+
+

किन उच्च दरले उकालो लागिरहेको छ सुनको भाउ ?

यतिबेला फेरि अमेरिकाको ब्याजदरले प्रभाव पारेको छ । अमेरिकामा ब्याजदर घट्ने चर्चापछि विश्वका धेरै लगानीकर्ताले सुनमा लगानी केन्द्रित गर्दा मूल्य उचालिएको हो ।

कमल नेपाल कमल नेपाल
२०८१ भदौ ३० गते १७:५९

३० भदौ, काठमाडौं । यतिबेला सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार मूल्य प्रतिऔंस २ हजार ५ सय ७७ अमेरिकी डलर छ, यो हालसम्कै उच्च हो । एक औंस भनेको २.४३ तोला हो ।

यसको प्रभावले नेपाली बजारमा तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भयो । नेपाली बजारको मूल्य पनि यो इतिहासकै उच्च हो ।

सुनको भाउ बारम्बार केही न केही कारण उकालो लागिरहेको व्यवसायी बताउँछन् । युक्रेनमाथि रुसको हमला र त्यसपछिको अन्तर्राष्ट्रिय द्वन्द्व, इरान र इजरायल द्वन्द्व, अमेरिका सहित विश्वका धेरै मुलुकको अर्थतन्त्र शिथिल हुनु लगायत कारण सुनको भाउ बढ्दै गयो ।

‘अन्तर्राष्ट्रिय स्तरमा द्वन्द्व बढ्दा सुनको मूल्य बढ्ने गरेको छ’ महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले भने ।

यतिबेला फेरि अमेरिकाको ब्याजदरले प्रभाव पारेको छ । अमेरिकामा ब्याजदर घट्ने चर्चापछि विश्वका धेरै लगानीकर्ताले सुनमा लगानी केन्द्रित गर्दा मूल्य उचालिएको हो ।

बेलायती सञ्चारमाध्यम रोयटर्सका अनुसार यो साता नै अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाउँदैछ । यसको असर सुनको भाउमा परेको छ ।

फेडले तीन दिनपछि (१७ वा १८ सेप्टेम्बर) कम्तीमा ०.२५ तथा बढीमा ०.५० प्रतिशत बिन्दुले सन्दर्भ ब्याजदर घटाउने अनुमान छ । हाल फेडको सन्दर्भ ब्याजदर सीमा ५.२५ देखि ५.५० प्रतिशत छ ।

‘हामी न्यून ब्याजदरतर्फ अघि बढिरहेका छौं, त्यसैले सुनमा लगानी आकर्षण बन्दै गएको छ,’ एलिजेन्स गोल्डका प्रमुख सञ्चालन अधिकृत (सीओओ) एलेक्स एबकारियनले रोयटर्ससँग भने ।

अहिले सुनको भाउ बढ्नुको प्रमुख कारण नै अमेरिकी ब्याजदर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य बताउँछन् ।

‘केही दिनमै अमेरिकाले ब्याजदर घटाउने भएको छ, यसले लगानीकर्ता सुनतिर आकर्षित भएका हुन्,’ उनले भने ‘अर्कातर्फ, विभिन्न देशले सुन भण्डारण पनि बढाए, त्यसले अहिले आपूर्तिमा प्रभाव परेको छ ।’

यो पटक मात्रै नभई क्रमिक रूपमा अमेरिकाको ब्याजदर घट्दै जान सक्ने भएकाले सुनको भाउ अझै बढ्दै जाने अनुमान छ । स्टक मार्केट वा कमोडिटी मार्केटले सम्भावित कारणअघि नै प्रतिक्रिया जनाइ सक्ने भएकाले ब्याजदर घट्नुअघि नै कमोडिटी बजारमा सुनको भाउमा प्रभाव परेको रोयटर्सले उल्लेख गरेको छ ।

समय क्रममा नै विश्व जटिलता आइरहँदा सुनको भाउ बढिरहेको र एकपछि अर्को रेकर्ड बनिरहेको शाक्य बताउँछन् ।

भूराजनीतिक तनाव बढ्दा विश्वका केन्द्रीय बैंक र ठूला लगानीकर्ताले समेत सुनमा लगानी बढाउने गरेको शाक्य बताउँछन् ।

