+

डेभिड वार्नरलाई एनपीएल खेलाउन नेपाल ल्याउने पहल

२०८१ भदौ  ३० गते १८:१६ २०८१ भदौ ३० गते १८:१६
डेभिड वार्नरलाई एनपीएल खेलाउन नेपाल ल्याउने पहल

३० भदौ, काठमाडौं । विश्व क्रिकेटका सुपरस्टार अष्ट्रेलियाका डेभिड वार्नरलाई नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ खेलाउन नेपाल ल्याउने तयारी भएको छ ।

वार्नरलाई नेपाल ल्याउन एनपीएलको फ्रेन्चाइज टोली लुम्बिनीले कुराकानी अगाडि बढाइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विदेशी खेलाडी ल्याउने जिम्मा फ्रेन्चाइज टोलीलाई नै दिएपछि क्लबहरु आफैंले विश्वका स्टार क्रिकेटरहरुसँग छलफल गरिरहेका छन् ।

‘हामीले वार्नरसँग एक पटक कुराकानी गरेका थियौं । उनी नेपाल आउन सकरात्मक थिए’, लुम्बिनीको स्वामित्व किनेको फरच्युना हेल्थ केयर प्रालिका प्रबन्ध सञ्चालक ईश्वर जिसीले अनलाइनखबरसँग भने ।

तर वार्नरले नेपाल आउन भने केही शर्त राखेका छन् । वार्नरले यो लिगमा को को खेल्छन् भनेर प्रश्न गरेको ईश्वर बताउँछन् । उनले विश्वप्रसिद्ध खेलाडी आएमा आफू पनि आउन सक्ने जवाफ दिएको बताएका छन् । यो कुराकानी एजेन्ट मार्फत गरेको जिसी बताउँछन् ।

टिम छनोट अक्सनमा फरच्युना हेल्थ केयरले लुम्बिनीको स्वामित्व १ करोड ८६ लाखमा किनेको थियो । शनिबार भएको ८ मार्की खेलाडीको लक्की ड्र मा नेपालका कप्तान रोहित पौडेललाई पाएको थियो ।

गत जुनमा आईसीसी टी–२० विश्वकपमा भारतसँग पराजित भएसँगै वार्नरले सन्न्यास लिएका थिए । बायाँ हाते ब्याटर वार्नर विश्व क्रिकेट कै एक सफल ओपनरमा पर्दछन् । विशेषगरी उनी आक्रामक ब्याटिङलाई चिनिने गर्छन् ।

वार्नरले अष्ट्रेलियाबाट ११२ टेस्ट, १६१ ओडीआई र ११० टी–२० आई खेल खेलेका छन् । ३८५ टी–२० खेलमा उनले ८ शतक र १०४ अर्धशतकसहित १२ हजार ४११ रन बनाएका छन् ।

अष्ट्रेलियाबाट ११० टी–२० आईमा १ शतक र २८ अर्धशतकसहित ३ हजार २७७ रन बनाएका छन् । अष्ट्रेलियाले सन् २०२२ को टी–२० विश्वकप फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जित्दा वार्नर प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।

सन् २०१५ मा अष्ट्रेलियाले विश्वकप जित्दासमेत उनी टोलीका सदस्य थिए । २०२१ को एभरेष्ट प्रिमियर लिगमा पाकिस्तानका शाहिद अफ्रिदीले काठमाडौं किंग्स–११ बाट १ खेल खेलेर फर्केका थिए ।

उनी दुई खेलको लागि नेपाल आएपनि एउटा वर्षाको कारण हुन सकेको थिएन । अफ्रिदी नेपाली फ्रेन्चाइज लिग खेल्ने हालसम्मका ठूला नाम गरेका विदेशी खेलाडी हुन् ।

डेभिड वार्नर
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय