+
+
ब्लग :

बीपीको त्यो परिकल्पना, कांग्रेस नेतृत्वको यो व्यवहार

बीपीको विचारमा आधारित नेपाली कांग्रेसको उद्देश्य राष्ट्रिय स्वतन्त्रता, लोकतन्त्र र समाजवादलाई एकसाथ अघि बढाउनु थियो। बीपीको दर्शनले जनहित र सेवा गर्ने उद्देश्य राख्थ्यो, तर आजको नेतृत्वले त्यो मार्गलाई केवल भाषणको विषय बनाइरहेको देखिन्छ।

गौरव पन्थ गौरव पन्थ
२०८१ भदौ ३१ गते ११:४४

नेपालको पुरानो र प्रमुख लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई आत्मसात् गर्दै देशको राजनीतिक आन्दोलनमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको छ। बीपी कोइरालाले प्रस्ताव गरेको समाजवादी प्रजातन्त्र र समतामूलक समाज निर्माणको लक्ष्य नेपाली कांग्रेसको आदर्श थियो तर, पछिल्लो समय सीमित नेताको स्वार्थमा आधारित गठबन्धन राजनीति र व्यक्तिवादी सोच हावी हुँदा व्यवहारमा बीपीका सिद्धान्त अलपत्र छन् भन्ने गम्भीर प्रश्न उब्जिएको छ।

 सीमित नेताको रजगज

कांग्रेसको नेतृत्व अहिले पुराना र वरिष्ठ नेताहरूको हातमा छ, उनीहरूकै इशारामा चलिरहेको छ। युवा र आशलाग्दा नेताहरूले हस्तक्षेप गर्ने कोसिस गरे पनि त्यो त्यति प्रभावकारी देखिंदैन। नेतृत्वमा रहेका अधिकांश नेताहरूसँग पार्टी हाँक्ने दीर्घकालीन दृष्टिकोण छैन। नेतृत्व बीपीको समाजवादी सिद्धान्तलाई व्यवहारमा उतार्नेतर्फ ध्यान दिनुभन्दा व्यक्तिगत स्वार्थकेन्द्रित प्रतिस्पर्धामा अल्झिएको छ। विशेषगरी वडा, नगर, निर्वाचन क्षेत्र, जिल्ला र राष्ट्रिय तहमा हुने भेलाहरूमा नेताहरूले व्यक्तिगत आलोचना, आरोप–प्रत्यारोप र दोषारोपण गर्ने कुरा बढी आइरहेको छ।

नेतृत्वमा रहेका व्यक्तिहरूले नयाँ पुस्तालाई मार्गदर्शन दिनेभन्दा उनीहरूलाई पार्टीको संरचनाभित्र आफ्नो ठाउँ बनाउन अवरोध सिर्जना गरिरहेका छन्।। यसले युवा पुस्तामा नेतृत्वप्रतिको विश्वास गुम्दै गएको छ। नेतृत्वको व्यवहारकै कारण पार्टीको विचारधाराप्रति निराशा बढेको छ।

पार्टीभित्र अन्तर्घात गर्ने, आफ्नै उम्मेदवार विरुद्ध भोट माग्नेलाई नै सम्मान गर्नु र पार्टीमा स्थान दिनु अत्यन्त दुःखद् छ। यस्तो अभ्यास र प्रवृत्तिले पार्टी एकता र नैतिक बल थप कमजोर बनाउँदै लगेको छ। इमानदार कार्यकर्ताहरू निराश हुने अवस्था बढ्दै जाने छ।

युवाहरूले नेतृत्वदायी भूमिका खेल्दै समाजका विकृति, भ्रष्टाचार र अन्यायका विरुद्ध सशक्त रूपमा उभिनु जरुरी छ, ताकि बीपीले परिकल्पना गरेको समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकियोस्।

२४ भदौमा देशैभरि बीपी जयन्ती विभिन्न कार्यक्रम गरेर मनाइयो। पंक्तिकार पनि केही कार्यक्रममा उपस्थित हुने मौका पायो। म युवा अवस्थामा राजनीतिमा लाग्दै गरेको युवा हुँ। जब मैले बीपी जयन्तीको वक्ताहरूको मन्तव्य सुनें, अधिकांशको कुराले ममा नैराश्यता थपियो।

 बीपीको त्यो परिकल्पना 

बीपी कोइरालाले नेतृत्वलाई निस्वार्थ, नैतिक र जनसेवामा केन्द्रित हुनुपर्ने ठानेका थिए। उनी जनताको हितलाई सर्वोपरि मान्ने, पारदर्शी र जिम्मेवार नेतृत्वको पक्षपाती थिए। बीपीले लोकतन्त्रको सुदृढीकरण र जनताको सशक्तीकरणका लागि जनउत्तरदायी नेतृत्वलाई आवश्यक ठान्थे जहाँ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय एकता र सामाजिक न्यायको भावना बलियो हुने थियो।

