+
+

अमेरिकाबाट काठमाडौं आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते ११:११

३० भदौ, काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल छन् । उनी शनिबार राति १०ः२५ बजेदेखि एअरपोर्टबाट बेपत्ता भएका भुसालका ज्वाईं मधु वस्तीले बताए ।

विमानस्थलमा ओर्लेपछि भिडिओ कल समेत भएको र त्यसपछि भुसाल बेपत्ता भएको वस्तीले बताए । राति १०ः२५ बजे विमानस्थलबाट बाहिर निस्केको सीसी क्यामेरामा समेत देखिए पनि त्यहाँबाट कता गए भन्ने पत्तो नलागेको उनले बताए ।

अमेरिकाबाट दुबई ट्रान्जिट भएर हिमालयन एअरलाइन्समार्फत भुसाल शनिबार राति काठमाडौं ओर्लिएका थिए । ‘एक जना सिस्टरको साथ लगाएर अमेरिकाबाट पठाएको रहेछ । विमानस्थलबाट बाहिर निस्केपछि झोला छुट्यो भन्दै भित्र लिन जानुभयो । त्यही बेलामा सिस्टर उहाँको सामान विमानस्थलमै छाडेर जानु भएछ । झोला कागजात सबै भेटियो तर उहाँ भेटिनु भएको छैन,’ वस्तीले अनलाइनखबरसँग भने ।

लेखपढ गर्न नजान्ने भुसाल हराएपछि आफन्तले प्रहरी वृत्त गौशालामा निवेदन दिएका छन् ।

गौशाला वृत्तका डीएसपी केशव थेबेले दण्डपाणि भुसाल हराएको भन्दै निवेदन आएको पुष्टि गरे । ‘हराएको भन्दै निवेदन आएको छ । हामीले खोजी कार्य सुरु गरेका छौं’ थेबेले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?