+
+

जब लण्डनमा चोरी भएको फोन चीनमा देखियो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते ७:३५

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताको बढ्दो संख्यासँगै स्मार्टफोन चोरीका घटना बढ्नु स्वभाविकै हो । अझ सहरी क्षेत्रमा दैनिक रुपमै धेरै स्मार्टफोन चोरिने तथा हराउने घटना भइरहन्छन् । अझ चोरिएका फोन भेटिने भन्ने विरलै हुन्छ ।

तर हालै एउटा यस्तो घटना भएको छ जसमा बेलायतको लण्डनमा चोरी भएको फोन एक महिनापछि चीनमा भेटिएको छ ।

गत अप्रिलको महिना थियो । अकारा एट्टेह आफ्नो फोनमा केही हेर्दै लण्डनको एक मेट्रो स्टेशनबाट बाहिर निस्किरहेका थिए ।

त्यहीबेला एक्कासी एउटा इलेक्ट्रिक बाइकमा आएका मानिसले उनको फोन थुतेर भागे । अकाराले लुटेरालाई पछ्याउने कोसिस गरे तर चोरहरु त्यहाँबाट भागेर अलप भए ।

इंगल्याण्ड र वेल्समा यस्ता घटनाहरु तीव्र बनिरहेका छन् र गत महिनामा मात्रै हजारौँ मानिसका फोन चोरी भएका छन् ।

यस्ता घटनामा अपराधीहरुलाई सजायँ दिने दर चाहिँ न्यून छ । प्रहरीका अनुसार उसले अपराधीहरुलाई कारवाही नगर्ने भन्ने होइन, तर यसमा फोन कम्पनीहरुको भूमिका बढी महत्वपूर्ण हुन्छ ।

यस्ता घटनाहरूका शिकार बनेका व्यक्तिहरुका अनुसार फोन चोरी हुँदा पुराना तस्बिरहरूदेखि हजारौं रुपैयाँसम्मको क्षति हुन्छ ।

अकारा पनि आफ्नो फोन चोरी भएपछि हैरान थिए । उनी आफ्नो फोनको स्थान पत्ता लगाउन त सक्षम थिए, तर फिर्ता लिन सकिरहेका थिएनन् ।

अकाराले आफ्नो घरमा ल्यापटपबाट आफ्नो आइफोन १३ को ‘फाइन्ड माइ आइफोन’ फिचर अन गरे । त्यसपछि उनलाई सूचना आयो कि उनको फोन लन्डनको इस्लिङ्गटनमा छ । आठ दिनपछि चाहिँ फोनको स्थान उत्तरी लन्डनको नजिक पत्ता लाग्यो ।

अकाराले भने, ‘हुनत म कसैलाई पनि यसरी यस्तो नयाँ ठाउँम जाने सल्लाह दिँदैन । तर म चाहिँ मेरो देखिएका दुईवटा स्थानमा गएको थिएँ । यो खतरनाक थियो र मलाई निकै रिस उठेको थियो ।

चीनको टेक हबमा देखियो फोन

अकारा ती ठाउँहरूमा गए, तर कसैलाई केही भनेनन् । उनलाई लाग्यो कि कसैले उनलाई हेरिरहेको छ । त्यसपछि उनी घर फर्किए।

उनी भन्छन्, ‘मेरो फोन धेरै महँगो थियो। ठूलो मिहिनेतले फोन किनेको थिएँ ।’

एक महिना पछि अकाराले ‘फाइन्ड माइ फोन’ फिचर फेरि जाँच गरे । त्यसबेला चाहिँ उनको फोन चीनको शेन्जेनमा पुगेको देखियो ।

त्यसपछि चाहिँ अकाराले फोन पाउने आशा मारे । किनकि लण्डनबाट चोरी भएको फोनको लोकेसन चीनमा देखिएको थियो । शेन्जेन यस्तो ठाउँ हो जहाँ फोनको लक नखुलेमा वा पुनः प्रयोग गर्न नसकिएमा फोनका पार्ट्स खोलेर समेत प्रयोग गर्न सकिन्छ ।

