+
+

भाडाकै घरमा बागलुङका पाँच पालिका

रासस रासस
२०८१ भदौ २९ गते १५:५३

२९ भदौ, ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन् ।

विसं २०५३ मा स्थापना भएको बागलुङ नगरपालिकाले वडा नम्बर ३ रातमाटामा पक्की भवन निर्माण गरे पनि अहिले वडा नम्बर २ स्थित कृषि ज्ञान केन्द्रको कार्यालय मार्फत् सेवा प्रवाह गर्दै आएको छ ।

जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकाले जग्गा व्यवस्थापन गरी भवन निर्माण थाले पनि काठेखोला गाउँपालिकाको जग्गा व्यवस्थापनमै अल्झिएको छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही पालिकाले पहिलो कार्याकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले दोस्रो कार्यालयमा आफ्नै प्रशासकीय भवन निर्माण गरी सेवा दिन थालेका छन् ।

निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले पहिलो कार्यकालमै भवन निर्माण गरेका थिए भने बडिगाड गाउँपालिकाले दोस्रो कार्याकाल सुरु भएपछि आफ्नै प्रशासकीय भवनबाट सेवा सुरु गरेको छ ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण गलकोट नगरपालिकाको प्रशासकीय भवन समयमै बन्न सकेको छैन । अगामी मंसिरमा सक्ने गरी विसं २०७९ असारमा सम्झौता भएको भवन निर्माण अहिलेसम्म २८ प्रतिशत मात्रै काम भएको छ । अब तीन महिनामा ७८ प्रतिशत काम सक्ने सम्भावना नरहेको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

पाँच तले भवनको हालसम्म चार तला ढलानको काम मात्रै भएको छ । वडा नम्बर ६ चरौंदीमा सात रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको हो ।

भवन १२ करोड ४१ लाख ५५ हजार रुपैयाँ लागतमा गैरे बताउँछन् । नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक दुई लाख रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ ।

उनले भने, ‘निर्माण कम्पनीले सरासर काम गरेको भए यति बेला सकिन्थ्यो, अहिले सम्झौता मिति सकिन लागेको छ, दुई/साढे दुई महिना मात्रै बाँकी छ, अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ, साइडमा कामदार निरन्तर लगाइ राखेको छ, तर धेरै कम छन्, त्यति कामदारले कहिले काम सक्ने, यही गतिमा काम भयो भने त दुई/तीन वर्षमा पनि यो भवन सकिदैन ।’

जैमिनी नगरपालिकाको प्रशाकीय भवन निर्माणका लागि विसं २०७८ मा सम्झौता भए पनि हालसम्म आधा मात्रै काम भएको उपप्रमुख हरिहर शर्माले बताए । आगामी पुसमा सक्ने गरी १२ करोड १४ लाख रुपैयाँमा सम्झौता भएको भन्दै अहिलेसम्म ५० प्रतिशत काम भएको उनको भनाइ छ ।
हालसम्म चौथो तलाको ढलान भएको सुनाए । भवन समयमा नबन्दा मासिक करिब एक लाख ६० हजार रुपैयाँ घर भाडा तिर्दै आएको उनी बताउँछन् ।

ढोरपाटन नगरपालिका पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । नगरपालिकाले वडा नम्बर १ को बुर्तिबाङ बजारमै निर्माण गरी रहेको भवन आगामी चार महिनामा सम्पन्न हुने नगर उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए ।

अहिलेसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न उनको भनाइ छ । नगरपालिकाले दुई वटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरी रहेको जनाउँदै हरेक महिना मासिक एक लाख ३० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?