+
+

मान्छे र पर्यावरण जोगाउन तिलोत्तमामा सर्प महोत्सव

सर्प महोत्सवले सर्प र मानवबीच द्वन्द्व न्यूनीकरण, अनाहकमा सर्पलाई मार्दा पर्यावरण र पारिस्थितिकीय प्रणाली (इको सिस्टम) मा पर्ने असरबारे जनचेतना वृद्धि गर्ने अपेक्षा छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०८१ भदौ ३१ गते ९:२८
दाङका बसन्त सुवेदी । उनले स्वयंसेवाको रुपमा सर्प उद्धार गर्दै आएका छन् । फोटो : कुलदीप न्यौपाने ।

३१ भदौ, बुटवल । सर्पसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तराष्ट्रिय संस्था अल्कोबाका अनुसार सन् २०२२ मा नेपालमा ४० हजार जनालाई सर्पले डसेको थियो । सर्पदंशबाट सो वर्ष करिब तीन हजार जनाको मृत्यु भयो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् १९८७ मा नेपालमा वार्षिक २० हजार जनालाई सर्पले डसेको थियो भने एक हजार जनाको मृत्यु भएको थियो ।

यसरी हेर्दा नेपालमा सर्पदंशको दर र मृत्युदर बर्सेनि बढ्दो छ । अन्य वन्यजन्तुको तुलनामा सर्पदंशबाट हुने मानवीय क्षति बढी भएपनि यसको रोकथामका लागि सम्बन्धित सरकारी निकायले पर्याप्त चासो नदिएको र लगानी पनि नगरेको सरोकारवाला गुनासो गर्दै आएका छन् ।

यही परिवेशमा ‘मानव र सर्प बीच सहअस्तित्व प्रवर्द्धन’ नारासहित लुम्बिनी प्रदेशमै पहिलोपटक तिलोत्तमाको वनवाटिकामा सर्प महोत्सव तथा अन्तर्राष्ट्रिय सर्पदंश जनचेतना दिवस आयोजना गरिएको छ ।

तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयोगमा शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र (वनवाटिका) परिसरमा अन्तर्राष्ट्रिय सर्पदंश दिवस पारेर असोज असोज १ र २ गते महोत्सव  हुन लागेको महोत्सवका संयोजक तथा सर्प विशेषज्ञ कमल देवकोटाले बताए ।

महोत्सवले सर्प र पर्यावरण तथा वातावरणबीचको सम्बन्ध, जैविक विविधता संरक्षणमा सर्पको भूमिका, सर्प र मानवबीच द्वन्द्व न्यनीकरण, सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्ने देवकोटाको दाबी छ ।

सर्प महोत्सवबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव संयोजक तथा सर्प विशेषज्ञ कमल देवकोटा लगायत ।

महोत्सवमा देशभरबाट जम्मा हुने करिब ३५ जना सर्पविज्ञले सर्पका प्रजातिबारे जानकारी, सर्पले टोकेको अवस्थामा के गर्ने, सर्पलाई अनाहकमा मार्न नहुनेबारे आम जनसमुदायमा सचेतना फैलाउनेलगायत विभिन्न गतिविधि हुने सर्पविज्ञ देवकोटाले जानकारी दिए ।

देवकोटाका अनुसार समुदायस्तरमा सर्पलाई अनावश्यकरुपमा नजिस्काउने हो भने सर्पदंशका घटनामा कमी आउँछ र मानवीय क्षति कम हुन्छ, सर्प बाँच्दा पर्यावरण संरक्षणमा योगदान पुग्छ भन्ने ज्ञानको अझै कमी छ ।

‘नेपालमा पाइने अधिकांश प्रजातिका सर्पहरु कम विषालु र मान्छेको ज्यानै लिने खालका नभएपनि सबै विषालु ठानेर मार्ने परिपाटी छ, यो एकदमै गलत हो, यसले पर्यावरण र इको सिस्टममा नकारत्मक असर गरिरहेको छ’, देवकोटाले भने, ‘महोत्सवले सर्पदंशबाट हुने मानवीय क्षति कम गर्न र पर्यावरण जोगाउन मान्छेले सर्पसंग के कस्ता गतिविधि गर्न हुँदैन, के गर्न हुन्छ भन्ने कुराहरुमा यथार्थ जानकारी गराइ जनचेतना वृद्धि गर्नेछ ।’

यस्तै महोत्सवमा सर्पसम्बन्धी चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी, सर्पको उद्घार कसरी गर्ने, औजारहरुको प्रयोग, सर्पसम्बन्धी विज्ञ, नेचर गाइड, रेस्कुयरहरुबाट महोत्सवमा सहभागीलाई जनचेतनामूलक जानकारी दिइनेछ ।

