+
+

सेप्सिस कतिबेला घातक बन्छ ?

डा. अनाम प्याकुरेल डा. अनाम प्याकुरेल
२०८१ भदौ ३० गते ११:५०

ग्लोबल सेप्सिस एलाइन्सेसको तथ्यांक अनुसार विश्वभरमा सेप्सिसबाट वर्षेनी चार करोड ९० लाख मानिस सेप्सिसबाट संक्रमित हुन्छ । जसमध्ये एक करोड १० लाखले ज्यान गुमाउँछन् । अस्पतालमा सबैभन्दा बढी मृत्यु हुने स्वास्थ्य समस्यामध्ये एक हो, सेप्सिस ।

विश्वभर हुने मृत्युमध्ये २० प्रतिशत सेप्सिसको कारणले हुने तथ्यांकले देखाउँछ ।

के हो सेप्सिस ?

सेप्सिस तब हुन्छ, जब शरीरको प्रतिरक्षा प्रणालीले बाह्य संक्रमणविरुद्ध असामान्य प्रतिक्रिया देखाउँछ । अर्थात्, शरीरमा बाह्य भाइरस, फंगल, कीटाणुको संक्रमण गर्दा प्रतिरक्षा प्रणाली नै योद्धा जसरी त्यसविरुद्ध लड्छ ।

तर कहिलेकाहीं प्रतिरक्षा प्रणाली अति सक्रिय भइदिन्छ । यस्तोमा संक्रमणविरुद्ध लड्नुको साटो प्रतिरक्षा प्रणालीले उल्टो शरीरमा असामान्य प्रतिक्रिया देखाई तन्तु तथा अंगलाई आफैं हानि गर्न सुरु गर्छ । जसकारण शरीरको सबै भाग सुन्निन्छ । बाह्य संक्रमण रगतको माध्यम हुँदै शरीरको विभिन्न भागमा फैलिन्छ ।

कलेजो र मिर्गौलालाई क्षति गराई मृत्यु समेत गराउन सक्ने यो एक प्राणघातक अवस्था (लाइफ थ्रिएटिंग अर्गान डिसफङ्सन) हो ।

सेप्सिस किन हुन्छ ?

सेप्सिस कुनै रोग नभई रोगहरुको एकीकृत समूह हो । भाइरल संक्रमण, फंगल, पारासाइट जस्ता संक्रमण हुँदैमा सेप्सिस भइहाल्छ भन्ने होइन । यी संक्रमण हुँदा शरीरले लड्न नसक्दा सेप्सिस हुनसक्छ ।

कडा, जटिल रोगको संक्रमणले मात्र नभई साधारण सानो मानिने वा देखिने रोगको संक्रमणबाट समेत सेप्सिस हुनसक्छ  ।

यदि कुनै रोग निमोनिया (फोक्सोको संक्रमण), पेटको संक्रमण, मिर्गौला, रगत संक्रमण र क्यान्सर लगायत समस्याका कारण शरीरको प्रतिरोधी क्षमता अति कमजोर भएमा र पहिलेबाटै शरीरको प्रतिरोधी क्षमता कमजोर भएमा सेप्सिस हुने गर्छ ।

जोखिम समूह

विशेषगरी रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनेहरुमा यसको जोखिम उच्च  रहन्छ । अंग प्रत्यारोपणपछि रोगसँग लड्ने क्षमता घटाउने खालको औषधि (स्टेरोइड लिने) बिरामी, नवजात शिशु, बालबालिका र वृद्धहरुमा बढी जोखिमको सम्भावाना बढी रहन्छ ।

त्यस्तै, बाथ रोग, एचआईभी/एड्स, क्यान्सर, मधुमेह, दीर्घकालीन मिर्गौलाको रोग, दम हुने बिरामी, लामो समय कृत्रिम श्वासप्रश्वास दिएर राखेका बिरामीमा पनि यो समस्या हुने जोखिम उच्च रहन्छ ।

के कस्ता लक्षण देखिन्छ ?

