+
+

रविमाथि आकर्षित हुन सक्छ छिपछिपे सहकारीको नजीर

गोर्खा मिडियाको कार्यकारी भूमिकामा रहेका बेला सहकारीको रकम दुरुपयोगमा रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय समितिले उनीमाथि थप अनुसन्धान र कारवाहीको सिफारिस गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते २१:०६

३१ भदौ, काठमाडौं । संसदीय विशेष समितिले सहकारीको वचत रकम दुरुपयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि संलग्न रहेको निष्कर्ष निकालेको छ ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोमबार प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदनमा गोर्खा मिडिया प्रालिमा विभिन्न सहकारीबाट आएको रकम दुरुपयोगमा प्रबन्ध निर्देशकको हैसियतमा रवि लामिछाने संलग्न रहेको निष्कर्ष निकालेको हो ।

गोर्खा मिडिया प्रालिले काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट रकम प्रवाह भएको थियो ।

समितिले अध्ययनका क्रममा ऋण लिने प्रक्रियामा रविको संलग्नता भेटेन । निवेदन नदिएको, ऋण सम्बन्धी फारम र कागजातमा रविको कुनै हस्ताक्षर नभएको र सहकारीबाट निकालिएको रकम रविको खातामा नभई गोर्खा मिडिया प्रालिको खातामा जम्मा भएको थियो ।

सहकारीको खाताबाट गैरकानुनी ऋण लिएको विषयमा भने समितिले रविसहित गोर्खा मिडियाका तत्कालिन सञ्चालकहरुलाई जिम्मेवार ठहर्‍याएको छ । त्यसक्रममा उसले कम्पनी सञ्चालन सम्बन्धी कानुनी मान्यताको आधारमा रविको संलग्नता रहेको उल्लेख गरेको हो ।

समितिको सुझावमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरु अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, तथा तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छबिलाल जोशी कम्पनीमा साझेदारका रुपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’

रास्वपा सभापति लामिछानेले भने सहकारीको रकम दुरुपयोगमा आफ्नो संलग्नता नदेखिएकाले समितिले आफूलाई ‘क्लिन चिट दिएको’ प्रतिक्रिया दिएका छन् ।

पर्दा पछाडिको खेल

कुनैपनि कम्पनीको आडमा गैरकानुनी काम र अपराध भएमा कम्पनीको काम कारवाहीको भित्री तहमा गई त्यसमा को संलग्न छ भनेर हेर्ने गरिन्छ । ‘लिफ्टिङ द कर्पोरेट भेइल (कर्पोरेट आवरणको पर्दा उठाउने सिद्धान्त) अनुसार कम्पनीको कामकारवाहीमा जो संलग्न हुन्छ, उसैलाई जिम्मेवार मानिन्छ र कानुनको दायरामा ल्याइन्छ ।

अधिवक्ता एवं कर्पोरेट कानुनका ज्ञाता रमण कर्ण कुनैपनि संस्थाको उद्देश्य विपरीत गैरकानुनी रुपमा काम भएमा त्यसमा संलग्नमाथि अनुसन्धान गर्न पाउने अवधारणा रहेको बताउँछन् ।

‘यो सिद्धान्तले संस्था वा कम्पनीको आवरणमा पर्दापछाडि खेल्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउने प्रक्रियाको वकालत गर्छ’, उनी भन्छन्, ‘यही सिद्धान्त र अरु प्रमाणका आधारमा गोर्खा मिडियामा रवि लामिछानेमाथि भूमिकामाथि अनुसन्धान हुनुपर्ने आवाज उठेको हो । समितिले पनि त्यही आधारमा सिफारिस गरेको देखियो ।’

कुनैपनि कम्पनीको काम कारवाहीमा सञ्चालक, शेयर सदस्य र प्रबन्ध निर्देशक जिम्मेवार हुने भन्दै संसदीय छानबिन समितिले कम्पनीमा प्राप्त हुने रकमप्रति ‘जिम्मेवारी र दायित्वबोध नगर्न नमिल्ने’ व्याख्या गरेको हो । समितिले निष्कर्षमा भनेको छ, ‘खातावाल हस्ताक्षरकर्ताहरू जो खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसवापत दायित्व ग्रहण ग्रहण गर्नुपर्छ ।’

सहकारीको रकम गोर्खा मिडियामा आएपछि खर्च गर्ने र गराउने प्रक्रियामा अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई जिम्मेवार ठहर्‍याएको हो । रविले शेयर बेचेपछि पूर्व प्रहरी अधिकारी रहेका छविलाल गोर्खा मिडियामा भित्रिएका थिए ।

कानुनको उल्लंघन

रवि लामिछानेले आफू सहकारीमा आवद्ध नभएको, सदस्यता नलिएको र औपचारिक रुपमा ऋण नलिएको जिकिर गर्दै आएका छन् ।

तर संसदीय समितिले नै सहकारीको रकम दुरुपयोगमा गोर्खा मिडिया प्रालिको टिम संलग्न भएको निष्कर्ष निकालेको हो । सहकारी ऐनको दफा १२२ (त) मा सहकारी संस्थालाई हानीनोक्सानी पुर्‍याउने कुनै काम गरेमा सहकारीसम्बन्धी कसुर गरेको मानिने व्यवस्था छ ।

