+
+
सुधीर शर्माका पुस्तक :

पोताला दरबारमा गुन्जिएको थियो-नेपाली अघि बढ क्रान्ति झन्डा लिई

शंकर पोखरेलले भने, ‘‘मैले नेपाल–चीन सम्बन्धबारे जति पनि किताब पढेको छु, सुधीर शर्माका दुई किताबहरु ती सबैभन्दा माथि छन्’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १७:४१

३० भदौ, काठमाडौं । ११ वर्षपछि एकै साथ दुई पुस्तक लिएर पाठकसामू आएका छन्, पत्रकार सुधीर शर्मा । आइतबार राजधानीमा उनले लेखेका दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह : नेपालको भोट–चीन सम्बन्ध र भारत,’ अनि ‘हिमालपारिको हुरी : गणतन्त्रपछि फेरिएको नेपाल–चीन सम्बन्ध’ सार्वजनिक हुँदा इतिहासका विभिन्न क्षणहरुको सम्झना भयो । कुनै बेला तिब्बतमा व्यापार गर्ने पन्चवीरसिंह तुलाधर र ज्योतिलक्ष्मी शाक्यले शर्माका यी दुई पुस्तक विमोचन गरे ।

वक्ता थिए एमाले महासचिव शंकर पोखरेल, कांग्रेस महामन्त्री गगन थापा, रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्ले, अध्येता लीला न्याइचाई । उक्त कार्यक्रममा ०१५ साल चैत पहिलो साता तिब्बतको दलाई लामा निवास अर्थात् पोताला दरबारमा नेपालीहरुले गुन्जाएको क्रान्ति गीतको पनि चर्चा भयो । नेपालले चीनसँग कुनै समय युद्ध गरेको, कहिले मित्रता गरेको, अनि तटस्थता देखाएका विभिन्न कालखण्ड त्यहाँ स्मरण गरिए ।

शर्माले पहिलो पुस्तक भिक्षु, व्यापार र विद्रोहमा लेखे अनुसार ०१५ मा भाकोर बस्तीमा तिब्बती विद्रोहीसँग २४ घन्टाको भिडन्तपछि चिनियाँ पक्षले पोताला दरबारमा रातो झन्डा फहरायो । तिब्बती बौद्धमार्गीहरुका आस्थाका केन्द्र दलाई लामा त्यहाँ बस्ने गर्थे । उनले ०१५ चैत ४ गते नै दरबार छाडिसकेको तिब्बतीहरुलाई पत्तै थिएन ।

शर्माले तिब्बतमा रहँदै आएका प्रज्ञारत्न तुलाधरलाई उद्धृत गर्दै पुस्तकमा लेखेका छन्,’नेपालीहरुले सुनाएको वि.सं ००७ सालको क्रान्तिताकाको नेपाली, अघि बढ क्रान्तिको झन्डा लिई गीत गाउँदा चिनियाँहरु बहुत खुसी भए, ताली बजाए ।’

उक्त गीत तारिणीप्रसाद कोइरालाले लेखेका हुन्, जसलाई नेपाल प्रजातन्त्र रेडियोमा रानुदेवी अधिकारीले गाएकी थिइन् । यसरी नेपालको क्रान्ति गीत चिनियाँ क्रान्ति दिवसमा पनि गुन्जिएको थियो ।

शर्माको पुस्तकमाथि बोल्दै एमाले महासचिव शंकर पोखरेलले प्राचीन कालदेखिको नेपाल–चीन सम्बन्धबारे दुई पुस्तकले धेरै तथ्यहरु बाहिर ल्याएको बताए । ‘नेपाल परापूर्वकालदेखि नै भारतनिर्भर थियो भन्ने भाष्य खडा गरिएको छ, त्यो सत्य होइन भनेर यो किताबले धेरै तथ्यहरु राखिदिएको छ,बरु तिब्बतसँगको व्यापार उतारचढाव हुँदा काठमाडौंको समृद्धिमा उतारचढाव हुने गरेको , साँस्कृतिक सम्बन्ध पनि धेरै भएको देखिन्छ,’ पोखरेलले भने, ‘मैले नेपाल–चीन सम्बन्धबारे जति पनि किताब पढेको छु, सुधीर शर्माका दुई किताबहरु ती सबैभन्दा माथि छन् ।’

कांग्रेस महामन्त्री गगन थापाले नेपाल चीन सम्बन्धको प्रसंग आउँदा कि त अन्ध प्रशंसक, कि त पूर्वाग्रही भएर प्रस्तुत हुने गरेको कतिपय परिवेशमा शर्माले असाध्यै सन्तुलित र वस्तुनिष्ठ विवेचना गरेको भन्दै प्रशंसा गरे । थापाले इतिहासदेखि वर्तमानसम्मका पात्रहरुलाई शर्माले उनीहरुको काम अनुसारको मूल्यांकन गर्न सफल भएको पनि बताए ।

‘बीपी कोइरालाले अडान लिने हुँदा सुरुमा माओलाई बीपी मन परे पनि पछि महेन्द्र पो ठीक रहेछन् भन्ने परेकाले बीपीको राष्ट्रिय अडान त्यहाँ देखिन्छ,’ थापाले भने, ‘महेन्द्रलाई राष्ट्रवादी भनिए पनि उनको कूटनीतिमा रहेका विरोधाभास लेखक शर्माले औंल्याउनुभएको छ, एमाले र माओवादीबीचको एकतापछि बनेको नेकपा निर्माणमा चीनले देखाएको उत्ताउलोपना समेत पछिको फुटको कारक रहेकोबारे पुस्तकमा लेखिएको छ ।’

रास्वपा उपसभापति स्वर्णिम वाग्लेले शर्माको इतिहास वर्णन पढ्दा कुनै रोमान्चक उपन्यास पढेजस्तो अनुभूति हुने बताए । आफूले एकै श्वासमा पढिसिध्याएको भन्दै उनले शर्माको लेखन असाध्यै राम्रो, शोध गरिएको, अनि आफैं लेखक एउटा यात्री बनेर हिँडेकाले त्यसको झल्को पन किताबमा मिलेको प्रशंसा गरे ।

‘ल्हासा व्यापारको वैभवले काठमाडौं बनेको तथ्य किताबमा छ, इतिहासमा हाम्रा नेताहरुले गरेका राम्रा पक्ष र कमजोरी पनि उहाँले खुलेर लेख्नुभएको छ,’ वाग्लेले भने, ‘कोदारी राजमार्ग बनाउने चिनियाँ प्रस्ताव बीपीले स्वीकार्नुहुन्न, महेन्द्रले स्वीकार्नुहुन्छ । जबकि सगरमाथा, सिमानालगायत विषयमा बीपीले राम्रो अडान राख्नुहुन्छ, महेन्द्रले राख्नुहुन्न भन्ने तथ्य किताबमा छन् ।’

चीन अध्येता लीला न्याइच्याइले शर्माले एउटा पत्रकार राम्रो इतिहासकार पनि बन्न सक्छ भनेर प्रमाणित गरेको भन्दै तारिफ गरिन् । शर्माका यी दुई पुस्तकमा शिलालेख, साहित्य, तस्वीर, पत्र आदिमार्फत् भएका सार्वजनिक कूटनीति र जनस्तरीय सम्बन्ध वर्णन गरिएको बताइन् । ‘उहाँको लेखन कलाले गर्दा इतिहास पनि पढौं-पढौं लाग्ने भएको छ,’ न्याइच्याइले भनिन्, ‘चीन बुझ्नका लागि पढ्नै पर्ने पुस्तक हुन् यी ।’

किताब पब्लिसर्सले प्रकाशित गरेका यी दुई पुस्तक आइतबारदेखि नै आम पाठककहाँ पुगिसकेको जानकारी प्रकाशक कल्पना ढकालले दिइन् । लेखक शर्माले यसअघि प्रयोगशाला, नेपाल नेक्सस पुस्तक लेखिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?