+
+

माछापुच्छ्रे सहकारीको ९ करोड हिनामिना, अध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १९:४८

३० भदौ, विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा प्रहरीले संस्थाका अध्यक्ष अमलेश कर्णलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका– ७ मा कार्यालय रहेको सहकारी डेढ वर्षदेखि बन्द छ । ९५ जना बचतकर्ताको उजुरीपछि प्रहरीले आइतबार अध्यक्ष कर्णलाई पक्राउ गरेको हो ।

वचतकर्ताको उजुरी परेपछि प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले बचत फिर्ताका लागि समन्वय गरेको थियो । तर सञ्चालकबीच नै विवाद भएका कारण उनीहरुले तिर्न सकेनन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सदस्यको उजुरी आउनेक्रम जारी छ । अध्यक्ष र सञ्चालकमाथि ९ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।

सहकारी संकटमा परेपछि गत वर्ष प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गत वर्ष जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेर छानबिन गरेको थियो ।

छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैयाँमध्ये अध्यक्षसहित पाँच पदाधिकारीले ६ करोड २८ लाख ६३ हजार ८२५ रुपैयाँ अपचलन गरेको देखिएको थियो ।

सो रकमको ५० प्रतिशत पूर्व सचिव तथा व्यवस्थापक अमित कार्कीबाट उठाउनुपर्ने समितिले सुझाव दिएको थियो । बाँकी रकम अध्यक्ष अमलेश कर्ण, सञ्चालक प्रभाकर थापा र कोषाध्यक्ष राधादेवी लिम्बूबाट असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

छानबिनका क्रममा पूर्वसचिव तथा व्यवस्थापक कार्कीले मात्रै चार करोड ७३ लाख ७४ हजार रुपैयाँ हिनामिना गरेको भेटिएको थियो । कार्कीले सहकारीको रकम आफ्नो बैंक खातामा राखेर कारोबार गर्थे । दुई वटा बैंकको आफ्नो खाताबाट उनले ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको थियो ।

सहकारीका पूर्वसचिव तथा वर्तमान सञ्चालक प्रभाकर थापाले १ करोड ६० लाख ३३ हजार ४०२ रुपैयाँ, अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ र कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ अशुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दाहित्वबाट मुक्त गर्न सकिने र अपुग र नोक्सानी भएको रकम सञ्चालकले व्यहोर्नुपर्ने प्रतिवेदन दिएको थियो । सहकारीले असुल गर्नुपर्ने ऋण लगानी २ करोड ८१ लाख ६७ हजार रुपैयाँ छ ।

सहकारीको रकम व्यक्तिगत प्रयोजनमा खर्च भएपछि दुई वर्षदेखि सहकारीमा समस्या थियो । सहकारीमा समस्या आएपछि उनी भूमिगत थिए ।

कर्ण तत्कालीन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष हुन् । उनी यसअघिको दुईवटा चुनावमा विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए ।

ठगी प्रकरणमा जोडिएका सञ्चालक प्रभाकर थापा नेपाली कांग्रेस तरुण दल मोरङको पूर्व अध्यक्ष हुन् । थापाले झापाको धुलाबारीमा जग्गा खरिद गरेको देखिएको छ । छानबिन समितिले विराटनगरका बासिन्दा प्रकार थापाले झापाको धुलाबारी नगरपालिका– २ मा ४ वटा कित्ता नम्बरको १८ कट्ठा जग्गा खरिद गरेको फेला पारेको थियो ।

जसमध्ये दुई कित्ताको ९ कट्ठा जग्गा उनको श्रीमतीको जोशना वरुवालको नाममा छ । छानबिन समितिले थापा दम्पतीको जग्गा रोक्का राख्न सुझाव दिएको थियो । छानबिन समितिको प्रतिवेदन एकपक्षीय भएको भन्दै अध्यक्षसहित पदाधिकारीले एकपक्षीय भएको भन्दै स्वीकार नगर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?