+
+

यलमाया केन्द्रमा गुञ्जियो गुरूदेव कामत र रविदास श्रेष्ठका राग-बन्दी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते २०:१८

२६ साउन, काठमाडौं। शास्त्रीय संगीतका अमर श्रष्ठाद्वय गुरूदेव कामत र रविदासलाई संगीतकर्मी तथा उनका शिष्यहरूले स्मरण गरेका छन् । सोमबार ललितपुरको पाटनस्थित यलमाया केन्द्रको प्राङ्गणमा नेपाल शास्त्रीय संगीत समाजले आयोजना गरेको ४५औं दिनको तिथिमा श्रद्धार्पण कार्यक्रममा गुरूदेव र रविासले नेपाली शास्त्रीय गीतसङ्गीतमा पुर्‍याएको योगदानको चर्चा गर्दै संगीतकर्मीले राग र बन्दीमार्फत सम्झिएका हुन्।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् वरिष्ठ गायक शम्भु राईले  कला र सृजनाहरूलाई जोगाउन प्रतिष्ठान दिल खोलेर लाग्‍ने बताए ।’हामी अब कला, गला र श्रष्ठाका सृजनाहरू बचाउन दिल खोलेर लाग्‍नेछौ, ‘ उनले भने, ‘यसबारेमा नाट्य प्रज्ञा प्रतिष्ठान कलाकारहरूको लेखाजोखा राख्‍ने काममा सक्रिय हुन्छ। हामीले कलाकारहरूका लागि भनेर पलेटी कार्यक्रम गर्ने तयारी गरिरहेका छौं।’

उनले सरकारले भवितव्य आइपर्दा नेताहरूलाई मात्रै हेर्ने गरेको तर कलाकारहरूले अकालमै मृत्यु वरण गरिरहनु दु:खद भएको गुनासो गरे । उनले भने, ‘ हाम्रा दुई अमर श्रष्ठाहरू खासगरी गुरूदेव कामतज्‍यूको जुन प्रकारले उपचार अभावमा मृत्यु वरण गर्नुभयो। सायद उहाँ अहिले नेता भइदिनुभएको भए यस्तो हुँदैनथ्यो होला।’

यस्तै सांस्कृति संस्थान, जमल नाँचघरका महाप्रबन्धक किरणबाबु पुनले शास्त्रीय संगीत, लोक संगीत र सांस्कृति कलाहरूलाई जोगाउनुपर्ने अहिलेको मुख्‍य आवश्‍यकता भएको बताए ।

‘सांस्कृति संस्थानले शास्त्रीय संगीत, लोक संगीत र सांस्कृति कलाहरूलाई जोगाउँदै आइरहेको छ,’ उनले भने, ‘ हामीले प्रत्‍येक वर्ष लोक संगीत र शास्त्रीय संगीतका बारेमा खोजीनीति गर्दै आएको छौं। हाम्रा श्रष्ठाहरूलाई थप बलियो बनाउनु नै अहिलेको आवश्यकता हो जस्तो लाग्छ।’

ललितकला क्याम्पसका क्याम्पस प्रमुख रमेश पोखरेलले अमर श्रष्ठाहरूलाई बचाउने र युगयुगसम्म चिनाउन उनीहरूको नाममा पुरस्कार स्थापना र विद्यालयदेखि विश्वविद्यालयसम्म जीवनी अध्यापन गराउनुपर्ने बताए ।

उनले भने, ‘ आज जति पनि शास्त्रीय संगीतका गुरूहरू हुनुहुन्छ वा साधकहरू हुनुहुन्छ। उहाँहरूलाई हामीले अजर र अमर बनाउन उहाँहरुको नाममा पुरस्कार स्थापना गर्नु जरूरी छ जसले थप नयाँ पुस्ताले चिन्ने र प्रेरणा पाउनेछन्। साथै श्रष्ठाको जीवनी विद्यालयदेखि विश्वविद्यालयसम्म पढाइनुपर्छ।’

सितारवादक तथा सुकर्म सांगीतिक ब्याण्डका अध्यक्ष प्रा.डा.ध्रुवेशचन्द्र रेग्मीले सरकारले श्रष्ठा र कलाकारहरूको हितमा काम गर्न चुकेको गुनासो गरे । उनले भने,’ कलाकार र श्रष्ठा अझ भनौ शास्त्रीय संगीतका साधकहरूको बारेमा सरकारले सोचेकै छैन।यसमा सरकार धेरै पटक चुकिसक्यो। अब नचुकोस्।’

यस्तै नेपाल शास्त्रीय संगीत समाजकी अध्यक्ष एवम् वरिष्ठ गायिका संगीता राणा प्रधानले कलाकारहरूको सृजनाहरूलाई सरकारले संरक्षण गरिदिनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘कलाकारहरूले आफ्नो जिन्दगी नै संगीतमा समर्पण गरिदिन्छन्। तर उनीहरूको हकअधिकार र सृजनाहरू हराएर जान्छन्। यसबारेमा सरकारले चासो दियोस्। सृजनाहरू जोगाइदिओस्।’

संगीत समाजका उपाध्यक्ष जीवन आलेले शास्त्रीय संगीतका दुई नक्षत्र गुरूदेव कामत र रविदास श्रेष्ठ गुमाउनु संगीत क्षेत्रका लागि अपूरणीय क्षति भएको बताए ।

उनले गुरूदेव र रविदाससँगको सम्बन्ध सम्झिदै भने, ‘म गुरूदेव कामतसँग २ महिनासम्म सँगै बसेर युरोप टुर गरेको छु। उहाँजस्तो साधारण संगीत साधक नेपालमै छैन सायद। अर्का संगीत साधक रविदासजीले पीएचडी गर्नुहुँदै थियो। उहाँले जीवनको अन्तिम क्षणसम्म संगीत नै पढाउनुभयो र नेपाली भाषामै राग र बन्दीहरू दिएर जानु भएको छ।’

कार्यक्रममा शास्त्रीय संगीतका वरिष्ठ कलारकारद्वय चन्दनकुमार श्रेष्ठ र चण्डीप्रसाद काफ्ले, वरिष्ठ गायिका पवित्रा सुब्बा, लोचन भट्टराई,  मोहनप्रसाद जोशी, वीणा राणा, मथुरा श्रेष्ठ, सुरेशराज आचार्य, गोकुल लिम्बुलगायतका कलाकारहरुको उपस्थिति थियो।

कार्यक्रममा शास्त्रीय संगीतका कलाकारहरूले बासुरीमार्फत लोक शान्ति धुन, तानपुरामार्फत शास्त्रीय संगीतको राग र बन्दी गाएर सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?