्ला त्यो टुंगो लागिसकेको छैन ।

नेपाल सुपर लिग नेपाली फुटबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय