+
+

गोर्खा मिडियाले तिरेन २५ लाख बढी घरभाडा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १५:०९

३१ भदौ, काठमाडौं । ग्यालेक्सी फोर के टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कले १० महिनादेखि घरभाडा नतिरेको फेला परेको छ । भाडा नतिरेपछि घरधनीले घर खाली गर्न महानगरमा निवदेन दिएका छन् ।

मृगेन्द्रप्रसाद मिश्रको घरमा गोर्खा मिडियाले २५ भदौ २०७७ मा १० वर्षका लागि मासिक २ लाख ५० हजार रुपैयाँ घरभाडा तिर्ने गरी सम्झौता गरेको थियो ।

मिडियाका तत्कालीन अध्यक्ष छविलाल जोशीले घरधनीसँग भाडा सम्झौता गरेका थिए । पछि सञ्चालक फेरिएर गितेन्द्र बाबु (जीबी) राईले पुनः सम्झौता गरेका थिए ।

राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहितले काठमाडौं महानगर–३ बालुवाटारमा मृगेन्द्रप्रसाद मिश्रको घर टेलिभिजन सञ्चालनका लागि भाडामा लिएका थिए । टेलिभिजनका तर्फबाट जीबी राई र घरधनी मिश्रले मात्रै हस्ताक्षर गरेका थिए ।

मिश्रका अनुसार पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेले पनि घर भाडाका लागि घरधनी मिश्रसँग कुराकानी गरेका थिए ।

‘उहाँ (रवि) जत्तिको मान्छे प्रबन्ध निर्देशक भएको ठाउँमा विश्वास गरेर घर भाडामा दिइयो, अहिले तनाव भएको छ’, मिश्र भन्छन् ।

मंसिर २०८० सम्म मिडियाले नियमित घरभाडा बुझाउँदै आएको थियो । नियमित भाडा आउन छाडेपछि घरधनीले १६ जेठमा घरबेटीले महानगरपालिकाको वडामा उजुरी दिएका थिए ।

उक्त उजुरी वडाबाट कार्यान्वयन हुन नसकेपछि २ साउनमा महानगरपालिकामा पठाइएको थियो । त्यसपछि महानगरपालिकाको न्यायीक समितिमा ७ साउनमा घरबेटी वादीका रूपमा राखेर मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएपछि काठमाडौं महानगरपालिकाले ८ साउनमा ७ दिनको सूचना घरमा टाँस्यो । गोरखा मिडियाको नाममा पत्र पनि काट्यो । त्यसपछि गोरखा मिडियाले चलाइरहेको ग्यालेक्सी फोरके टीभी रहेको घरमा सूचना टाँस गर्दा पनि टीभीका कोही पनि सम्पर्कमा आएका छैनन् ।

‘सूचना टाँस गर्दा पनि कोही आएनन्, घरमा सेक्युरिटी गार्ड चाहिँ अहिले पनि राखेको छ । ऊमार्फत कुरा गर्दा टीभीका कर्मचारी सन्तोष ढकालले पैसा दिने बताउँछन् । तर दिने अत्तोपत्तो छैन,’ घरधनी मिश्रले अनलाइनखबरसँग भने ।

१७ भदौसम्म कोही सम्पर्कमा नआएपछि महानगरपालिकाको न्यायिक समिति इजलासले सम्पर्कमा आउन पत्रिकामा सूचना निकाल्ने आदेश दियो । १९ भदौमा गोरखापत्रमा सूचना निकालिएको थियो । अहिलेसम्म पनि महानगरमा घरभाडा सम्बन्धी छलफल गर्न ग्यालेक्सी फोर केको कोही पनि सम्पर्कमा आएका छैनन् ।

‘हामी तीन जनाको संयुक्त घर हो, घरको किस्ता, बालबच्चा पढाउने समेत पैसा हुन छाडिसक्यो । नियमित घर भाडा आउनुपर्नेमा नआएपछि व्यवहार पूरै बिग्रेको छ’, मिश्रले गुनासो पोखे ।

उनका अनुसार टेलिभिजन रहेको घरको कम्पाउन्डमा दुइटा गाडी देखिन्छ भने अन्य सामान पनि भित्र नै रहेको छ ।

‘घरमा वैशाखदेखि विद्युत् प्राधिकरणले लाइन काटिदिएको छ । बहालकर पनि तिरिदिएको छैन, अहिले त्यस्तो अवस्था छ’, मिश्र भन्छन् ।

प्रत्येक दुई वर्षमा १० प्रतिशतले घरभाडा वृद्धि हुने सम्झौतामा उल्लेख छ । गोर्खा मिडिया नेटवर्कले गरेको सम्झौता अनुसार प्रत्येक तीन महिनाको भाडा ७ दिनभित्र चेकबाट तिर्नुपर्ने थियो । तर, गत वर्ष मंसिरदेखि ग्यालेक्सी फोरके बन्द भएपछि अहिले घर भूतबंगला जस्तो बनेको मिश्र बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?