+
+

खाता रोक्का र फुकुवाबारे राष्ट्र बैंकले ल्यायो विनियमावली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३० गते १३:१५

३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का र फुकुवा गर्ने प्रक्रिया स्पष्ट, पारदर्शी र व्यवस्स्थित बनाउने भन्दै ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।

गत जेठमा मस्यौदा सार्वजनिक गर्दै राय–सुझाव पेस गर्न आह्वान गरेको केन्द्रीय बैंकले १३ भदौको सञ्चालक समिति निर्णयबाट विनियमावली स्वीकृत गरेको हो ।

प्राकृतिक व्यक्तिको खाता रोक्का गर्नुपरे खाता रोक्का गर्न अधिकार प्राप्त अधिकारीले कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी राष्ट्र बैंकले तोकेको बेहोरा खुलाइ राष्ट्र बैंकमा लिखित अनुरोध गर्नुपर्ने छ । त्यसपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का गर्न निर्देशन दिने छ ।

प्राकृतिक व्यक्तिको खाता रोक्का गर्नुपर्दा खाता रोक्का गर्नुको स्पष्ट कारण सहित खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीन पुस्ते विवरण समेत चाहिने प्रस्ताव गरिएको छ ।

यस्तै कानुनी व्यक्तिको खाता रोक्नुपर्ने भए खाता रोक्का गर्नुको स्पष्ट कारण तथा फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

कुनै निश्चित खातामात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको नम्बर र खाता रहेको बैंकको विवरण चाहिने विनियमावलीमा उल्लेख छ । साथै, आशिंक खाता रोक्का राख्नुपर्ने भए रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण उल्लेख गर्नुपर्ने विनियमावलीमा छ ।

प्रचलित कानुनमा खाता रोक्का गर्ने सम्बन्धी स्पष्ट व्यवस्था नभएको अवस्थामा वा अधिकार प्राप्त अधिकारी बाहेक अन्य व्यक्तिबाट आएका पत्रका आधारमा खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्र बैंक बाध्य नहुने विनियमावलीमा उल्लेख छ ।

प्रचलित कानुन अनुसार कुनै कसुरको अनुसन्धान सिलसिलामा अधिकार प्राप्त अधिकारीले राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

राष्ट्र बैंकको निर्देशनमा रोक्का भएको खाता अदालतको आदेशमा भने बैंकहरूले नै फुकुवा गर्न सक्नेछन् । खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकार प्राप्त अधिकारीले आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पूर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरे खाता फुकुवा गर्न राष्ट्र बैंकले बैंकलार्ई निर्देशन दिने छ ।

राष्ट्र बैंक निर्देशन अनुसार खाता रोक्का वा फुकुवा गरेपछि बैंकहरूले तत्काल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारीलाई गराउनुपर्ने भएको हो ।

यस्तै आंशिक खाता रोक्का गर्नुपर्ने अवस्थामा बैंकहरूले रोक्का गर्नुपर्ने खातामा तोकिए बमोजिम रोक्का गर्नुपर्ने रकम भए खातामा उपलब्ध रकम रोक्का राखी पर्याप्त रकम नरहेको जानकारी राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारीलाई दिनुपर्छ ।

विनियमावली अनुसार अदालतको आदेश भएको वा सम्बन्धित निकायको अनुरोधमा राष्ट्र बैंकको निर्देशन भए बाहेक बैंकहरूले रोक्का रहेको खाताबाट कुनै किसिमले रकम भुक्तानी, हस्तान्तरण, कट्टी एवं रकमान्तर गर्न पाउने छैन ।

सम्पूर्ण खाता रोक्का राख्न निर्देशन प्राप्त भए बैंकहरूले सम्बन्धित व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको नयाँ खाता खोल्न पाउने छैनन् । खाता रोक्का सम्बन्धी जानकारी वा सूचना उक्त कार्यमा संलग्न कर्मचारी र बैंक व्यवस्थापकले गोप्य राख्नुपर्ने छ । तत्कालीन समयमै खाता रोक्का तथा फुकुवा सम्बन्धी कार्य गर्न इजाजतपत्र प्राप्त संस्थाले उपयुक्त प्रणाली तथा प्रक्रिया व्यवस्था गर्नुपर्ने छ ।

बंैक तथा वित्तीय संस्था लगायत राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थाका खाता रोक्का नहुने केन्द्रीय बैंकले जनाएको छ । भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि बैंकमा रहेको खाता पनि रोक्का हुने छैन ।

तर, अल्पकालीन वा दीर्घकालीन रूपमा संस्था सञ्चालनमा नरही बन्द हुने अवस्था आए, राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्नुपर्ने अवस्था देखिए, अनुसन्धान गर्ने अधिकारीले कारण सहित राष्ट्र बैंकसमक्ष अनुरोध गरेको अवस्थामा त्यसको औचित्य विश्लेषण गरी खाता रोक्का गर्न सकिने विनियमावलीमा उल्लेख छ ।

कुनै कर्मचारीसँग सम्बन्धित विषयका कारण सम्बन्धित संस्थाको सम्पूर्ण खाता रोक्का गर्ने गरी अनुरोध गर्नुपर्ने भए खाता रोक्का गर्नुअघि निश्चित वा आंशिक खाता रोक्का गर्न मिल्ने वा नमिल्ने यकिन गरी सम्पूर्ण खाता रोक्का गर्दा संस्थाको व्यावसायिक निरन्तरतामा पर्ने प्रभाव, अन्य कर्मचारी तथा सरोकारवालालाई पर्ने प्रभाव र सम्बन्धित संस्थाको उक्त कर्मचारीप्रतिको दायित्व रकमसमेत खुलाइ विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।

उक्त अनुरोधका सम्बन्धमा राष्ट्र बैंकले निश्चित वा आंशिक खाता रोक्का राख्न उपयुक्त देखेमा कर्मचारीप्रतिको दायित्व बराबर रकम रोक्का राख्ने गरी बैंकहरूलाई निश्चित वा आंशिक खाता रोक्का राख्न निर्देशन दिन सक्ने छ ।

विनियमावली अनुसार खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ । विभाग प्रमुखले तोकेको अधिकृत स्तरको कर्मचारीले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का गर्न निर्देशन दिनुपर्छ ।

राष्ट्र बैंकले खाता रोक्का वा फुकुवा सम्बन्धीे अनलाइन प्रणाली विकास गरी त्यस सम्बन्धमा आवश्यक निर्देशन जारी गर्न सक्ने भएको हो । बैंक तथा वित्तीय संस्था र प्रचलित कानुन बमोजिम खाता रोक्का वा फुकुवा गर्न अधिकार प्राप्त अधिकारीले राष्ट्र बैंकले विकास गरेको अनलाइन प्रणालीमार्फत खाता रोक्का वा फुकुवाको निवेदन दिन सक्ने छ ।

कुनै कसुरको अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खाता विवरण माग गर्नुपरे राष्ट्र बैकमार्फत माग गर्नुपर्ने विनियमावलीमा छ ।

बैंक तथा वित्तीय संस्थामा खाता रोक्का रहेको ग्राहकले आफ्नो खाता रोक्का रहेको कारण सम्बन्धमा सूचना माग गरे बैंकहरूले त्यस्तो सूचना उपलब्ध गराउनुपर्ने छ । कुनै कसुरको अनुसन्धान गर्ने अधिकार प्राप्त अधिकारीले कुनै ग्राहकको बैंकमा रहेको सेफ डिपोजिट भल्ट÷लकर रोक्का राख्नुपर्ने भए राष्ट्र बैंकसमक्ष अनुरोध गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?