अचानक शरीरको तापक्रम बढ्नु वा स्वाट्ट घट्नु, हाइपरथर्मिया, मुटुको चाल प्रतिमिनेट २० भन्दा बढी हुनु वा अनियमित हुनु, थकान तथा कमजोरी, बेसुरको कुरा गर्नु र रक्तचाप न्यून हुनु सेप्सिसको लक्षण हुन् ।

यी लक्षण देखिएसँगै अंगले काम गर्न छाडेको पनि हुनसक्छ । यस्तोमा पनि शरीरले गम्भीर लक्षण देखाउँछ ।

जस्तो कि होस कम हुनु वा बेसुरको कुरा गर्नु, पिसाबको मात्रा अति न्यून हुनु, सास फेर्न समस्या हुनु, रगत जमाउने कोषिकाको मात्रा कम हुनु, अत्यधिक पेट दुख्नु, जन्डिस देखिनु, मुटुको चाल र काम गर्ने क्षमतामा ह्रास आउने लक्षण देखिन्छ । यस्तोमा तत्काल आईसीयूमै राखेर उपचार प्रक्रिया सुरु गरिहाल्नुपर्छ ।

ईसीयूमा किन ?

यो समस्या भएकालाई आईसीयूमा राखेर उपचार गरिन्छ । किनकि बिरामीको ग्लुकोज, छालामा परिवर्तन, रक्तचाप घट्ने र पिसाबको दर घटेको हुन्छ । यस्तोमा नजिकैबाट चिकित्सकको निगरानीमा राखेर रक्तचाप, ग्लुकोजको स्तर बढाउने औषधि, स्लाइन पानी दिएर राखिन्छ ।

पहिचान तथा उपचार

सेप्सिसको पहिचान लक्षणबाट नै पत्ता लाग्छ । यसको यकिन गर्न र कुन जीवाणुले सेप्सिस गराएको हो भने पत्ता लगाउन रगत र पिसाब परीक्षण आवश्यक पर्छ ।

सेप्सिसको कारण पत्ता लगाउन रगत परीक्षण गरेर रिपोर्ट आउन ४८ घण्टा लाग्छ । सो अवधिसम्म पर्खिएर उपचार गर्दा ढिला हुने हुँदा सेप्सिसको लक्षण देखिने बित्तिकै प्राय: केसमा बोर्ड स्पेक्ट्रम एन्टिबायोटिक दिइन्छ । बोर्ड स्पेक्ट्रम एन्टीबायोटिकले कैयौं ब्याक्टेरिया र फंगललाई मार्न सक्छ । साथै, लक्षण अनुसारको उपचार पनि आवश्यक पर्छ ।

उपचार नपाए के कस्ता जटिलता देखिन्छ ?

सेप्सिसको उपचार नै नभए अंगहरुले एकपछि अर्को गर्दै बिस्तारै काम गर्न छाड्छ । जसकारण ज्यान जान सक्छ ।

यदि चिकित्सकले बिरामीको मृत्युका कारण संक्रमण फैलिएर भएको जवाफ दिएमा बिरामी सेप्सिसको सिकार भएको छ भनेर बुझ्न सकिन्छ ।

रोकथाम

– हात धुनेसहित सरसफाइमा ध्यान दिनुपर्छ ।

– काटेको तथा अन्य घाउ सफा राख्नुपर्छ । धारिलो फलामको हतियारले काटेको अवस्थामा टिटानसको खोप लगाउनुपर्छ ।

– संक्रमणको शंका भएमा तुरुन्तै पहिचान तथा उपचार गर्नुपर्छ ।

– बालक र वृद्धमा ज्वरो, रुघाखोकी र निमोनिया भए घरेलु उपचारभन्दा पनि तत्काल चिकित्सकलाई देखाई उपचार गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?