+

पुरुषमा यौन दुर्बलता किन हुन्छ ?

२०८१ भदौ  ३१ गते १३:१६ २०८१ भदौ ३१ गते १३:१६
पुरुषमा यौन दुर्बलता किन हुन्छ ?

यौन दुर्बलता वा ‘इरेक्टाइल डिसफङ्सन’ भनेको सम्भोगको त्रममा पुरुषको लिङ्गमा उत्तेजना नहुनु वा उत्तेजना कायम राख्न कठिन हुने अवस्था हो । यो समस्याबाट ग्रसित पुरुषमा बिस्तारै यौन इच्छामा पनि कमी आउन थाल्छ ।

यौनक्रियाका लागि उत्तेजना सहित लिङ्गमा कडापन हुनपर्छ । यो समस्या भएमा त्यो सम्भव हुँदैन वा लामो समयसम्म कडापन कायम राख्न कठिन हुन्छ । जसकारण यौनक्रिया चाहेर पनि हुन पाउँदैन ।

यौन दुर्बलताले यौन सम्भोग प्रक्रिया पूर्ण वा सफलतापूर्वक हुन दिंदैन । यसको प्रभावले यौन जीवनमा मात्र नभई भावनात्मक रुपमा प्रभाव पर्छ । तर यो समस्या हुँदैमा आत्तिनु पर्दैन । किनकि यो समस्याको उपचार छ । उपचारपछि निको हुने सम्भावना पनि बढी हुन्छ ।

यो समस्यालाई दुई भागमा विभाजन गरिन्छ- प्राइमरी इरेक्टाइल डिसफङ्सन र सेकेन्डरी इरेक्टाइल डिसफङ्सन ।

प्राइमरी इरेक्टाइल डिसफङ्सन मानिस जीवनभर इरेक्सन (उत्तेजना) बनाइराख्न कठिन हुन्छ । तर यो समस्या एकदमै दुर्लभ हुन्छ । पहिला उत्तेजना हुने र कुनै कारणवश अचानक उत्तेजना नहुने समस्यालाई सेकेन्डरीमा राखिएको छ । औषधि, शल्यक्रिया वा जीवनशैलीमा ध्यान दिए यो समस्याको समाधान गर्न सकिन्छ ।

कारण

इरेक्टाइल डिसफङ्सन हुने शारीरिक वा मनोवैज्ञानिक कारण दुवै हुनसक्छ । यौन सम्पर्क गर्दा पुरुषको मस्तिष्क, मांसपेशी, रक्तनली, हर्मोन र स्नायु सबै संलग्न हुन्छन् । यी मध्ये कुनै पनि समस्याले इरेक्टाइल डिसफङ्सनको समस्या हुनसक्छ ।

शारीरिक कारण : यो मुख्यतया रक्त प्रवाह र रक्तचापसँग सम्बन्धित रोगको कारण हुनसक्छ । मुटुरोग, उच्च कोलेस्ट्रोल, मोटोपना, निद्राको रोग, मधुमेह र रक्तचाप जस्ता शारीरिक अवस्थाले लिङ्गमा रक्त प्रवाहलाई दखल पार्छ । जसले गर्दा उत्तेजना आउँदैन ।

मनोवैज्ञानिक कारण : यौन आघात मनोवैज्ञानिक समस्याहरूको कारण पनि हुनसक्छ । तनाव, पोर्नको लत, चिन्ता, डिप्रेसन, सम्बन्धमा निकटताको कमी, यौन क्रियामा राम्रो प्रदर्शनको कमी लगायतले हुनसक्छ ।

त्यसबाहेक केही औषधिले साइड-इफेक्टको रूपमा यो समस्या देखाउँछ । जसमा एन्टिहाइपरटेन्सिभ, एन्टिडिप्रेसेन्ट, एन्टिसाइकोटिक्स र केही अन्य औषधिहरू समावेश छन् ।

अस्वस्थर जीवनशैली पनि यसको कारण हुनसक्छ । यसमा धुम्रपान, अत्यधिक मदिरा सेवन, लागूपदार्थको प्रयोग, मोटोपना र शारीरिक क्रियाकलापको कमीले पनि यौन उत्तेजनामा दखल दिने गर्छ ।

भास्कुलर इरेक्टाइल डिसफङ्सन : कसैमा जन्मजात नै एथेरोस्क्लेरोसिस (धमनीको साँघुरो हुनु) र लिङ्गमा रगतको प्रवाह कम हुने जस्ता रक्तनलीहरूमा समस्या हुनसक्छ । जसले गर्दा लिङ्गमा उत्तेजना नआउने हुनसक्छ ।

लक्षण

यो समस्याको सबैभन्दा ठूलो लक्षण भनेको यौन सम्पर्कको क्रममा पुरुषमा उत्तेजना नहुनु र योनीमा प्रवेश गर्न नसक्नु हो । यो लक्षण एकै पटक नदेखिन पनि सक्छ । जसकारण पुरुषलाई यो समस्या हो भन्ने नलाग्न सक्छ ।

सुरुवातमा उत्तेजना ल्याउन कठिन हुन्छ । यस्तोमा प्रयास गर्दा पनि चाहेको जति उत्तेजित हुन नसक्दा यौन इच्छामा कमी आउन थाल्छ । उत्तेजना कमी हुँदै बिस्तारै उत्तेजना नै नहुनेसम्म लक्षण देखिन्छ ।

यस बाहेक अन्य लक्षण, शीघ्र स्खलन वा ढिलो स्खलन, उत्तेजना कायम राख्न कठिनाइ, यौन सन्तुष्टि नपाउनु जस्ता लक्षण पनि देखिन्छ । यो समस्याले ती पुरुष चिन्तित, उदास, लाज र लज्जित लगायत लक्षण महसुस गर्न सक्छन् ।

जोखिम कारक

यसको जोखिम कारकमा अनियन्त्रित मधुमेह, गम्भीर मानसिक समस्या (डिप्रेसन र सिंजोफेर्निया), तौल, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल पर्छन् ।

यी कारकहरूलाई ध्यानमा राखेर केही सावधानी अपनाएमा इरेक्टाइल डिसफङ्सनको जोखिमलाई हटाउन सकिन्छ ।

के यो समस्या स्थायी रुपमा रहन्छ ? यो समस्या लिएर आउने अधिकांशको यही प्रश्न हुन्छ । यो समस्या स्थायी हुँदैन । जति छिटो कारण पत्ता लाग्यो त्यति छिटो यसको उपचार सम्भव हुन्छ ।

परीक्षण

शारीरिक परीक्षण : लिङ्ग र अण्डकोष सहित नसामा उत्तेजनासँग सम्बन्धित परीक्षण

रगत परीक्षण : मधुमेह, टेस्टोस्टेरोन, मुटु सम्बन्धित समस्याबारे जान्न आवश्यक परीक्षण

अल्ट्रासाउण्ड : रक्त प्रवाहसँग सम्बन्धित परीक्षण

यी सबै परीक्षणपछि रिपोर्ट सामान्य आएमा मनोवैज्ञानिक परीक्षण गरिन्छ । यसका लागि मनोपरामर्शबाट समस्या पत्ता लगाइन्छ ।

उपचार

कस्तो खालको उपचार गर्ने भन्ने निर्णय व्यक्तिको स्वास्थ्य अवस्थामा निर्भर रहन्छ । उपचारमा खाने औषधि, मनोवैज्ञानिक सल्लाह, टेस्टोस्टेरोन उपचार र पेनाइल प्रत्यारोपण हुनसक्छ ।

यो समस्यामा उत्तेजना बढाउने ‘सिल्डेनाफिल’, ‘टेडलाफिल’, ‘वार्डनफिल’ नामक औषधि दिइन्छ । यी औषधिले शरीरमा नाइट्रिक अक्साइडको प्रभावलाई बढाई धमनीलाई खुकुलो बनाउँछन् । जसकारण लिङ्गमा पनि अस्थायी रूपमा रगतको प्रवाह बढ्छ । रगतको प्रवाह हुने बित्तिकै लिङ्गमा कडापन आउँछ र यौन क्षमता अस्थायी रूपमा बढ्छ ।

चिकित्सकले सिफारिस गरेको औषधिको मात्रा कति दिने भन्ने निर्णय स्वास्थ्य अवस्थामा निर्भर रहन्छ । त्यस्तै कुनै आघात, चिन्ता, तनावको समस्याले ग्रसित भएको पाइएमा मनोपरामर्श दिइन्छ । रिर्पोटमा टेस्टोस्टेरोनको कमी पाइएमा पनि यो समस्या हुन्छ । यसको कमी पूरा गर्न टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी गर्न सकिन्छ ।

यी सबै उपचारले नभएको खण्डमा पेनाइल प्रत्यारोपण गर्नुपर्छ । पेनाइल प्रत्यारोपणमा यौन इच्छा आउँदा उत्तेजना हुने एक किसिमको उपकरण प्रत्यारोपण गरिन्छ ।

 

डा. ऋत पौडेल यौन दुर्बलता स्वास्थ्य
डा. ऋत पौडेल
लेखक
डा. ऋत पौडेल
मनोचिकित्सक तथा यौनविद्

डा. पौडेल काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत छन्। उनले मनोचिकित्सामा एमडी र फेलोसिप साइको-सेक्सुअल मेडिसिन मा गरेका छन्। नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९९२० हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय