+
+

बाँकेमा वन नजिकैको गाउँलाई बचाउन तारजाली

रासस रासस
२०८१ भदौ ३० गते १२:०२
फाइल फोटो ।

३० भदौ, नेपालगञ्ज । बाँकेको वन नजिकै बसोबास भएको गाउँलाई वन्यजन्तुबाट बचाउन तारजाली लगाइएको छ । मानव वन्यजन्तुबीचको द्वन्द्व रोक्न र स्थानीयका विभिन्न बालीमा नोक्सानी हुन नदिन बाँकेका तीन सामुदायिक वनमा उक्त तार जाली लगाइएको हो ।

शमशेरगञ्ज सब डिभिजन वन कार्यलयका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जिल्लाको राप्तीसोनारी गाउँपालिकामा रहेका अशोक सामुदायिक वन उपभोक्ता समूह, जनकल्याण सामुदायिक वन उपभोक्ता समूह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहमा तार जाली लगाइएको जानकारी दिए ।

‘वनसँग जोडिएका धेरै गाउँ छन्, तर अहिले चार गाउँलाई ध्यान दिएर तारजाली गरेका हौं, बजेट थप भएपछि अझै विस्तार गरिनेछ’, सुवेदीले भने । जनमुखी सामुदायिक वनको तीनतर्फ वन भएको र बीचमा गाउँ रहेको उल्लेख गर्दै सुवेदीले सो स्थानमा बदेलको आतङ्क रहेको उनले बताए ।

वन अधिकृत सुवेदीले बाँके राष्ट्रिय निकुञ्ज नजिकका तीन सामुदायिक वन उपभोक्ता समूहका वन क्षेत्रभित्र पर्ने कम्दी जैविक मार्ग अन्तर्गतका मानव बस्तीका चार सयभन्दा बढी घरधुरी लाभान्वित हुने गरी तारजाली लगाइएको बताए । तीन सामुदायिक वनका वन क्षेत्र र बस्तीबीच तीन हजार आठ सय ५० मिटर लम्बाइ रहेको तारजाली जडान गरिएको उनले उल्लेख गरे ।

त्यसबाट चार सय ६७ स्थानीय घरधुरी लाभान्वित भएको वन अधिकृत सुवेदीको भनाइ छ । तारजाली जडान कार्यक्रमअन्तर्गत राप्तीसोनारी–२ टिकुलीपुरस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहमा एकीकृत भू–परिधि व्यवस्थापन आयोजना (इलम)सँगको समन्वयमा एक हजार पाँच सय मिटर तारजाली जडान गरिएको छ ।

१८ लाख ७८ हजार तीन सय ४० इलम र ६ लाख ७० हजार दुई सय ८९ समूहको गरी कुल २५ लाख ४८ हजार ६२९ रुपैयाँको लागतमा उक्त तारजाली निर्माण गरिएको उनले बताए । त्यसैगरी राप्तीसोनारी–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहमा पनि इलमको सहकार्यमा तारजाली जडान गरिएको छ ।

सो वन समूहमा एक हजार पाँच सय मिटर लामो तारजाली जडान गरिएको छ । त्यसबाट एक सय ३२ घरधुरी लाभान्वित भएका छन् । इलमको १२ लाख २० हजार नौ सय ७६ र समूहको ९ लाख ५९ हजार तीन सय ३७ गरी कुल २१ लाख ८० हजार ३१३ रुपैयाँ लागतमा तारजाली निर्माण भएको वन अधिकृत सुवेदीले बताए ।

अशोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भगानुसिंह थारुले तारजाली निर्माण भइसकेपछि स्थानीय पनि सुरक्षित भएको र बालीसमेत ढुक्कसँग भित्र्याउन पाएकामा खुशी व्यक्त गरे । उनले तारजाली हुनुभन्दा पहिले बाघ, बँदेल, स्याल तथा वनबिरालो लगायतका जनावरबाट क्षति व्यवहोर्नुपरेकाले अहिले त्यसबाट छुटकारा मिलेको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?