+

एनपीएलका ८ मार्की खेलाडी, को कस्ता ?

२०८१ भदौ  २९ गते २०:४९ २०८१ भदौ २९ गते २०:४९
एनपीएलका ८ मार्की खेलाडी, को कस्ता ?

२९ भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का ८ फ्रेन्चाइज टोलीले लक्की ड्र मार्फत मार्की खेलाडी अनुबन्ध गरेका छन् ।

शनिबार भएको लक्की ड्र मा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदम खड्काले कालो झोलामा बाँधिएको क्रिकेटको ८ वटा बल एउटा बाकसमा राखिदिएका थिए । हरेक फ्रेन्चाइज टोलीका तर्फबाट एक/एक जना बालबालिकालाई बल झिक्न पठाइएको थियो । सुरुवातमा बल झिकेको काठमाडौंले तीव्र गतिका बलर करण केसीलाई मार्की पायो ।

त्यसपछि क्रमश : पोखराले नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल, चितवनले अलराउन्डर कुशल मल्ल, विराटनगरले स्पिनर सन्दीप लामिछाने, लुम्बिनीले कप्तान रोहित पौडेल, जनकपुरले ओपनर आसिफ शेख र कर्णालीले तीव्र गतिका बलर सोमपाल कामीलाई मार्की प्लेयरका रुपमा पाए ।

अन्तिममा नाम रहेको नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने स्वतः आफ्नो जन्मथलो सुदूरपश्चिम पुगे ।

लुम्बिनी, सुदूरपश्चिम र जनकपुरले आफ्नै क्षेत्रका मार्की खेलाडी पाए । मार्की खेलाडीले हरेक सिजनमा समान २० लाख रुपैयाँ पाउनेछन् । उनीहरुसँग टिमले तीन वर्षको सम्झौता गर्नेछ ।

मार्की खेलाडीको मुख्य काम अक्सनको समयमा टिम निर्माण गर्नु हो । कुन खेलाडी किन्ने वा नकिन्ने निर्णय प्रशिक्षक र टिमसँग मिलेर गर्नुपर्ने हुन्छ । सबै मार्की खेलाडी कप्तान हुन्छन् भन्ने पनि हुँदैन । अक्सनपछि बनेको टिमबाट निर्णय लिनसक्छन् ।

आगामी नोभेम्बर र डिसेम्बरमा हुने एनपीएलका लागि अरु खेलाडीको अक्सन दशैंअघि नै हुनेछ ।

मार्की ८ खेलाडीमध्ये कुशल मल्लले भने अहिलेसम्म कुनैपनि प्रतियोगितामा कप्तानी गरेका छैनन् । मार्की ८ खेलाडीको बारेमा छोटकरीमा जानकारी :

१.रोहित पौडेल – लुम्बिनी

फर्चुन हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनीले आफूले खोजेकै मार्की खेलाडी रोहित पौडेललाई पायो । भरपर्दा ब्याटर, नेपाली टोलीका कप्तान र आफ्नै क्षेत्र नवलपरासीका रोहितलाई पाउँदा टिम खुशी छ ।

रोहितले सन् २०१८ मा नै नेपालको यू–१९ टोलीको नेतृत्व गरेका थिए । उनको कप्तानीमा विराटनगर नेपाल टी–२० लिग २०२२/२३ मा फाइनलसम्म पुगेको थियो । यद्यपि त्यस प्रतियोगितामा सुरुवाती केही खेल भने वेस्टइन्डिजका आन्द्रे म्याकार्थीले नेतृत्व गरेका थिए । तर स्टप फिक्सिङको आरोपपछि अन्तिम ७ खेलमा रोहितले कप्तानी गरेका थिए ।

रोहित २०२२ पछि नेपालको ओडीआई र टी–२० आई दुबैका कप्तान हुन् । धेरैले आशा मारेको ओडीआई मान्यता जोगाउन लिग–२ का अन्तिम १२ मध्ये ११ खेल नेपालले रोहितको कप्तानीमा नै जितेको थियो ।

नेपाललाई एसिसी प्रिमियर कपको उपाधि, ओडीआई मान्यता निरन्तरता, पहिलो पटक एसिया कपमा सहभागिता र १० वर्षपछि टी–२० विश्वकपमा पुर्‍याउन सफल रोहितले नेपाली टोलीमा एकता पनि कायम राखेका छन् ।

रोहित नेपालका एक सफल कप्तानसँगै शीर्षक्रमका ब्याटर हुन् । उनले टोलीको इनिङ विकास र लामो इनिङ खेल्ने गर्छन् । उनले ६१ ओडीआई र ५२ टी–२० आई खेलिसकेका छन् ।

२.सोमपाल कामी – कर्णाली

हिमालयन बिल्डर्सले किनेको कर्णालीले नेपालका सर्वाधिक अनुभवी अलराउन्डर सोमपाल कामीलाई पायो ।

सोमपाल तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै टोलीलाई जिताउन सक्छन् । उनले क्रिकेटका घरेलु प्रतियोगिताहरुमा सफल कप्तानको पहिचान बनाइसकेका छन् ।