जुन सहरमा अकाराको फोनको लोकेसन देखाइएको थियो, त्यहाँको जनसंख्या लगभग १ करोड ६० लाख छ । यस ठाउँलाई चीनको सिलिकन भ्याली पनि भनिन्छ ।

अकाराका अनुसार उनको फोन चोरी भएको ठाउँ नजिकै केही दूरीमा पुलिस थिए र आफ्नो फोन चोरी भएको जानकारी गराउँदा पुलिसले अकारालाई अनलाइन उजुरी गर्न भने ।

तर केही दिनपछि उनलाई पुलिसको ई–मेल आयो । फोन चोरलाई समाउने सम्भावना कम रहेकाले अब उनको उजुरी बन्द गरिएको जानकारी प्रहरीले गरायो । अकाराले केही तस्बिरहरू र जानकारी पनि दिएका थिए, तर पुलिसले कुनै कारबाही गरेन ।

पुलिस के भन्छ ?

पीडितहरूका अनुसार चोरी भएका फोनबाट अनलाइन भुक्तानी समेत गरिएको छ ।

‘मेरो जुन फोन चोरी भयो त्यसमा मेरी आमाका अन्तिम तस्बिरहरू थिए । म ती तस्बिरहरू फर्काउनका लागि जे पनि गर्न तयार थिएँ,’ उनी भन्छन् । पुलिसले ठोस कदम नचालेको उनको गुनसो छ ।

यहाँनेर प्रश्न उठ्छ कि पुलिसले किन यस्ता मामिलामा केही पनि गर्न सक्दैन ? वा चोरी भएका फोन किन फेरि फिर्ता गर्न सकिँदैन ?

प्रहरी अधिकारी म्याट इभान्स यस्ता अपराधहरू विरुद्ध काम गर्ने एक प्रहरी टोलीको नेतृत्व गर्छन् । चोरी भएका फोनमध्ये निकै थोरै मात्र फेला पर्ने गरेको उनी स्वीकार गर्दछन् ।

इभान्स भन्छन्, ‘यस्ता घटनामा समय सबैभन्दा ठूलो चुनौती हो । तर पीडितहरुले उजुरी गर्नै पर्छ । किनभने यदि उजुरी नै भएन भने अनुसन्धान कसरी गर्ने ?’

प्रहरीका अनुसार कहिलेकाहीँ एउटा पक्राउले पनि ठूलो प्रभाव पार्न सक्छ ।

बेलायतको नेशनल पुलिस चिफ काउन्सिलका कमाण्डर रिचर्ड स्मिथका अनुसार फोन चोरहरू समातिनका लागि प्रविधि कम्पनीहरूको महत्वपूर्ण भूमिका छ ।

फोन चोरी भएमा के गर्ने ?

यदि तपाईंसँग आईफोन छ भने Find my iPhone  फिचर अन राख्नुस् । अनि यदि एन्ड्रोइड फोन छ भने Find my Device फिचर अन राख्नुस् । यसो गर्दा यदि फोन चोरी भयो भने तपाईंले यसको लोकेसन पत्ता लगाउन सक्नुहुन्छ वा डेटा मेटाउन सक्नुहुन्छ ।

तर चोरी भएका फोनलाई पुनः बिक्री वा पुनः प्रयोग गर्न नसकिने बनाइएमा मात्रै फोनको चोरी रोकिने सक्ने भएकाले फोन निर्माता कम्पनीहरुले त्यसो गरुन् भन्ने बेलायत सरकार चाहन्छ ।

अन्तर्राष्ट्रिय बजारमा पुराना फोनहरुको माग बढिरहेको अवस्थामा फोन चोरीका घटनामा कमी आउने आउने सम्भावना कम छ ।

बेलायतमा एउटा सम्मेलन नै आयोजना गर्न लागिएको छ जसमा फोनको अवैध बिक्री रोक्ने विषयमा छलफल गरिनेछ । यसका विषयमा गुगल र एप्पलले चाहिँ केहीपनि प्रतिक्रिया दिएका छैनन् । तर सामसुङ कम्पनीले चाहिँ आफू फोन चोरीका घटनाहरू रोक्न प्रशासनसँग मिलेर काम गरिरहेको दाबी गरेको छ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?