बीपीले कल्पना गरेको समाज समतामूलक, न्यायपूर्ण र अवसरको समान पहुँच भएको हुनुपर्छ। उनले एउटा त्यस्तो समाजको परिकल्पना गरेका थिए, जहाँ हरेक नागरिकले आर्थिक, सामाजिक र राजनैतिक अवसरमा समान पहुँच प्राप्त गर्न सकून्। यो समाजमा जनताले आफ्नो अधिकार प्रयोग गर्दै समान अवसर प्राप्त गर्नेछन् र गरिबी, अन्याय तथा विभेदको अन्त्य हुनेछ। बीपीको समाजवादले वर्गीय विभाजनको अन्त्य गर्दै समानताको सिद्धान्तमा आधारित दिगो विकासको परिकल्पना गर्छ।

बीपीको विचारमा युवाहरू राष्ट्र निर्माण र समाज सुधारमा प्रमुख शक्ति हुन्। उनले युवालाई विचारशील, क्रान्तिकारी र जिम्मेवार बनाउन जोड दिएका थिए। युवालाई परिवर्तनका संवाहकका रूपमा चित्रित गरेका थिए, जसले पारदर्शिता, इमानदारी र जनसेवामा समर्पित हुँदै समाज सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। उनीहरूको उद्देश्य सामाजिक न्याय, लोकतन्त्र र समानताको आदर्शलाई व्यवहारमा उतार्ने हुनुपर्छ।

युवाहरूले नेतृत्वदायी भूमिका खेल्दै समाजका विकृति, भ्रष्टाचार र अन्यायका विरुद्ध सशक्त रूपमा उभिनु जरुरी छ, ताकि बीपीले परिकल्पना गरेको समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकियोस्।

 कांग्रेस नेतृत्वको व्यवहार

बीपीको विचारमा आधारित नेपाली कांग्रेसको उद्देश्य राष्ट्रिय स्वतन्त्रता, लोकतन्त्र र समाजवादलाई एकसाथ अघि बढाउनु थियो। बीपीको दर्शनले जनहित र सेवा गर्ने उद्देश्य राख्थ्यो, तर आजको नेतृत्वले त्यो मार्गलाई केवल भाषणको विषय बनाइरहेको देखिन्छ।

प्रायः कार्यक्रमहरूमा नेताहरूले समाजवाद र लोकतन्त्रको कुरा गर्छन् तर व्यवहारमा बीपीले प्रस्तुत गरेको आदर्शलाई पछ्याउने प्रयास न्यून देखिन्छ। पार्टीभित्र बीपीका विचारलाई आत्मसात् गरेर काम गर्ने भन्दा पनि व्यक्तिगत लाभ र सत्तामुखी खेल बढी भएको छ।

भ्रातृ संगठनहरूलाई पनि क्रान्तिकारी सोचका साथ अघि बढ्न प्रेरित गर्नुपर्छ, जसले गर्दा नयाँ पुस्ताको पार्टीप्रतिको आस्था पुनःस्थापित गर्न सकून्। नेताहरूले व्यक्तिगत आरोप–प्रत्यारोपको चक्रव्यूहबाट बाहिर निस्केर पार्टीको दीर्घकालीन लक्ष्यमा केन्द्रित हुन आवश्यक छ।

पार्टीमा गुटबन्दीको प्रभावले विचारधारात्मक स्पष्टता र अनुशासन कमजोर हुँदै गएको छ। अहिलेको अवस्थामा भ्रातृ संगठनहरूमा समेत यो प्रवृत्ति हावी छ। नेपाल विद्यार्थी संघ जस्ता संगठनहरू गुटबन्दी र व्यक्तिगत स्वार्थको कारणले कमजोर भइरहेका छन्। नयाँ पुस्तालाई पार्टीको विचारधारामा प्रशिक्षित गर्नुपर्ने कार्यभार बोकेको नेविसंघ आज नेताहरूको गुटका सदस्य मात्र बन्दा नयाँ सदस्यता वितरण प्रभावकारी हुनसकेको छैन। गुटबन्दीले पार्टीभित्रको एकतालाई भंग गरिरहेको छ र यसले भ्रातृ संगठनहरूमा समेत विभाजन ल्याएको छ। विशेषगरी नेतृत्वका अग्रजहरूले नयाँ पुस्तालाई मार्गदर्शन दिनेभन्दा आफ्नो गुटको स्वार्थपूर्तिका लागि प्रयोग गरिरहेका छन्।