उनको नेतृत्वमा २०१८ मा टिम चौराह धनगढीले डीपीएल र २०२१ मा चितवन टाइगर्सले ईपीएलको उपाधि जितेको थियो ।

गुल्मी घर भएका सोमपालले नेपाल टी–२० लिगबाहेक अन्य सबै तीन फ्रेन्चाइज लिगमा नेपालको नेतृत्व गरेका छन् । विभागीय टोलीमा भने उनले विनोद भण्डारीको नेतृत्वमा त्रिभवुन आर्मी क्लबबाट खेल्ने गर्छन् । नेपालबाट दुई विश्वकप खेल्ने एक्लो क्रिकेटर उनले ५४ ओडीआई र ६८ टी–२० आई खेलेका छन् ।

३. करण केसी – काठमाडौं

कान्तिपुर मिडिया ग्रुपको स्वामित्व रहेको काठमाडौंले शनिबारको लक्की ड्रमा अनुभवी अलराउन्डर करण केसीको नाम निकालेको थियो । करणले पहिलो पटक २०१९ मा धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सको कप्तानी गरेका थिए ।

उनले सन् २०२१ को एभरेष्ट प्रिमियर लिगमा विराटनगरको नेतृत्व गरेका थिए । करणले नेपाल टी–२० लिग र पोखरा प्रिमियर लिगमा भने नेतृत्व गरेनन् । विभागीय टोलीमा नेपाल पुलिस क्लबबाट दीपेन्द्रको कप्तानीमा खेल्ने गर्छन् ।

उनी तीव्र गतिका बलरसँगै क्लिनहिटर हुन् । सन् २०१८ मा नेपाललाई ओडीआई मान्यतासम्म पुर्‍याउन क्यानडाविरुद्ध सुपर हिरो बनेका थिए । करणले नेपालबाट ५१ ओडीआई र ७० टी–२० आई खेलेका छन् ।

४.सन्दीप लामिछाने – विराटनगर

एमएडी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको विराटनगरले नेपालका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई पायो । सन्दीप लक्की ड्र मा काठमाडौंबाहेक अन्य सबै फ्रेन्चाइजले चाहेका मार्की खेलाडी थिए ।

इन्डियन प्रिमियर लिग (आईपीएल) सँगै विश्वका प्रमुख फ्रेन्चाइज लिग खेलेका उनले घरेलु, फ्रेन्चाइजसँगै नेपाली राष्ट्रिय टिमको कप्तानी गरिसकेका छन् ।

उनको पहिलो कप्तानीमा २०१८ को पीपीएलमा विराटनगरले ५ मध्ये ४ खेलमा हारेको थियो । उनले २०२१ को ईपीएलमा काठमाडौं ११ को कप्तानी गर्दै टोलीलाई प्लेअफ सम्म पुर्‍याएका थिए । त्यस्तै २०२१ मा सन्दीपले काठमाडौं मेयर्स कप (५० ओभरको घरेलु प्रतियोगिता) मा मेयर्स ११ को कप्तानी गरेका थिए ।

उनी २०२२ मा नेपालको कप्तान रहेका बेला बलात्कारको आरोप लागेपछि एक वर्ष नपुग्दै निलम्बनमा परेका थिए । उनले १८ टी–२० आई र १४ ओडीआई खेलमा नेपालको कप्तानी गरेका छन् ।

सन्दीपले नेपालबाट ५१ ओडीआईमा ११२ र ५४ टी–२० आईमा १ सय विकेट लिएका छन् । सन्दीप ओडीआईमा सर्वाधिक छिटो ४२ खेलमा १०० विकेट पूरा गर्ने विश्व कीर्तिमानी खेलाडी हुन् । उनले अफगानिस्तानका रासिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए ।

५.कुशल भुर्तेल – पोखरा

नेपाल टी–२० प्रालिको स्वामित्वमा रहेको पोखराले लक्क ड्रमा युवा ओपनर कुशल भुर्तेलको नाम निकालेको थियो । २०२१ देखि नेपालबाट खेल्दै आएका कुशल आक्रामक ओपनिङसँगै लेग स्पिन पार्टटाइम गर्ने गर्दछन् ।

कुशलले २०२१ को ईपीएलमा ललितपुर प्याट्रियट्सको कप्तानी गरेका थिए । उनको कप्तानीमा ललितपुरले ५ मध्ये एक खेलमा मात्रै जित हात पारेको थियो ।

टी–२० आईमा डेब्यु गरेपछि सुरुवाती तीन खेलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका उनको घर रुपन्देही हो । उनले नेपालबाट ५२ ओडीआई र ४६ टी–२० आई खेल खेलेका छन् ।

६.दीपेन्द्रसिंह ऐरी – सुदूरपश्चिम

इम्पियर स्पोर्ट्सको स्वामित्वमा रहेको सुदूरपश्चिम भाग्यमानी टोली रह्यो । अन्तिममा नाम रहँदा बल नै नहेरी नेपाली टोलीका प्रमुख हतियार दीपेन्द्रलाई मार्की प्लेयरको रुपमाा पाएको थियो ।

