+
+

परम्परागत कानुन लगानीमैत्री वातावरणमा बाधक : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १४:०६

३१ भदौ, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परम्परागत कानुनका कारण नेपालमा अझैपनि उत्साहजनक लगानीमैत्री वातावरण बन्न नसकेको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७१औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले उद्योग व्यवसायसँग सम्बन्धित पुराना र अव्यावहारिक कानुनहरू समयसापेक्ष संशोधन नभएकै कारण लगानीकर्ताहरू निरुत्साहित भएको उनले बताए ।

‘हालै सम्पन्न लगानी सम्मेलनको पूर्वसन्ध्यामा निजी क्षेत्रका छाता संगठनहरूको सुझावका आधारमा सरकारले ८ वटा पुराना कानुन संशोधन गरेर केही सुधार भएको छ तर त्यो मात्र पर्याप्त छैन, अझै थुप्रै पुराना कानुनहरू संशोधन गर्नुपर्नेछ,’ ढकालले भने, ‘निजी क्षेत्रमैत्री ऐन कानुन र नीतिगत स्थायित्वले मात्रै लगानीकर्तामा लगानी गर्न आत्मविश्वास बढ्छ ।’

बैंकहरूमा ठूलो मात्रामा रकम थुप्रिएको तर लगानी नहुनुको कारण अव्यावहारिक कानुन र नीतिगत अस्थिरता नै भएको ढकालले औंल्याए ।

नयाँ सरकार गठनपछि नीजि क्षेत्रमा केही आशा पलाएको तर यत्तिले नपुग्ने उनले बताए ।

लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले भारतीय पर्यटकलाई ठूलो संख्यामा भित्र्याएर विदेशी मुद्रा आर्जनका लागि नीतिगत सुधार गरी सीमाबाट आवत जावत सहज बनाउनुपर्ने बताए ।

बुटवलमा बनेका दुई केबुलकारमा नेपालीभन्दा भारतीय पर्यटकको संख्या बढी रहेको भन्दै भारतीय पर्यटकलाई सीमा जोडिएका जिल्लाभित्र आवागमनमा लिंदै आएको शुल्क मिनाहा र सहज वातावरण बनाइदिन ढकालले सरकारसँग आग्रह गरे ।

‘अहिले सीमाबाट ५ किलोमिटर मात्र सवारीसाधनमा आउन पाउने  व्यवस्था छ, यसलाई कम्तीमा चुरेको फेदीसम्म वा जिल्लाभर एउटै शुल्कमा घुम्न पाउने नीतिगत व्यवस्था गर्न आवश्यक छ,’ ढकालले भने, ‘भारत उत्तर प्रदेशको २४ करोड जनसंख्यालाई लुम्बिनी प्रदेशमा आकर्षित गर्न सरकारी तहबाट नै वार्ता र सम्वाद गर्न आवश्यक छ ।’

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा निजी क्षेत्रले १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी सञ्चालनमा ल्याएको जानकारी गराउँदै अध्यक्ष ढकालले अब देशभरिका उद्योगी व्यवसायीले लगानीको अभावमा खुम्चेर बस्न नपर्ने बताए ।

‘ठूला परियोजनामा लगानीका लागि विदेशी लगानीकै भर पर्नुपर्छ भन्ने मान्यतालाई निजी क्षेत्रले तोडेको छ, यो कम्पनीको सेयर बन्न र कर्जा लिन सबैलाई ढोका खुला छ,’ ढकालले भने ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजू, रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा लगायतले औद्यौगक विकास, रोजगारी सिर्जना र रुपन्देहीलाई आर्थिक राजधानी बनाउन मोतिपुर औद्योगिक क्षेत्र कार्यान्वयनमा आउन अपरिहार्य रहेको भन्दै ढकालले यसलाई छिटो बनाउन सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?