+
+

कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने प्रचण्ड संकल्पको अन्तर्य

पछिल्लो महिनाभरका घटनाक्रम, निर्णय र अभिव्यक्तिले प्रचण्डले पार्टीमा उठेको आवाज जस्तो अध्यक्ष छोडिहाल्ने संकेत नदिएको प्रष्ट हुन्छ । भाषणहरु सुन्दा बाँचुञ्जेल अध्यक्ष रहने र मरेपछि पनि जनताले सम्झनेगरी राजनीतिक एजेण्डा सिर्जना गर्ने उनको सन्देश हो ।

सइन्द्र राई सइन्द्र राई
२०८१ भदौ ३० गते २१:२३

३० भदौ, काठमाडौं । शनिबार मोरङमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प लिएको बताएका छन् ।

बाँचुञ्जेल जनताको सेवा गर्ने र मरेपछि पनि कर्मले सयौं वर्षसम्म बाँचिरहने राजनीतिज्ञ बन्ने संकल्प लिएको उनले बताए ।

‘भनिन्छ एउटा असल राजनीतिज्ञ बाँचुञ्जेल बाँचेर जनताको सेवाका निम्ति समर्पित रहन्छ, मरेपछि पनि आफ्नो कर्मले सयौं वर्षसम्म जनताको सेवा गरिराख्छ, राजनीतिज्ञ कहिल्यै मर्दैन’, प्रचण्डले भने, ‘मैले कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प लिएको छु ।’

एक महिना लामो देश दौडाहाको अन्त्यतिर रहेका प्रचण्डले कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प गर्नुलाई संयोग मात्र मान्न सकिन्न । किनकि पूर्वनिर्धारित कार्यक्रमहरुमा सहभागी भइरहेका प्रचण्डले लगातार पार्टी अध्यक्षमा आफू रहिरहनुको औचित्यबारे बोल्दै आएका छन् ।

३६ वर्षदेखि पार्टी प्रमुख रहेका प्रचण्डलाई आफ्नो नेतृत्वको औचित्यबारे बोल्नुपर्ने बाध्यता भने उपमहासचिव जनार्दन शर्माले सिर्जना गरेका हुन् । धोबीघाट गठबन्धन पछिका १४ वर्षसम्म चुनौतीरहित पार्टी चलाएका प्रचण्डलाई गत २६ साउनको स्थायी समिति बैठकमा शर्माले गम्भीर आरोपसहित नेतृत्व छोड्न प्रस्ताव गरेका थिए ।

शर्माको प्रस्तावमा प्रचण्डले नेतृत्व छोड्ने तीन विकल्प छन् । पहिलो– प्रचण्डले चाहेकै व्यक्तिलाई अध्यक्ष बनाउने, दोस्रो– तेस्रो पुस्ताका नेतालाई अध्यक्ष बनाएर प्रचण्डसहितका पदाधिकारीहरु सल्लाहकार अथवा कुनै भूमिकामा रहने र तेस्रो– महाधिवेशनबाट निर्वाचित भएर आउनेले पार्टीको नेतृत्व गर्ने ।

पार्टी अध्यक्ष फेर्ने तीन प्रस्ताव राखिरहँदा उपमहासचिव शर्माले प्रचण्डलाई विचारको काम गरेर अरू दुई सय वर्ष बाँच्न सक्ने जग सिर्जना गर्न पनि सुझाव दिएका छन् । ‘वैचारिक काम गरेर प्रचण्ड दुई सय वर्ष पर बाँच्नु पर्‍यो । मानिस विचारले बाँच्ने हो । भौतिक शरीरले बाँच्ने त हुँदैन’, अनलाइनखबरसँगको अन्तर्वार्तामा शर्माले भनेका थिए ।

शर्माको सुझाव जस्तै शनिबारसम्म (२९ भदौ) आइपुग्दा प्रचण्डले पनि आफू कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने संकल्प लिएको घोषणा गरे । तर नेतृत्व छोड्ने कुनै संकेत गरेनन् ।