त्यस्तै, पार्टीसँग सम्बन्धित अन्य शुभेच्छुक संस्था र अन्य भ्रातृ संगठनहरू पनि गुटबन्दी र व्यक्तिगत स्वार्थको प्रभावबाट अछुतो छैनन्। यी संस्थाहरूले पार्टीको नीति र सिद्धान्तलाई अघि बढाउने उद्देश्य राख्नुपर्ने भए पनि नेतृत्वको अक्षमता र गुटबन्दीको कारणले तिनको प्रभावकारिता खस्कँदै गएको छ। पार्टीका सबै तहमा गुटबन्दीको यस्तो चरम अवस्था हुँदा नयाँ पुस्तालाई पार्टीमा आस्थावान् बनाउन कठिन भइरहेको छ। पार्टी संगठनमा नयाँ पुस्तालाई अघि बढाउने आधार तरुण दल, नेविसंघलाई क्रियाशील र रचनात्मक नबनाउँदा पार्टी ज्येष्ठ नागरिकको मात्र हुने खतरा देखिएको छ।

 बाटो भुलेका मार्गदर्शक

नेतृत्वले पार्टीका युवा कार्यकर्ताहरूलाई मार्गदर्शन दिनु त परै जाओस् उनीहरूलाई आत्मनिर्भर, जिम्मेवार र विचारशील बनाउने कुनै ठोस कदम चालेको देखिंदैन। बरु युवा पुस्तालाई नेतृत्वमा आउन रोक लगाएर आफ्नो पदलाई सुरक्षित राख्नेतर्फ अग्रसर छन्। नयाँ पुस्ताले पार्टीको भविष्यमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने भए पनि उचित अवसर र वातावरण नपाउँदा उनीहरूको उत्साह र प्रतिबद्धता क्षीण हुँदै गएको छ। जसले गर्दा राजनीतिमा प्रबल सम्भावना बोकेका युवाहरू पलायन हुने स्थितिमा पुगेका छन् भने अवसरवादीहरूको दबदबा बढ्दै गइरहेको छ।

नेपाली कांग्रेस र यसको भ्रातृ संगठनहरूले बीपीका सिद्धान्तहरूलाई व्यवहारमा लागू गर्दै पुनर्संगठनमा जानु जरूरी छ। बीपीको राष्ट्रियता, लोकतन्त्र र समाजवादका नाराहरू केवल भाषणमा सीमित नराखी कार्यान्वयनको तहमा पुर्‍याउनुपर्छ। अहिलेको नेतृत्वले आत्मसमीक्षा गर्दै गुटबन्दी र व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टीभित्रको एकता र अनुशासनलाई बलियो बनाउन आवश्यक छ।

भ्रातृ संगठनहरूलाई पनि क्रान्तिकारी सोचका साथ अघि बढ्न प्रेरित गर्नुपर्छ, जसले गर्दा नयाँ पुस्ताको पार्टीप्रतिको आस्था पुनःस्थापित गर्न सकून्। नेताहरूले व्यक्तिगत आरोप–प्रत्यारोपको चक्रव्यूहबाट बाहिर निस्केर पार्टीको दीर्घकालीन लक्ष्यमा केन्द्रित हुन आवश्यक छ। कार्यकर्ताहरूलाई आयआर्जनसँग जोड्न र अध्ययनशील बन्न मार्गनिर्देश गर्नुपर्ने आवश्यकता छ। साथै, अन्तर्घात गर्ने, पार्टीका उम्मेदवार विरुद्ध प्रचार गर्ने र पार्टीको नीतिलाई नै क्षति पुर्‍याउने व्यक्तिहरूलाई सम्मान र स्थान दिनुको सट्टा, उनीहरूलाई कारबाहीको दायरामा ल्याइनुपर्छ। यस्तो नगरिए पार्टीलाई थप कमजोर बनाउने देखिन्छ, तसर्थ नेतृत्वले जिम्मेवार कदम उठाउन जरूरी छ।

आजको कांग्रेस नेतृत्वको अवस्था गम्भीर चिन्ताको विषय बनेको छ। बीपीको आदर्श मार्गमा चल्ने भन्दा गुटबन्दी र स्वार्थमा फसेका छन्। यो आन्तरिक विभाजन र गुटबन्दीले पार्टीको भविष्यमाथि नकारात्मक असर पारिरहेको छ।

पार्टीको विरासतलाई कायम राख्नुपर्ने नयाँ पुस्ता गुटबन्दीको राजनीति र पुरानो पुस्ताको व्यक्तिगत स्वार्थको दलदलमा फसेको छ। पार्टीलाई पुनर्जीवित गर्न र बीपीका आदर्शलाई जीवन्त राख्न नेतृत्वले गम्भीरतापूर्वक आत्मसमीक्षा गरेर सही दिशा लिनु आवश्यक छ। यस्तै अवस्थामा मात्रै नेपाली कांग्रेस सही मार्गमा अगाडि बढ्न सक्छ र देशको लोकतान्त्रिक आन्दोलनमा पुनः अग्रणी भूमिका खेल्न सक्छ।

(लेखक आदिकवि भानुभक्त क्याम्पस, दमौली तनहुँका स्ववियू सभापति हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?