+
+

शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढल्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २९ गते १७:२४

२९ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको बताएका छन् ।

शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि सरकार ढलेको बताए ।

‘भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो, बूढानीलकण्ठतिर पनि सोेझियो । जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतंक नेताहरुमा पैदा भयो एउटा डर, एउटा भय’ प्रचण्डले भने, ‘त्यसैकारण राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा आफ्नै नेता कार्यकर्तालाई जानकारी नदिई पहिलो र दोस्रो पार्टीका बीचमा गठबन्धन भयो र सरकार बदलिने परिस्थिति बन्यो ।’

प्रचण्डले बालकोट भनेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको घर र बूढानीलकण्ठ भनेर कांग्रेस सभापति शेरबहादुर देउवाको घर रहेको ठाउँलाई लक्षित गरेका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफूले सत्तारुढ दललाई दुई तिहाइको अहंकार नदेखाउन आग्रह गर्ने क्रममा बंगलादेश र श्रीलंकाको उदाहरण दिएको बताए । ‘मैले उनीहरुलाई सम्झाएको मात्र छु, दुई तिहाइको यदि तपाईंहरुलाई अहंकार आयो भने धेरै टाढा जानुपर्दैन बंगलादेश हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइ एउटै पार्टीको थियो’, उनले भने ।

आफूले खबरदारी गरेको विषयलाई कांग्रेस र एमाले नेताहरुले ‘बंगलादेश बनाइदिन्छु भन्यो’ भनेर प्रचार गरेको भन्दै प्रचण्डले भने, ‘मैले त खबरदारी गरेको मात्र हो, तपाईहरु त्यता हेर्नुस्, दुई तिहाइको अहंकार गर्न छाडेर जनताको सेवा गर्नुस् भनेर सुझाव पो दिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?