बरु अझ बढी दौडिने, कुद्ने र आगामी आमचुनावबाट पार्टीलाई सरकारको नेतृत्व गर्न सक्ने शक्ति बनाउने घोषणा गरिरहेका छन् । ‘अहिले म जीवनको उत्तरार्धतिर छु, तर किन हो मलाई अलि बढी जोश आउन थालेको छ’, शनिबारकै कार्यक्रममा प्रचण्डले भने, ‘मलाई साथीहरुले कति धेरै दौडेको भन्न थाल्नुभएको छ, यहाँ पनि नआएको भए हुन्थ्यो भन्नुहुन्थ्यो, तर म आएको छु, मलाई जोश आएकै छ ।’

पछिल्लो महिनाभरका घटनाक्रम, निर्णय र अभिव्यक्तिले पनि प्रचण्डले पार्टीमा उठेको आवाज जस्तो अध्यक्ष छोडिहाल्ने संकेत नदिएको प्रष्ट हुन्छ । भाषणहरु सुन्दा बाँचुञ्जेल अध्यक्ष रहने र मरेपछि पनि जनताले सम्झनेगरी राजनीतिक एजेण्डा सिर्जना गर्ने प्रचण्डको सन्देश हो ।
यस्तो सन्देश दिन प्रचण्डले स्थायी समिति बैठक चलिरहेकै समयमा तीन निर्णय लिएका थिए ।

पहिलो, बैठक सञ्चालन विधि परिवर्तन हुनु । पदाधिकारी र स्थायी समिति बैठकपछि केन्द्रीय समिति बोलाउने तयारी थियो ।

तर जनार्दन शर्माले एकाएक नेतृत्व फेर्ने प्रस्ताव स्थायी समितिमा पेश गरेपछि केन्द्रीय समितिको साटो प्रचण्डले प्रदेशहरुको बैठक राखे । केन्द्रीय समितिका सदस्यहरुसँग सानो समूहमा अलग–अलग भेट्ने, कुरा राख्ने र छलफल हुने मापदण्ड बनाएर प्रदेश परामर्श बैठक चल्न थाल्यो । हरेक बैठकमा प्रचण्ड सहभागी भएर बोले ।

दोस्रो, बैठक चलिरहेकै बेला माधव नेपाल र नेत्रबिक्रम चन्द विप्लवको पार्टीसँग एकताको हतारो देखिनु । पेरिसडाडाँमा स्थायी समिति बैठक चलिरहँदा प्रचण्डले माधव र विप्लवसँग अनेक प्रलोभन सहित तत्काल पार्टी एकताको सम्वाद गरिरहेका थिए । कतिसम्म भने संसदीय दल एकता गरेर माधवलाई दलको नेता चुन्ने र भावी प्रधानमन्त्री बनाउनेबारे वकिलहरुसँग परामर्श लिएका स्रोतहरुको दाबी छ ।

तर प्रचण्डको रणनीति बुझेका माधव नेपाल र विप्लव दुवैले एकताको निर्णय गर्न सकेनन् । दुवै नेताले समाजवादी मोर्चा बलियो बनाएर जाँदा भविष्यमा एकतासम्म पुग्न सकिने आधार तयार हुने तर्क राखे । जबकी प्रचण्डलाई तत्काल एकता चाहिएको थियो, जसले जनार्दनको प्रस्ताव कमजोर बनाउँथ्यो ।

जनार्दनको प्रस्ताव अस्वीकार गर्ने प्रचण्डको तेस्रो निर्णय थियो, पार्टी विभाजनको प्रचार । पार्टी बैठकमा प्रचण्डले नेतृत्व छोड्नुपर्ने प्रस्ताव प्रस्तुत भएको थियो, तर प्रचण्डले ‘जनार्दनले अब पार्टी नफुटाउने भए’ भन्ने निष्कर्ष प्रचार गरे ।

यस्तो प्रचार गर्नुलाई जनार्दनले प्रचण्डको पुरानै शैली भनेका थिए, ‘स–साना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले (फुटको प्रचार) काम गरेको छ ।’

जनार्दन शर्माले पार्टी फुटाउँदैछ भन्ने प्रचार आठौं राष्ट्रिय महाधिवेशनपछि सुरु भएको नेताहरू बताउँछन् । २०७८ पुसमा सम्पन्न त्यो महाधिवेशनपछि शर्माले महासचिव दाबी गरेका थिए । तर महासचिव बने, देव गुरुङ ।

