+
+
टिप्पणी :

रविमाथि उठ्यो गम्भीर कानुनी, राजनीतिक र नैतिक प्रश्न

रविले भने, ‘मैले क्लिन चिट पाएँ ।’ तर संसदीय छानबिन समितिका सभापति सूर्य थापाले प्रष्ट भनेका छन्– ‘रविमात्रै होइन, कुनै पनि सहकारी बचत अपचलनकर्ताले क्लिन चिट पाएका छैनन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते २०:३५

३१ भदौ, काठमाडौं । रवि लामिछानेले विगतमा मिडियामार्फत् उठाउने गरेका सुशासनका प्रश्नहरु कर्णप्रिय थिए । उनले सुशासनकै एजेन्डामा तीव्रगामी राजनीतिक छलाङ पनि मारे । तिनै लामिछाने आफैंले चर्को आवाजमा उठाउँदै आएको सुशासनकै परीक्षामा एक पटक होइन, पटक पटक असफल  दरिएका छन् ।

विगतमा नागरिकता र राहदानी प्रकरणमा गम्भीर त्रुटि गरेको ठहर भएसँगै एकैपल्ट मन्त्री, सांसद, पार्टी प्रमुख तीन पद गुमाउन पुगेका लामिछानेलाई उपचुनावमार्फत् मतदाताले पुरक परीक्षा पास त गराए । तर उनी आफैं अर्को गम्भीर कृत्यमा मुछिएको प्रष्ट किटान भएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय विशेष समितिले रास्वपा सभापति रविलाई समेत बचत अपचलनकर्ता ठहर्याउँदै प्रतिवेदन संसदमा पेश गरेको छ ।

संसदीय विशेष समितिले लामिछाने लगायत अपचलनकर्तामाथि प्रचलित कानुन बमोजिम कारबाही गर्न सरकारसमक्ष सिफारिश पनि गरेको छ । याद गर्नुपर्ने के छ भने रास्वपाकै सांसद शिशिर खनालसमेत यो प्रतिवेदन तयार पार्ने समितिमा थिए, जसको यो सिफारिशमा कुनै नोट अफ् डिसेन्ट छैन । अर्थात् प्रतिवेदन सर्वसम्मतिले संसदमा टेबुल भएको छ । सभामुख देवराज घिमिरेले सरकारलाई आवश्यक कारबाहीका लागि प्रतिवेदन पठाउन सचिवालयलाई रुलिङ गरिसकेका छन् ।

आज समितिले सभामुखसमक्ष प्रतिवेदन बुझाउने क्रममा लामिछानेमाथि जुन शब्द–शब्दमा जोड दिँदै कानुनी कारबाहीको सिफारिश नै गर्न पुगेको छ, त्यसका कारण लामिछानेमाथि गम्भीर कानुनी, राजनीतिक तथा नैतिक प्रश्न खडा भएको छ ।

समितिले रास्वपा सभापति लामिछानेसँग तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रबन्ध निर्देशकको हैसियतमा ६५ करोड रुपियाँको जवाफदेही खोजेको छ । आज प्रतिनिधिसभामा छानबिन समितिका सभापति सूर्य थापाले उक्त सम्पत्ति सहकारीबाट आएकाले तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा रविलाई जिम्मेवार ठहर्याएका हुन् ।

यसअघि रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका थिए । उनी अहिले पनि आफूले क्लिन चिट पाएको दाबी गर्दैछन्, जबकि प्रतिवेदनमा प्रष्ट बुझिनेगरी प्रचलित कानुनबमोजिम कारबाही सिफारिश गरिएको छ ।

एकैछिन यो ‘प्रचलित कानुनबमोजिम’ भन्ने प्रतिवेदनमा उल्लिखित शब्दको पछिल्तिर जाउँ ।

थापा नेतृत्वको छानबिन समितिका सदस्यहरुले सहकारी ऐनको दफा १२२ उल्लेख गर्दै प्रतिवेदनमा सो बमोजिम कारबाही सिफारिश गरौं भन्ने प्रस्ताव गरेका थिए । उनीहरुले यसो भन्नुको आधार चाहिँ राप्रपाकी सांसद गीता बस्नेतलाई यसअघि रवि लामिछानेकै जस्तो प्रकृतिको ठगीमा संलग्न भएको हुनाले पुलिसले काटेको पक्राउ पूर्जीको नजिर थियो ।

याद गरौं, सांसद बस्नेत रविझैं प्रबन्ध निर्देशकजस्तो अति जिम्मेवार पदमा थिइनन्, सन्चालक समिति सदस्यमात्रै थिइन् । तर पनि प्रचलित कानुन आकर्षित भएपछि उनलाई प्रहरीले खोज्न सुरु गर्यो । सांसद बस्नेत यति बेलासम्म पनि फरार नै छिन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त आफ्नो सांसदको बचाउ नगरी सुशासनको पक्ष लिँदै उस्तै प्रकृतिका लामिछानेलाई किन उन्मुक्ति भनी संसदमै प्रश्न उठाएका थिए ।

सहकारी छानबिन समितिका सदस्यले यो तर्कमा तथ्य भेटाएका पनि थिए ।

तर रास्वपा सांसद शिशिर खनालले मानेनन् । उनले भनेका थिए, ‘यसलाई घुमाउरो भाषामा लेखौं न । ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्न सिफारिश गरौं । आखिर कुरो उही त हो, दफा १२२ ।’

