+
+

‘चिहानकी परी’ गायकको आफ्नै गीतमा ‘कपीराइट क्लेम’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १३:२९

काठमाडौं । गायक शिरीष खड्का पछिल्लो समय आफ्नै गीतमा कपीराइटको क्लेम गरिएपछि तनावमा छन् । आफ्नै आधिकारिक युट्युबमा च्यानलमा राखिएका गीतमा ‘अडियाम’ (लेबल)ले प्रतिलिपि अधिकारको दाबी गरेको हो ।

‘चिहानकी परी’, ‘बज्र’ जस्ता चर्चित गीतका गायक शिरीषका गीतमा डिजिटल संगीत रोयल्टी संकलन गर्ने अमेरिकी लेबल अडियामले कपीराइट दाबी गरेको हो । केही दिनअघि क्रिएटर स्टुडियोमा गएर हेर्दा कन्टेन्टको स्वामित्व (मालिक)मा अर्कैको नाम राखिएको देखेपछि आफूले थाहा पाएको उनको भनाइ छ ।

तर यो कसरी भयो भनेर आफूलाई जानकारी नभएको उनको भनाइ छ । कपीराइट दाबी गरिएका उनका गीत ‘चिहानकी परी’ एल्बममा संग्रहित छन् । रियाज म्युजिकले उक्त एल्बमलाई बजारमा ल्याएको थियो । उसले सन् २००८ तिर गीत रेकर्ड गरी सन् २००९ मा म्युजिक भिडियो ल्याएको थियो ।

रियाज म्युजिकसँग पाँच वर्षका लागि उक्त सम्झौता भएको शिरीष बताउँछन् । सोही सम्झौता अनुसार रियाजले आफ्नो युट्युब च्यानलमा ती गीत राखेको थियो ।

युट्युबपछि आफ्ना यी गीतलाई जियो साबन भन्ने म्युजिकल एपले समेत कपीराइट क्लेम गरेको खडकाले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । उनले यी कपीराइटको दाबी विरुद्ध कानुनी बाटो अपनाउने समेत जनाएका छन् ।

उनी लेख्छन्, ‘युट्युबपछि फेरि अर्को जियो सावन भन्ने एपमामा मेरो चिहानकी परी संग्रहको सम्पूर्ण गीतहरु तेलुगु भाषाको भनेर राखिएको रहेछ । कसको काम हो यो ? अब चाहिं अत्ति नै भयो । कानुनी बाटो अपनाउनुपर्‍यो ।’

आफूले युट्युबलाई यसबारे इमेल लेखेपनि कुनै वास्ता नगरेको उनले बताए । उनले यसबारे साइबर ब्युरो र मन्त्रालयमा जाने तयारी समेत गरिरहेको बताएका छन् । शिरीषका यी गीत कपी गरेर अन्य युट्युब च्यानलमा राखिएका गीतमा धेरै भ्युज पाइरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?