महासचिव पदका बलिया दाबेदार जनार्दन शर्मा र वर्षमान पुन सहित नेताहरु उपमहासचिव मनोनीत भए । बलिया प्रतिस्पर्धी पन्छाएर प्रचण्डले आफू अनुकुल गुरुङलाई महासचिव मनोनीत गरिएपछि शर्मा र पुन नजिकिए । जसको परिणाम शर्माले शान्ति प्रक्रियापछि लगातार ओरालो लागेको माओवादीको हैसियत उकास्न प्रचण्डले अध्यक्ष छोड्नुपर्ने लिखित प्रस्ताव बैठकमा पेश गरे ।

शर्माको तर्कलाई मान्दा पनि प्रचण्डको ‘राजनीतिक अमरत्व’ अहिलेकै शैली र तरिकाको माओवादीबाट सम्भव छैन । सत्ताको पिङमा अल्झिरहेको माओवादीको निकट विगत हेर्दा समेत शर्माको प्रस्ताव गलत प्रमाणित हुँदैन ।

तर प्रचण्ड भने पुरानै शैलीको रणनीति, प्रचार र दौडधुपमार्फत् आफू अध्यक्षमा रहिरहनुपर्ने औचित्य पुष्टि गर्न खोजिरहेका छन् । त्यसका निम्ति स–साना कार्यक्रममा सहभागी हुने, फिजिकल फिट्नेसको सन्देश जानेगरी भिडियो बनाउनेदेखि लोकरिझ्याइँका प्रवृत्तिलाई समर्थन गर्नेसम्म गरिरहेका छन् ।

कुलमान घिसिङ, बालेन शाह, हर्क साम्पाङ र रवि लामिछानेहरु रहनेगरी फरक कित्ता सिर्जना गर्ने र त्यसको नेतृत्व आफूले लिने चाहना प्रचण्डमा देखिन्छ । अर्कातिर संसदमार्फत् प्रचण्डले पूर्वमाओवादीहरु एकताबद्ध हुने र त्यसको ‘सुप्रिम कमाण्डर’ आफू रहेको झल्को दिलाउन खोजिरहेका छन् ।

एमाले सचिव योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्दलाई लिएर तीन सातादेखि माओवादी सांसदहरुले आपत्ति जनाउनु र संसद् अवरोध गर्नुमा भावनात्मक पक्षलाई बढी जोड दिने काम भइरहेको छ । उक्त शब्दलाई राष्ट्रिय एजेण्डा बनाउने प्रचण्डको योजना थिएन भने सभामुख देवराज घिमिरेले छानबिन गर्ने भनेपछि केही धैर्यता देखिन सक्थ्यो ।

तर १२ भदौमा भट्टराईले प्रयोग उक्त शब्दबारे माओवादी सांसदहरुले लगातार (१३, १८, २४ र २५ भदौको बैठकमा) उठाइरहे । २६ भदौको बैठकमा सभामुख घिमिरेले संसद नियमावली, विगतका नजीर, संसद् सचिवालयका अधिकारीहरुको राय लगायतलाई आधार मानेर हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाए ।

‘..विषय प्रसंग र प्रस्तुतिलाई विचार गर्दा हिंसा भन्ने शब्द असंसदीय नदेखिएको हुँदा संसदको अभिलेखबाट हटाउनुनपर्ने जानकारी गराउन चाहन्छु’ सभामुखले यस्तो निर्णय सुनाएपछि संसद् चल्न सकेको छैन । २८ भदौमा बसेको माओवादी संसदीय दलको बैठकले ‘हिंसा’ शब्द नहटेसम्म अवरोध काम राख्ने निर्णय गरेको छ ।

यी पृष्ठभूमिका आधारमा प्रचण्डले गरेको सयौं वर्ष बाँच्ने संकल्पलाई अध्यक्ष नछोड्ने सन्देशका रुपमा बुझ्न सकिन्छ । प्रचण्डले अध्यक्ष नछोड्ने अडान लुकाएका पनि छैनन् ।

गत १६ भदौमा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘.. नेतृत्व भन्ने कुरा आन्दोलनले, इतिहासले, विचारको सहीपनाले, विचार र राजनीतिको संघर्षको बीचबाट पार्टी र जनताले बनाउने कुरा हो । कसैलाई टीको लगाएर दिइने कुरा होइन ।’

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?