+
+

भारतलाई किन मन परेन बंगलादेशको ‘मेगाफोन कूटनीति’ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते ७:०६
बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद यूनुस

३० भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएको एक महिना बितिसक्दा पनि भारत र बंगलादेशबीचको सम्बन्धको चिसोपना अझै हट्न सकेको छैन । शेख हसिनाको भारतमा उपस्थिति नै अहिले बंगलादेश र भारतबीचको तनावको कारण बनेको छ ।

यसैबीच, बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको हालैको अन्तर्वार्ताले भारतलाई अचम्ममा पारेको छ । पछिल्ला घटनाक्रमहरूलाई हेर्दा अहिले भारत र बंगलादेशको सम्बन्ध कुन स्थितिमा छ ? भन्ने कुराको समीक्षा यसरी गर्न सकिन्छ ।

के शेख हसिनाको भारत बसाइले सम्बन्धमा चिसोपना ल्याएको ?

शेख हसिनालाई भारत समर्थक नेतृका रूपमा हेरिन्छ । उनको १५ वर्षे शासनकालमा भारत र बंगलादेशबीच रणनीतिक र आर्थिक सम्बन्धहरू निकै बलियो बने । उनले बंगलादेशमा रहेका भारत विरोधी विद्रोही समूहहरूमाथि कारबाही गरेकी थिइन्, जसले भारतको सुरक्षामा सहयोग पुगेको थियो ।

साथै, उनले भारतसँग रहेका सीमा विवादहरूको समाधान पनि गरिन् । तर अहिले भारतमा उनी कति समय बस्छिन् भन्ने अनिश्चितताले दुबै देशबीचको बलियो सम्बन्धमा समस्या ल्याएको छ ।

गत हप्ता प्रेस ट्रस्ट अफ इण्डियासँगको अन्तर्वार्तामा मोहम्मद यूनुसले शेख हसिनालाई कुनै राजनीतिक बयान दिनबाट भारतले रोक्नुपर्ने बताए । उनले भने, ‘यदि भारतले शेख हसिनालाई भारतमा राख्न चाहन्छ भने उनी चुप बस्नुपर्छ ।’

यूनुसले शेख हसिनाको भारत आगमनपछि भएको सार्वजनिक अभिव्यक्तिको चर्चा गरे । यद्यपि सो भनाइ पछि उनले कुनै सार्वजनिक धारणा व्यक्त गरेकी छैनन् ।

के भारतलाई यूनुसको टिप्पणी मन परेन ?

शेख हसिनालाई स्वदेश फर्काएर बंगलादेशमा जुलाई–अगस्ट महिनाका प्रदर्शनहरूमा भएका हत्याको लागि दोषी करार गर्दै मुद्दा चलाउनुपर्ने माग उठिरहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना

यूनुसले अन्तर्वार्तामा भनेका छन्, ‘दुबै देशले आपसी सम्बन्ध सुधार्नका लागि मिलेर काम गर्नुपर्नेछ । अहिले दुबै देशबीचको सम्बन्ध निकै कमजोर अवस्थामा छ ।’

भारतीय विदेश मन्त्रालयले उक्त अन्तर्वार्ताका विषयमा कुनै प्रतिक्रिया नदिए पनि अधिकारीहरू यसबाट असन्तुष्ट देखिएका छन् । एक भारतीय अधिकारीले नाम नछाप्ने शर्तमा बीबीसीलाई भनेका छन्, ‘भारतले बंगलादेशबाट आएका महत्त्वपूर्ण व्यक्तिहरूका गैर–आधिकारिक बयानहरूलाई गम्भीरताका साथ हेरिरहेको छ ।’

के हो ‘मेगाफोन कूटनीति’ ?

पूर्व भारतीय कूटनीतिज्ञहरूले मोहम्मद यूनुसको यस व्यवहारलाई ‘मेगाफोन कूटनीति’ भनेर आलोचना गरेका छन् । मेगाफोन कूटनीति भनेको मिडियामार्फत अन्तराष्ट्रिय सम्बन्धका विषयमा विवादास्पद धारणा व्यक्त गर्नु हो ।

बंगलादेशका लागि भारतीय पूर्व उच्चायुक्त वीना सिकरीले भनिन्, ‘भारत बंगलादेशसँग कुराकानी गर्न चाहन्छ, र यसका लागि उनले संकेत पनि दिएका छन् ।’

तर बंगलादेशको विदेश मन्त्रालयले भने यी आलोचनाहरूलाई अस्वीकार गरेको छ ।

शेख हसिनालाई बंगलादेश फर्काउन कति सम्भव ?

शेख हसिनालाई अरु कुनै देश शरण दिन तयार नभएसम्म उनी भारतमै रहन्छिन् भन्ने कुरामा भारतमा आम बुझाइ छ ।

तर बंगलादेशका इन्टरनेशनल क्राइम्स ट्रिब्युनलका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामका अनुसार शेख हसिनालाई कानुनी रूपमा बंगलादेश फर्काउन प्रयास भइरहेको छ ताकि उनीमाथि मुद्दा चलाउन सकियोस् । तर विज्ञहरुका अनुसार औपचारिक अनुरोध भए पनि शेख हसिनालाई बंगलादेश फर्काउनु अहिले सम्भव देखिँदैन ।

भारतले विपक्षी दलहरूसँग संवाद नगरेको आरोप ?

यूनुसले आफ्नो अन्तर्वार्तामा बंगलादेशका विपक्षी दलहरूसँग संवाद नगरेको भन्दै भारतको आलोचना पनि गरेका छन् ।

उनले भने, ‘बंगलादेशमा सबै इस्लामवादी छन् भन्ने भारतको धारणा छ । बंगलादेश नेशनलिस्ट पार्टी इस्लामवादी हो । भारतलाई लाग्छ कि बंगलादेश शेख हसीनाको हातमा मात्र सुरक्षित छ । भारत यो अवधारणाको बन्दी भएको छ ।’

तर भारतीय विश्लेषकहरू यूनुसको यस धारणा संग सहमत छैनन् । बंगलादेशका लागि भारतीय पूर्व उच्चायुक्त वीना सिकरी भन्छिन्, ‘म मोहम्मद यूनुसको यस भनाइसँग कत्तिपनि सहमत छैन । बंगलादेशमा हाम्रा उच्चायुक्तहरूले राजनीतिक दलहरूसँग कुनै पनि पूर्वाग्रह नराखीकन कुरा गर्छन् ।’

बंगलादेशका लागि भारतीय पूर्व उच्चायुक्त वीना सिकरी

वास्तवमा सन् २००१ देखि २००६ सम्म बंगलादेश नेशनलिस्ट पार्टीको गठबन्धन सरकारको अवधिमा भारत र बंगलादेशको सम्बन्ध बिग्रिएको थियो ।

भारतले उक्त सरकारलाई आफ्नो उत्तरपूर्वी क्षेत्रमा विद्रोहीहरूलाई शरण दिएको आरोप लगाएको थियो । तर धेरै बंगलादेशीहरुको भनाई चाहीँ भारतले बंगलादेश नेशनलिस्ट पार्टीसँग संवाद गर्नुपर्ने हो भन्ने छ ।

बंगलादेश नेशनलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरका अनुसार शेख हसिनाको सरकार ढलेयता कुनै पनि अधिकारीहरुले उनीहरुसँग कुराकानी र भेटघाट गरेका छैनन् । त्यसको कारण आफुले नबुझेको उनी बताउँछन् । अर्कोतर्फ, बंगलादेशमा चिनियाँ राजदूत र युरोपेली देशका दूतहरू बंगलादेश नेशनलिस्ट पार्टीका नेताहरूसँग निरन्तर भेटघाट गरिरहेका छन् ।

शेख हसिनाको सरकार ढलेपछि बंगलादेशमा सुरक्षाकोे अभावले धार्मिक अल्पसंख्यकहरूमाथि आक्रमणका घटना बढेका छन् । भारतले बंगलादेशमा हिन्दूहरूमा इस्लामवादीहरूबाट भएका आक्रमणका समाचारहरुप्रति पटक–पटक चिन्ता व्यक्त गरेको छ ।

पछिल्ला केही हप्तामा इस्लामिक कट्टरपन्थीहरूले सूफी मजारहरूमा तोडफोड गरेका छन् । बंगलादेशमा सुन्नी मुस्लिम बहुसंख्यक छन् । कट्टर इस्लामलाई मान्नेहरूले मजार र मकबराहरूलाई इस्लामको विरुद्धमा मान्छन् ।

बंगलादेशको धार्मिक मामिला मन्त्रालयका सल्लाहकार एएफएम खालिद हुसेनका अनुसार धार्मिक स्थलहरूमा तोडफोड गर्नेहरूमाथि कडा कारबाही गरिनेछ ।

भारतलाई कट्टरपन्थीहरुको डर

विज्ञहरूका अनुसार इस्लामिक कट्टरपन्थीहरूले बंगलादेशमा पुनः आफ्नो प्रभुत्व स्थापित गर्न सफल भए भने, उनीहरूको संख्या जति कम भए पनि, त्यो भारतका लागि खतराको संकेत हुनेछ ।

पछिल्लो पटक विभिन्न अपराधमा दोषी ठहर एक इस्लामि अतिवादीलाई रिहा गरिएको छ ।

गत महिना शेख हसिनाको सरकार विरुद्ध भएका विद्यार्थी प्रदर्शनका क्रममा नौ जना संदिग्ध इस्लामिक अतिवादीहरु जेलबाट भागेका थिए । यद्यपि, तीमध्ये चार जनालाई पुनः पक्राउ गरिएको थियो ।

शेख हसिनाको सरकारले आतंकवादी घोषणा गरेको संगठन अन्सारुल्लाह बांग्ला टिमका प्रमुख जशीमुद्दिन रहमानीलाई पनि जेलबाट रिहा गरिएको छ । सन् २०१५ मा नास्तिक ब्लगरको हत्या गरेको आरोपमा उनलाई पाँच वर्षको कैद सजाय सुनाइएको थियो र अन्य विभिन्न मुद्दाको सजायँ समेत बाँकी रहेकाले उनी जेलमा थिए ।

बंगलादेशका लागि भारतीय पूर्व उच्चायुक्त रीवा गांगुली दासका अनुसार पछिल्ला केही महिनामा धेरै अतिवादीहरू बंगलादेशमा रिहा भएका छन् । तीमध्ये केहीको बारेमा भारतलाई जानकारी छ । यो गम्भीर विषय भएको उनले बताइन् ।

–बीबीसीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?