उनका अनुसार महोत्सवमा करिब १० हजार जना सहभागी हुनेछन् । ‘गत वर्ष गण्डकी प्रदेशको नवलपुरमा भएको महोत्सवमा एक हजार जना अपेक्षा गरेका थियौं, तर ५ हजार बढी सहभागी भए, यसपटक करिब १० हजार जनाको सहभागीता अपेक्षा गरेका छौं’, देवकोटाले भने ।

वन क्षेत्रका संस्घसंस्था, स्कुल र कलेजका विद्यार्थी, शिक्षकहरु महोत्सवमा सहभागी हुने आयोजकले जनाएको छ । ‘महोत्सवमा सर्पका प्रजातिबारे चिनाउने, सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी पनि हुनेछ’, देवकोटाले भने ।

लुम्बिनी प्रदेश चिकित्सकहरुलाई सबैभन्दा बढी सर्पका बारेमा तालिम दिइने प्रदेश भएकाले महोत्सवमा उत्साहजनक उपस्थिति हुने उनले बताए ।

नेपालमा सर्पसम्बन्धी एक दर्जनभन्दा बढी विज्ञ चिकित्सक नरहेको हुँदा देशभर सर्पदंशको उपचारमा समस्या हुने गरेको छ । महोत्सवलाई सफल बनाउन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले आयोजकको रुपमा सक्दो सहयोग गर्ने अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

‘सर्प महोत्सव लुम्बिनी प्रदेशमा पहिलोपटक हुन लागेको हो, यसले पर्यावरण संरक्षण सर्पको अनुसन्धानमा पनि सहयोग पुराउने भएकाले हामी आयोजक भएर सहकार्य गरेका छौं, शर्माले भने ।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले अधिकांश सर्पहरु विषालु नहुने भएकाले सर्पलाई देखेपछि मार्नुपर्छ भन्ने गलत मान्यताबारे महोत्सवले जनचेतना फैलाएर सर्प र मान्छे दुबैलाई जोगाउन भूमिका खेल्ने बताए ।

सर्पका कति प्रजाति छन् ?

विश्वमा करिब ४ हजार बढी प्रजातिका सर्पहरु पाइन्छन्, जसमध्ये करिब ७ सय प्रजातिका सर्पहरु मात्र विषालु हुन्छन् । विभिन्न अनुसन्धानकर्ताहरुका अनुसार नेपालमा करिब ८४ देखि ९० प्रजातिका सर्पहरु पाइन्छन्, जसमध्ये अहिलेसम्म चिकित्सकीय महत्वको हिसाबले १८ प्रजातिका विषालु सर्पहरु रहेको रेकर्ड गरिएको छ ।

दाङमा फेला परेको सर्पको एक प्रजाति । फोटो : कुलदीप न्यौपाने ।

नेपालमा तराईको सय मिटरदेखि हिमालको ४८ सय मिटर सम्म सर्पहरु पाइन्छन् । देवकोटाका अनुसार नेपालमा विषालु सर्पहरुमा  एलापिडाए परिवार  अन्तर्गत कोब्रा, करेत र कोरल मात्रै पर्दछन् । जसको न्युरोटक्सिन भेनोम हुन्छ ।

राजगोमन  विश्वकै सबैभन्दा लामो र विषालु सर्प हो र यो नेपालमा पनि पाइन्छ ।  भाइपरडाई परिवार  अन्तर्गत बाघे सर्प (रसेल्स भाइपर र पिट भाइपर्स) पर्दछन्, जसको हेमोटक्सिन भेनोम हुन्छ । कोलोब्राइड परिवार अन्तर्गत नेपालमा र्हाब्डोफिस प्रजातिको सर्प मात्र विषालु पाइएको सर्पविज्ञ देवकोटाले बताए ।

सबै सर्पहरु विषालु हुँदैनन्

सर्पविज्ञ कमल देवकोटाका अनुसार सबै सर्पहरु विषालु हुँदैनन् । सर्पले मानिसलाई टोक्ने भनेको पेट भर्नका लागि नभइ यो त आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्र हो ।

यसको मुख्य आहारा त ससाना जीवहरु जस्तै मुसा, भ्यागुता, कीराफट्यांग्रा आदि हुन् । सर्पले आफूलाई खतरा महससुस भएमा मात्र मानिसलाई टोक्ने वा आक्रमण गर्ने हो ।

खेवकोटाका अनुसार जब मानिसले झुक्किएर वा जानाजान सर्पलाई चलाउन पुग्छ, तब सर्पले आफ्नो प्रतिरक्षा स्वरूप टोक्न पुग्छ । सर्पलाई समात्न खोज्दा, जिस्क्याउँदा वा मार्न खोज्दा प्रायजसो सर्पदंशको घटना हुने गर्दछ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?