+

नम्बर वान एसोसिएट बन्न नेपाललाई देशबाहिरको जित आवश्यक

२०८१ भदौ  ३० गते २१:०० २०८१ भदौ ३० गते २१:००
नम्बर वान एसोसिएट बन्न नेपाललाई देशबाहिरको जित आवश्यक

३० भदौ, काठमाडौं । सोमबार घरेलु टोली क्यानडाविरुद्ध खेल्दै नेपाल ७ महिनापछि आईसीसी विश्वकप लिग–२ मा फर्किर्दैछ ।

फेब्रुअरीमा त्रिवि क्रिकेट मैदानमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको खेलबाट सन् २०२४/२०२६ अन्तिम सम्म चल्ने लिग–२ को सुरुवात भएको थियो ।

नेपालले दुबै टोलीसँग समान दुई खेल खेलेको थियो । नामिबियासँग दुबैमा हार र नेदरल्यान्ड्सविरुद्ध १–१ जित र हार व्यहोरेको थियो ।

त्यसपछि नेपाल टी–२० विश्वकपमा ब्यस्त रह्यो । जुन १७ मा बंगलादेशविरुद्ध टी–२० विश्वकप खेलेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किदैछ ।नेपाल, नामिबिया, नेदरल्यान्डस्, स्कटल्यान्ड, ओमान, युएई, क्यानडा र अमेरिकाबीच २०२६ डिसेम्बरसम्म लिग–२ मा प्रतिस्पर्धा चल्नेछ ।

एउटा देशले घरेलु मैदानमा तीन र विदेशी भूमिमा ६ त्रिकोणात्मक सिरिज खेल्नेछन् । हरेक देशले समान ३६ खेल खेल्नेछन् । एउटा सिरिजमा तीन देशबीच प्रतिस्पर्धा हुनेछ ।

शीर्ष चार टोलीले २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । बाँकी चार टोलीले विश्वकप छनोट खेल्न प्लेअफ खेल्नुपर्छ । सोझै ओडीआई मान्यता जोगाउन शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

स्कटल्यान्ड साविक विजेता हुँदा नेदरल्यान्ड्स र क्यानडाले पहिलो पटक प्रतिस्पर्धा गरेका छन् । यसअघि १२ टेस्ट टोलीसँग सुपर लिगमा प्रतिस्पर्धा गरेको नेदरल्यान्ड्स लिग २ मा गाभिएको थियो । क्यानडाले पपुवा न्युगिनीलाई पछि पार्दै ओडीआई मान्यता पाएपछि २ मा प्रतिस्पर्धा गरेको हो ।

नेपाल भारतको नेशनल क्रिकेट एकेडेमीमा दुई हप्ता र श्रीलंकामा एक हप्ता अभ्यास गरेर क्यानडा पुगेको हो । भारतमा आन्तरिक तीन अभ्यास खेलेको नेपाल श्रीलंका डेभलपमेन्टसँग वर्षाको कारण एउटा मात्र भएको अभ्यास खेलमा १५९ रनमा अल आउट हुँदै ५ विकेटले हारेको थियो ।

पहिलो संस्करण २०१९/२३ को लिग २ मा नेपाल ३६ खेलमा १९ मा जित र १५ खेलमा हारका साथ ४० अंक जोड्दै तेस्रो स्थानमा अन्त्य गरेको थियो ।

नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित हात पार्दै उत्कृष्ट प्रदर्शन गरेपछि ओडीआई जोगाउनुको साथै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

नेपालको लक्ष्य अब लिग २ मा शीर्ष स्थानमा अन्त्य गर्दै एसोसिएटको नम्बर एक देश बन्ने लक्ष्य राखेको छ । घरेलु टोली क्यानडासँगै नेपाल र ओमानबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ ।

लिग २ मा हालसम्म नेपाल ४ खेलमा १ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ । नेपाल भन्दापछि युएई ३ खेलमा अंकविहीन हुँदै पुछारमा छ ।

नेदरल्यान्ड्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष तथा स्कटल्यान्ड ७ खेलमा ४ मा जित र २ मा हार र १ खेल नतिजा विहीन हुँदा ९ अंकका साथ दोस्रो स्थानमा छ ।

एसोसिएट नम्बर वान सपना पूरा गर्न नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डलाई पछि पार्नुपर्ने हुन्छ । किनभने वर्तमान एसोसिएटका नम्बर वान यी दुई टोली हुन् । तर त्यसको लागि त्रिविमा जस्तै विदेशमा पनि प्रदर्शन गर्न सक्नुपर्छ ।

किनभने घरेलु मैदान त्रिवि क्रिकेट मैदान बाहिर नेपालको प्रदर्शन खासै सम्झनलायक छैन । नेपालले हालसम्म ६६ ओडीआई खेल्दा ३४ मा जित, ३० खेलमा हार, १ खेल टाई र एउटा नतिजाविहीन छ । घरेलुमा नेपालले १९ खेल खेल्दा १४ मा जित र ५ खेल हारेकोछ ।

विदेशी भूमिमा नेपाल १९ खेलमा ६ मा जित र ११ मा हार व्यहोरेको छ । नेचुरल भूमिमा भएका २८ ओडीआई खेलमा नेपाल समान १४ खेलमा जित र हार व्यहोरेको छ ।

नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल क्यानडा भ्रमणमा धेरै चुनौती रहेको बताउँछन् । ‘५० ओभरमा हामी यसै त कमजोर छौं । हाम्रो इतिहास विदेशी भूमिमा राम्रो छैन । त्यसमा कन्डिसन चुनौती पनि छन् । तयारी पनि हुनुपर्ने जति भएको छैन । त्यसैले चुनौतीहरु धेरै छन्’, ज्ञानेन्द्रले भने ।

तर आफूले देखेको सफलतामा पुग्ने हो भने विदेशी भूमिमा जित्न आवश्यक रहेको ज्ञानेन्द्र बताउँछन् ।

‘क्यानडाको प्रदर्शन तत्काल राम्रो छैन । पुबुदुले छाडेपछि क्यानडाको मनोबल अलि डाउन होला । तर पुबुदु ओमानको टोलीमा हुँदा हामीलाई केही चुनौती दिनसक्छ । तर यही चुनौती नै अवसर हो । किनभने हामीले बाहिर खेल जित्न सक्यौं भने बल्ल सोचेको ठाउँमा पुग्न सक्छौं’, मल्लले भने ।

समान ८ अंक भएपनि नेट रनरेटमा अघि रहँदै क्यानडा तेस्रो र नामिबिया चौथो स्थानमा छन् अमेरिका ४ खेलमा २ मा जितका साथ पाँचौं स्थानमा छ । ओमान ४ खेलमा १ मा जित र १ खेल नतिजा विहीन हुँदा छैटौं स्थानमा छ ।

ओमानले गत जुलाइमा नामिबियालाई एउटा खेलमा हराउँदा अर्को खेलमा हारेको थियो । स्कटल्यान्डसँग भने एउटा खेलमा हार्दा अर्को खेल वर्षाको कारण रद्द हुँदा अंक बाँडेको थियो ।

क्यानडा घरेलु मैदान र कन्डिसनको फाइदा उठाउन चाहन्छ । ओमानसँग अनुभवी खेलाडी छन् । तर पनि पछिल्लो समयको सफलता हेर्दा नेपाल स्तरमा अलि माथि देखिन्छ ।

पहिलो पटक लिग २ खेलेको क्यानडाले गत फेब्रुअरी मार्चमा घरेलु टोली युएई र स्कटल्यान्डलाई समान दुबै खेलमा हराउँदै सानदार सुरुवात गरेको थियो । तर आन्तरिक किचलोको कारण मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पद छाडेपछि अगष्टमा नेदरल्यान्ड्स र अमेरिकासँग समान दुबै खेलमा हार्न पुगेको थियो ।

लिग २ मा युएई र स्कटल्यान्डविरुद्ध १११ र १०५ रनको अविजित शतकीय इनिङ खेलेका हर्ष ठाकेर, तीव्र गतिका बलर कलिम साना र स्पिनर साद बिन जाफर घातक बन्न सक्ने क्यानडाका हतियार हुन् ।

नेपालले गत फेब्रुअरीमा क्यानडासँग खेलेको तीनै ओडीआई खेल जितेको थियो । २३४ रनको लक्ष्य पछ्याउनेक्रममा अनिल शाह ११२ र भीम सार्कीले १०१ रन बनाएका थिए । तेस्रो नम्बरमा यी दुईमध्ये एक खेल्ने सम्भावना छ । दुबै खेलाडी खेल्ने सम्भावना निकै कम देखिन्छ ।

टी–२० टोलीमा नभएका आरिफ शेख छैटौं नम्बरमा खेल्ने सम्भावना छ । आरिफ खेल्दा करण र गुलशन झा मध्य एक जना बाहिर हुनसक्छन् । अन्य सबै टी–२० कै खेलाडीले निरन्तरता पाउने देखिन्छ । दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् ।

सोमपाल गत वर्षको सफलतालाई प्रेरणा लिएर खेल्ने बताउँछन् ।

‘क्रिकेट भनेको ब्याट र बलको खेल हो । हामी कत्तिको स्ट्रङ छौं र हाम्रो बेसिकहरु कत्तिको स्ट्रङ छ त्यसमा भर पर्छ’, उनले भने, ‘हामी धेरै आत्माविश्वासी छौं । मलाई लाग्छ राम्रो प्वाइन्ट्सहरु लिएर आउँछौं र गतवर्ष खेलेको भन्दा अझ उत्कृष्ट क्रिकेट खेल्छौं । ’

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)

लिग–२ मा नेपालको खेल तालिका

३१ भदौ ( १६ सेप्टेम्बर) – क्यानडाविरुद्ध नेपाल
२ असोज ( १८ सेप्टेम्बर) – नेपालविरुद्ध ओमान
६ असोज (२२ सेप्टेम्बर) – क्यानडाविरुद्ध नेपाल
८असोज (२४ सेप्टेम्बर) – नेपालविरुद्ध ओमान
सबै खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा किंग्स सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकेट ग्राउण्डमा हुनेछन् ।

आईसीसी विश्वकप लिग २ क्रिकेट
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय