
काठमाडौं । अभिनेत्री नन्दिता केसीले पहिलो सन्तानलाई स्वागत गर्दैछिन् । इन्स्टाग्राम मार्फत श्रीमानसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले आफू आमा बन्न लागेको जनाएकी हुन् ।
‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई भाग्यमानी महसुस गरिरहेका छौं’ नन्दिता लेख्छिन्, ‘भगवानको आशीर्वाद र मातापिताको साथमा आफन्तजन र सम्पूर्ण शुभचिन्तकको आशीर्वादलाई शिरोपण गर्दैछौं ।’
उनले आफू आमा बन्न लागेको जानकारी दिन लागेको उक्त पोस्टरमा आमा र नारीलाई सृष्टिकर्ता भन्दै प्रशंसा गरेकी छन् । उनको पोस्टमा अन्य सेलिब्रेटीले पनि बधाई र शुभकामना दिइरहेका छन् ।
फोटोमा नन्दिताले ‘सुन टु वि ममी’ र उनका श्रीमानले लगाएको टिसर्टमा ‘सुन टु वि ड्याडी’ लेखिएको छ । अर्को एक तस्वीरमा उनले सासु र ससुरासँगको फेमिली फोटो पोस्ट गरेकी छन् । नन्दिता पछिल्लो समय अमेरिकामा बस्दै आएकी छन् ।
गत वर्ष फागुन १९ गते उनले अरविन्द्र नामका युवकसँग विवाह गरेकी थिइन् । उनीहरू लामो समयदेखि अमेरिका बस्दै आएका छन् । नन्दिताले ‘हामी तीन भाइ’, ‘भगवान सबैको’, ‘सपना’, ‘माया नगर’ लगायत दुई दर्जन बढी फिल्म अभिनय गरेकी छन् ।
प्रतिक्रिया 4