+
+
लोसपा मधेशमा विवाद :

बहुमतले सोनललाई दल नेता छाने, अध्यक्षले स्पष्टीकरण सोधे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते २०:०८

३० भदौ, काठमाडौं । मधेश प्रदेशमा बहुमत सांसदले जितेन्द्र सोनललाई संसदीय दलको नेता छानेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चर्किएको छ ।

पार्टी विधान विपरीत दल नेता बनेको भन्दै अध्यक्ष महन्थ ठाकुरले सोनललाई किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेका छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभा संसदीय दलमा लोसपाका ९ सांसद छन् । संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा छन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि प्रदेशसभाले १८ वैशाख २०८१ मा शर्मालाई निलम्बन गरेको थियो ।

त्यसयता लोसपा संसदीय दल नेताविहीन छ । उपनेता उपेन्द्र महतो छन् । लामो समयसम्म दल नेता नहुँदा समस्या भएको भन्दै बहुमत (५) सांसदको बैठक १४ भदौमा बस्यो र, सोनललाई दलको नेता चुन्यो ।

जेष्ठ सदस्य जयनुल राइनको अध्यक्षमा बसेको बैठकमा रमेश पटेल, रामबाबु यादव, रमिता प्रधान र सोनल सहभागी थिए । उपनेता महतोसँगै रानी शर्मा तिवारी र रुपा यादव भने उपस्थित भएनन् ।

बैठकले सोनललाई दल नेता चयन गर्दै प्रदेशसभा सचिवालय र सभामुखलाई जानकारी गराउने निर्णय गर्‍यो । निर्णय गरेको १२ दिनपछि राइनले सभामुखलाई पत्र लेखेर संसदीय दलको नेता चयनबारे जानकारी गराए । सभामुख रामचन्द्र मण्डलले उपनेता महतोलाई सोधे, तर उनले दल नेता चयन विधान विपरीत भएकाले मान्यता नदिन आग्रह गरे । २७ भदौमा लिखित रुपमा पत्र नै बुझाए ।

महतोका अनुसार विधानमा दल नेता निलम्बनमा भएको अवस्थामा उपनेताको अध्यक्षतामा बैठक बस्ने व्यवस्था छ । दल नेता चयनका लागि प्रदेश समितिले निर्वाचन समिति बनाउने र २ वर्षसम्म दल नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने जस्ता प्रावधान संसदीय दलको विधानमा छ ।

संसदीय दलका नेता शर्मालाई दोषी ठहर गर्ने अदालतको फैसला विभेदकारी भएको दलको निष्कर्ष रहेकाले निलम्बन हुँदा पनि नहटाएको उनको दाबी छ ।

‘निलम्बन भएकै कारण दल नेताबाट हटाउनु अन्याय हुन्छ’ लोसपा संसदीय दलका उपनेता महतोले अनलाइनखबरसँग भने, ‘तर जितेन्द्र सोनलजीले महत्वकांक्षा राखेर संसदीय दलको विधान विपरीत स्वघोषित दल नेता बन्नुभयो ।’

तर बहुमत सांसदले प्रदेशसभा सचिवालयलाई सोनललाई दलको नेता बनाउने आफूहरुको निर्णयलाई मान्यता दिन दबाव दिए । त्यसपछि उपनेता महतो लगायतले पार्टीको केन्द्रीय नेतृत्व गुहारे ।

केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आइतबार मधेश प्रदेशसभाका सभामुखलाई पत्र लेखेर अभिराम शर्मालाई नै दल नेतामा निरन्तरता दिन आग्रह गरेका छन् ।

साथै उनले सोनललाई स्पष्टीकरण सोधेका छन् । पार्टी अनुशासन परम्परा र विधान विपरीत आफूखुसी संसदीय दलका नेता घोषणा गरेको भन्दै पत्रमा भनिएको छ, ‘तपाईँमाथि अनुशासनको कारबाही किन नगर्ने भन्ने यो पत्र प्राप्त भएको ३ दिनभित्र सो को कारण खुलाई लिखित जवाफ मागिएको व्यहोरा जानकारी गराउँदछु ।’ चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्कासन गर्ने ठाकुरको चेतावनी छ ।

बहुमतबाट संसदीय दलको नेता बनेका सोनलले भने पार्टी अध्यक्ष ठाकुरसँग परामर्श गरेर नै निर्णय लिएको दाबी गरेका छन् । १० महिनादेखि संसदीय दल नेतृत्वविहीन भएपछि बहुमत सदस्यहरु बसेर निर्णय गरेको भन्दै उनले भने, ‘ठाकुरजीलाई पनि बताएका थियौं । उहाँले सकेसम्म मिलाएर जानुस्, नभए ठीकै छ भन्नुभएको थियो । अहिले स्पष्टीकरण किन सोध्नुभयो थाहा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?