+
+

आइफोनले खिचिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १८:०४

काठमाडौं । आइफोनले खिचिएको नेपाली कथानक फिल्म ‘अ प्लेस अन्डर द सन’लाई प्रिमियर गरिएको छ । केही नेपाली फिल्ममेकरको उपस्थितिमा सुन्धारास्थित सीडीसी हलमा फिल्मलाई प्रदर्शन गरियो ।

प्रिमियरमा उपेन्द्र सुब्बा, शैलेन्द्र कार्की, यश कुमार, सुवर्ण थापा, सचिन घिमिरे, प्रवीण खतिवडा र अभय बराल सहभागी थिए ।

आइफोन-१४ प्रो म्याक्सले खिचिएको फिल्मलाई ‘अनन्त’ फेम्ड जेसन लोप्चनले निर्देशन गरेका हुन् । यो उनको दोस्रो निर्देशकीय फिचर हो । अस्कर फिल्म कलेजका विद्यार्थी मिलेर यो फिल्म बनाएका हुन्, जसलाई हलमा प्रदर्शनको तयारी छ ।

वान स्क्वाड फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा मीन घलान, मीरा गुरुङ, प्रवेश एमसी, विप्लव गौली, अंशु शर्मा र प्रज्वन पौडेलको अभिनय छ । सीडीसी हलकै वितरणमा यो फिल्म हलमा समेत प्रदर्शन हुने भएको छ ।

फिल्मलाई प्रवीण लिम्बूले छायांकन गरेका हुन् । ‘आइफोनले खिचिएपछि ठूला फिल्मको जस्तो दृश्यको गुणस्तर यसमा कायमै छ’ छायांकार लिम्बूले भने, ‘कहींकतै पनि फोनले खिचिएको महसुस कतै हुँदैन ।’

फिल्मले बाल्यकालका तीन जना मिल्ने साथीको कथा भन्छ । क्राइम-ड्रामा जनरामा फिल्म बनेको हो । तीनजना साथीको बीचमा अचानक एक अपरिचित व्यक्ति आइपुग्छ । तीनजनाले त्यो व्यक्तिलाई चिन्दैनन् तर तीन जनालाई त्यो व्यक्तिले चिन्छ । त्यो मान्छे त्यहाँ किन आयो ? यस वरपर कथा घुमेको छ ।

निर्देशक लोप्चनले आइफोन-७ ले खिचिएको हलिउड निर्देशक स्टिभन स्पिलवर्गको फिल्म ‘अनसेन’ फिल्म हेरेपछि आफूलाई पनि आइफोनले फिल्म खिच्ने अवधारणा बनेको बताए । ‘मलाई त्यो फिल्म साह्रै मनपरेको थियो र मेरो मनमा बसेको थियो’ उनले भने ।

यो फिल्मलाई आगामी हिउँदमा हलमा रिलिज गर्ने तयारी छ । निर्देशक लोप्चनले सन् २०२२ मा फिल्म ‘अनन्त’ निर्देशन गरेका थिए, जुनमा कार्म, लक्ष्मी बर्देवा, निश्चल बस्नेत लगायतले अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?