दीपेन्द्र अक्सनमा सबै ८ फ्रेन्चाइजले नै चाहेका क्रिकेटर थिए । किनभने उनी ब्याटिङ, बलिङ, फिल्डिङ र नेतृत्व चारै क्षेत्रबाट टोलीलाई सहज जित दिलाउन सक्ने खुबी भएका क्रिकेटर हुन् ।

घरेलु क्रिकेटमा हालसम्म भएका चार फ्रेन्चाइज, ईपीएल, डीपीएल, पीपीएल र नेपाल टी–२० लिगमा कप्तानी गर्ने एक्लो खेलाडी हुन् ।

कञ्चनपुर घर भएका दीपेन्द्रको कप्तानीमा नेपालले २०१७ को य–ू१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो । उनले ८८ रनका साथै ४ विकेट लिदै कप्तानी इनिङ खेलेपछि इतिहासमै नेपालले भारतलाई पहिलो पटक हराएको थियो ।

उनी २०१७/१८ मा नेपालको यू–१९ कप्तान थिए । त्यस्तै २०१९/२०२१ सम्म नेपालको सिनियर टिमको उपकप्तान थिए ।

दीपेन्द्रको कप्तानीमा सीवाईसी अत्तरियाले २०१९ मा डीपीएलको उपाधि जितेको थियो । उनको कप्तानीमा लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिग २०२३ मा उपाधि जितेको थियो । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद २०२२ मा स्वर्ण र प्रधानमन्त्री कप २०२४ को च्याम्पियन बनेको थियो ।

दीपेन्द्र विश्व क्रिकेट इतिहासमै सर्वाधिक ९ बलमा अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । गतवर्ष मंगोलियाविरुद्ध मात्रै ९ बलमा उनले बनाएको अर्धशतकको कीर्तिमान तोडिने सम्भावना न्युन छ । त्यस्तै यसै वर्ष अप्रिलमा टी–२० आईमा ६ बलमा ६ छक्का हानेका थिए । दीपेन्द्रले नेपालबाट ५५ ओडीआई र ६७ टी–२० आई खेल खेलिसकेका छन् ।

७.कुशल मल्ल – चितवन

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवनले कुशल मल्ललाई मार्की खेलाडी बनाएको छ । हालसम्म कुनैपनि प्रतियोगितामा कप्तानी नगरेका उनी पहिलो पटक मार्की खेलाडीमा परेका थिए ।

आक्रामक ब्याटिङ र स्पिन बलिङका साथ नेपालबाट शानदार प्रदर्शन गरेपछि मार्की खेलाडी बनेका हुन् ।

उनको मुख्य विशेषता विष्फोटक ब्याटिङमा जित सहज बनाउनु हो । रुपन्देही घर भएका उनले नेपालबाट ओडीआई, टी–२० आई र समग्र इतिहासमै छिटो शतक हान्ने खेलाडी हुन् ।

कुशलले सन् २०२३ मा मंगलोलियाविरुद्ध ३४ बलमै हान्दा टी–२० आई इतिहासकै सर्वाधिक छिटो १०० रन बन्दै विश्व कीर्तिमान बनेको थियो । तर गत फेब्रुअरीमा नामिबियाका निकोल लोफ्टीले ३३ बलमा नेपालविरुद्ध शतक हान्दै कुशलको कीर्तिमान तोडेका थिए ।

त्यस्तै २०२३ को एसिसी प्रिमियर कप ओडीआईमा ओमानविरुद्ध ५९ बलमै शतक हानेका थिए । टी–२० विशेष खेलाडी कुशलले नेपालबाट ३६ ओडीआई र ४२ टी–२० आई खेल खेलेका छन् । गतवर्ष मंगोलियाविरुद्ध जोडेको १३७ रन उनको अन्तर्राष्ट्रिय करिअरको उत्कृष्ट प्रदर्शन हो ।

८. आसिफ शेख– जनकपुर

ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुरले ओपनर आसिफ शेखको नाम निकालेको थियो । रोचक के थियो भने लक्की ड्र मा बल तान्न गएका बालकले कसैलाई नदेखाई बक्स पछाडि गएर बाँधिएको झोला खोलेका थिए । र जनकपुरले खोजेको आफ्नै क्षेत्रका आसिफ शेखलाई पायो ।

वीरगञ्ज घर भएका आसिफले २०२१ देखि नेपालबाट खेल्दै लगातार ठूला सफलता दिलाएका छन् । नेपालको ओडीआई मान्यता जोगाउन, एसिया कप खेल्न र विश्वकपमा १० वर्षपछि पुग्न आसिफको योगदान महत्वपूर्ण थियो ।

आसिफले नेपालबाट २०१८ मा यू–१९ टोलीको नेतृत्व गरेका थिए । फ्रेन्चाइज क्रिकेटमा भने नेतृत्व गरेका छैनन् । आसिफले नेपालबाट ४९ ओडीआई र ४७ टी–२० आई खेल खेलेका छन् ।

एनपीएल क्रिकेट नेपाल प्रिमियर लिग
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय