+
+

पर्वतमा दुई दशकदेखि वायु ऊर्जा अलपत्र

रासस रासस
२०८१ भदौ ३१ गते १४:३८
फाइल फोटो ।

३१ भदौ, पर्वत । झन्डै दुई दशकदेखि अलपत्र बनेको पर्वतको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलामखानीमा करोडौं रुपैयाँको लगानीमा बनेको हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो ।

दुई दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समयसमयमा मर्मतसम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन भएको छैन । त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् ।

लथालिंग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । विसं २०६० मा स्थापना भएको केन्द्र २०६३ सालमा तीन वर्षपछि नै बन्द भएको थियो । टिटिबिजी नामक संस्थाले एक करोड रुपैयाँभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो ।

संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय ठाकुर रसाइलीले जानकारी दिए । त्यसमा भएको लगानी पनि डुबेको उनको भनाइ छ ।

फलामखानीका वडाध्यक्ष गोविन्द विश्वकर्माका अनुसार समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । वायु ऊर्जा सञ्चालनमा आएपछि फलामखानी, भँगरा लगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको उनको भनाइ छ ।

त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने विश्वकर्माले बताए । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, ऊर्जा मन्त्रालय लगायतसँग माग गरिएको अध्यक्ष विश्वकर्माले बताए ।

संयुक्तराष्ट्र संघीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्टअनुसार नेपालमा तीन हजार मेगावाट विद्युत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो ।

वायु ऊर्जा आयोजना पुनर्निर्माण गर्न सकेमा फलामखानी करिब तीन सय घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ । महाशिला गाउँपालिकाले उक्त वायु ऊर्जा आयोजनाका बारेमा विस्तृत अध्ययन गरी पुनः सञ्चालनका लागि कार्ययोजना बनाउने तयारी गरेको अध्यक्ष ईश्वरी भुसालले बताइन् । चालु आर्थिक वर्षदेखि नै अलपत्र आयोजनाको व्यवस्थापनमा लाग्ने उनले बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?