‘विश्वभरि आर्थिक गतिविधिमा सुस्तता देखिएकाले औद्योगिक तथा अन्य उत्पादन क्षेत्रतर्फ लगानी जान सकेन, उक्त लगानी पनि सुनमै हुन थालेपछि मागसँगै भाउ बढ्यो,’ उनले भने ।

चाडपर्वका बेला बजार सुनसान

भाउ बढेपछि सुनचाँदी बजार पनि सुनसान भएको महासंघले जनाएको छ । ‘यसमा तिजमा पनि सुनको व्यापार राम्रो हुन सकेन, दसैं नजिकिँदो छ तर अहिले पनि स्थिति त्यस्तै देखिएको छ,’ बज्राचार्यले भने, ‘तिजको सिजनमा पनि दैनिक औसत १० किलो सुनको कारोबार देखिएको थियो ।’

एक वर्ष अघिसम्म दैनिक १० किलोका दरले सुनको माग धान्न नसकेको भन्दै व्यवसायीले कोटा बढाउन राष्ट्र बैंकलाई दबाब दिएका थिए । असोज २०८० देखि राष्ट्र बैंकले पनि कोटा बढाएर दैनिक २० किलो सीमा निर्धारण गर्‍यो । तर, अहिले भने दैनिक १० किलो पनि बिक्री नभएको बज्राचार्यको भनाइ छ ।

व्यवसायीले भारतबाट अवैध कारोबार बढेको शंका गरेका छन् । नेपाल र भारतको बजेटले दुई देशबीच सुनको मूल्यान्तर उच्च हुन पुगेको छ ।

‘अहिले भारतभन्दा नेपालमा सुनको मूल्य तोलामा करिब २० हजार रुपैयाँ महँगो हुन पुगेको छ,’ बज्राचार्यले भने, ‘यसले गर्दा सीमा नजिक रहेका सुनचाँदी बजार त झन् सुनसान छन् ।’

यदि भारत र नेपाली बजारमा सुनको भाउ समान जस्तै बनाउने हो भने मात्रै व्यवसायीलाई पनि राहत हुने र सरकारलाई पनि राजस्व बढ्ने बज्राचार्य बताउँछन् ।

बजारमा माग घटेसँगै आयात नै घटेको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९३ करोड रुपैयाँ बराबर सुन आयात भएको छ । जबकि, २०७९/८० मा ४३ अर्ब ८८ करोडको आयात भएको थियो । भाउ बढ्दा पनि रकममा सुन आयात उच्च दरले घटेको देखिन्छ ।

एक वर्षमै ३९ प्रतिशत महँगियो सुन

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा एक वर्षमै सुनको भाउ ३४ प्रतिशतले महँगिएको छ । १५ सेप्टेम्बर २०२३ मा प्रतिऔंस १ हजार ९ सय २० डलर रहेको सुन ठिक एक वर्षमा १ हजार ८ सय २५ डलर छ । नेपाली बजारमा भने सुनको मूल्य एक वर्षमा ३९ प्रतिशत अर्थात् तोलाको ४४ हजार बढेको छ ।

३१ भदौ २०८० मा सुनको भाउ १ लाख १२ हजार ३ सय रुपैयाँ रहेकोमा अहिले १ लाख ५६ हजार ८ सय पुगेको महासंघको तथ्यांक छ ।

कुन देशसँग कति छ सुन ?

विश्वका केन्द्रीय बैंकहरूले सुन भण्डारण गर्ने गर्छन् । ट्रेडिङ इकोनोमिक्सको तथ्यांक अनुसार जुन २०२४ सम्म अमेरिकाकोज सुन भण्डारण सबैभन्दा धेरै छ । योे अवधिसम्म अमेरिकाले ८ हजार १ सय ३३ टन सुन भण्डारण गरेको छ ।

त्यसपछि क्रमशः जर्मनी, इटाली, फ्रान्स, रुस, चीन, स्वीट्जरल्यान्ड, जापान, भारत र नेदरल्यान्ड्स प्रमुख १० देशभित्र पर्छन् । यो तथ्यांक अनुसार नेपालसँग ७.९९ टन सुन मौज्दात छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?