सुरुमा थापा र अरु सदस्य तयार नभए पनि त्यसमा सहमति नगरे बैठक नै अघि नबढ्ने प्रष्ट भएपछि उनीहरु प्रचलित कानुनबमोजिम भन्ने शब्द लेख्न तयार भएका थिए ।

लामिछाने, रास्वपा उपसभापति स्वर्णिम वाग्ले, रास्वपा सांसद तथा समिति सदस्य खनालले सोमबार प्रेससामू बोल्ने क्रममा यो तथ्यलाई तोडमोड गर्दै पेश भएका छन् । तर जति तोडमोड गरे पनि ‘प्रचलित कानुनबमोजिम’ अर्थात् कानुनमा व्यवस्था भएको दफा १२२ बमोजिम नै सरकारलाई अघि बढ्न आधार स्वयं प्रतिवेदनले दिएको छ । यो दफामा कैदलगायत विभिन्न दण्डको प्रष्ट व्यवस्था छ । गृहमन्त्री रमेश लेखकले ‘प्रचलित कानुन’ को कार्यान्वयन गरेनन् भने उनले प्रतिनिधिसभाका दुई सदस्य लामिछाने र बस्नेतका लागि दुई अलग–अलग मापदण्ड बनाएको मानिनेछ ।

यद्यपि प्रश्न लामिछानेको मात्रै होइन, हजारौं सहकारी बचत अपचलनका पीडितहरुको हो । अनि लाखौं सहकारी बचतकर्ताहरुको बचत सुरक्षाको हो, जसमा सरकारलाई संवेदनशील हुने सहकारी छानबिन समितिले प्रष्ट दिशानिर्देश गरेको छ ।

यस छानबिनका क्रममा लामिछानेले संसदीय समितिसमक्ष १० घन्टा लामो बयान दिएका थिए । यसबीचमा उनलाई कास्की प्रहरीले चितवनबाट पोखरा बोलाउन खोजेको थियो । उनले आफैं पोखरा आउने बचन दिएका थिए । भोलिपल्ट चितवनमा बोल्दै उनले आफूमाथि मिडिया ट्रायल भएको जिकिर पनि गरेका थिए । यद्यपि उनी संसदीय समिति र प्रहरी दुवैसामू बयानका लागि पेश भने भए ।

आज संसदीय छानबिन समितिले उनलाई गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रुपमा सहकारी अपचलनको एक जिम्मेवार ठहर गरेको हो ।

रविले चुनाव सकिएलगत्तै भनेका थिए, यो आक्रोशको जनमत होइन, आशाको जनमत हो । आज क्रिकेटको रिपोर्टिङ गर्न पत्रकार पुग्दा पनि तिनले ‘१२ भाइ’ को घृणा पाइरहेका छन् । यो आशा होइन, आक्रोश, आक्रोश होइन, घृणा– अर्थात् नेपाली समाजको भित्री तहसम्म सल्किइरहेको घृणावादका प्रणेता उनै रवि बन्न पुगे ।

यतिमात्रै होइन, उनले आफ्नो बारे समाचार लेखेको प्रतिशोध साँध्न प्रकाशक अर्थात् कानुनको आँखामा एउटा व्यक्तिविरुद्ध सिंगो राज्यको स्रोतसाधन परिचालित गरेका थिए । आज कैलाश सिरोहियाविरुद्ध कुनै प्रमाणित अभियोग छैन । तर तिनै पूर्वगृहमन्त्री, सांसद, पार्टीको प्रमुख रहेका लामिछानेलाई संसदीय समितिले सहकारीका बचतकर्ताको रकम अपचलन गर्नेमध्येको सूचीमा जिम्मेवारमध्ये एक ठहर्‍याइदियो ।

यति बेला रास्वपाको पार्टीपंक्ति, अनि यसभित्र सक्रिय अनेकौं उत्साहित युवापंक्तिको चर्चा गर्नु आवश्यक हुन्छ । ती युवा, जसलाई साँचो अर्थमा नेपालमा परिवर्तन चाहिएको छ, अनि त्यो पंक्ति हिजो रविकै हुटहुटीमा हैंसे गर्न तयार थियो । अब त्यो पंक्ति आफैं निराशावादमा फस्ने खतरा छ ।

विडम्बना यो छ कि रवि ‘जान्नेलाई छान्ने’ नारा दिँदै मिडिया क्षेत्रबाट राजनीतिमा मार्ग परिवर्तन गरेका थिए । अब उनीसँग न राजनीति सुधार्ने नैतिक हैसियत रह्यो, न त ‘मिडिया सुधार्ने ।’ सुशासनको एजेन्डा उठाएर पार्टी खोल्ने रवि लामिछाने आफैं सुशासनको परीक्षामा पटक–पटक फेल भएका छन् ।

संसदीय समिति सभापति सूर्य थापाको भनाई उद्धृत गर्ने हो भने, रविले मात्रै होइन, कुनै पनि बचत अपचलनकर्ताले क्लिन चिट पाएका छैनन् । त्यस अर्थमा रविले आफूमाथि उठेका गम्भीर कानुनी प्रश्नको सामना गर्नैपर्ने छ । नयाँ पुस्ताले गरेको भरोसाको राजनीतिक जवाफ दिर्नैपर्ने छ । अनि व्यक्तिगत नैतिकताबारे उठेका प्रश्नबाट भाग्ने कुनै ठाउँ छैन । आफैंले आफैंलाई क्लिनचिट दिलाउन त तानाशाहीमा मात्रै सम्भव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?