उक्त ऐनमा हिनामिना भएको रकमका आधारमा बिगो र जरिवानाको परिकल्पना गरिएको छ । १० करोडदेखि एक अर्ब रुपैयाँसम्म हिनामिना भए ६ देखि ८ वर्षसम्म कैद सजाय हुन्छ ।

गोर्खा मिडियामाथि विभिन्न सहकारीबाट करिब ८५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । उक्त ऐनको दफा १२४(३) मा कुनै कम्पनीको आडमा सहकारीको रकम अपचलन भए कम्पनीको कार्यकारी भूमिकामा रहेकाहरुमाथि सजाय हुने व्यवस्था छ ।

सहकारी छानबिन समितिले रवि लामिछानेलाई गोर्खा मिडियामा हालेको शेयरका बारेमा पनि सोधेको थियो । जवाफमा लामिछानेले आफ्नो ख्याती बापतको शेयर (स्वेट शेयर) पाएको बताएका थिए ।

बयानमा उनले गोर्खा मिडियाका अध्यक्ष जीबी राईले आफूलाई ७५ लाख दिएको र त्यो रकम शेयरमा हालेको भनी खुलाएका छन् । पछि शेयर बेच्दा कम्पनी रजिष्ट्रारको कार्यालयमा रकम लेनदेनका लागि चेक पेश गरेको भएपनि जीबी राईबाट रविको खातामा भुक्तानी भएको थिएन ।

गोर्खा मिडियाको कयौं कारोबार र प्रडक्सन हाउसमा भएको रकमको प्रवाहमाथि समेत समितिले छानबिन गरेको थियो । रास्वपाका सहमहामन्त्री एवं त्यतिबेला नोबडी प्रडक्सनका सञ्चालक विपिन आचार्यलाई पनि समितिले बोलाएर सोधपुछ गरेको थियो ।

समितिले गोर्खा मिडियाका कतिपय कारोबार र त्यसमा सञ्चालकहरुको भूमिकालाई ‘दण्डनीय संलग्नता’ भनी संकेत गरेको ती सदस्यले बताए । उनले भने, ‘अनुसन्धान गर्ने निकायहरुले सक्रियता देखाए गैरकानुनी नगद प्रवाहका अरु विवरण खुल्दै जालान् ।’

छानबिन समितिले त्यो कामलाई ‘कीर्ते कागजकै आधारमा (शेयरको) खरिद बिक्री भएको पाइएको’ भनेको छ । मुलुकी अपराध संहिता ऐन अनुसार कीर्ते कागजात तयार गर्नु र त्यसका आधारमा कुनै काम गराउनु दण्डनीय हो । शेयर खरिदबिक्रीको विषयमा भने समितिले कीर्ते भनी उल्लेख गरेपनि नीतिगत सुधारबाहेक अनुसन्धानको अरु सिफारिस गरेको छैन ।

समितिमा रहेका एक सांसदका अनुसार, कारवाही र अनुसन्धानको सिफारिस गर्दा किटेरै कानुन लेख्ने कि नलेख्ने भन्नेमा मतभेद भएको थियो ।

‘तर अनुसन्धान गर्ने निकायलाई पनि स्वविवेक प्रयोग गर्न दिनुपर्ने राय आएपछि कीर्ते, कम्पनी ऐनको उल्लंघन, गैरकानुनी रकम प्रवाहजस्ता विषय उल्लेख भएको हो’, ती सदस्यले भने, ‘त्यस्ता कसुरमा कुन कानुन आकर्षित हुन्छ भन्नेबारे त अनुसन्धान गर्नेले नै हेर्नुपर्छ भन्ने निष्कर्ष निकालियो ।’

छिपछिपेको नजीर

तीन महिनाअघि नवलपरासीको छिपछिपे उपभोक्ता सहकारीको रकम दुरुपयोग गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेतसहित ३५ जना विरुद्ध मुद्दा दायर भएको थियो । उक्त सहकारीको रकम बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको थियो ।

त्यतिबेला सहकारीको करिव ९० लाख रुपैयाँ रिसोर्टमा प्रवाह भएको थियो । एक दशकअघि स्थापना भएको रिसोर्टमा सांसद बस्नेत र उनका ज्वाई नगेन्द्र रिमाल सञ्चालक थिए । रिमाल स्वयं पनि छिपछिपे सहकारीका सचिव हुन् ।

कृष्णसार रिसोर्टमा सांसद बस्नेत सञ्चालक मात्रै थिइन् । सहकारीको रकम रिसोर्टमा प्रवाह भएको आधारमा प्रहरीले अनुसन्धान गरी सांसद बस्नेतमाथि समेत मुद्दा चलाएको थियो । त्यही आधार टेकेर कांग्रेस सांसदहरुले सहकारीमा संलग्न नभएपनि गोर्खा मिडियामा आवद्ध भएकाले रवि लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याई मुद्दा चलाउनुपर्ने माग गरेका थिए ।

समितिका सदस्य एवं राप्रपा सांसद ध्रुबबहादुर प्रधान सहकारीको रकम अपचलनमा रवि लामिछानेको भूमिकालाई दुई कोणबाट हेरिनुपर्ने बताउँछन् । ‘एकातिर उहाँको नाममा तीन करोड रुपैयाँ गोर्खा मिडियामा प्रवाह भएको छ, त्यसमा आफ्नो संलग्नता अस्वीकार गर्नुहुन्छ’, उनी भन्छन्, ‘गोर्खा मिडियामा उहाँ कार्यकारी भूमिकामा रहेकाले रकम भित्र्याए बापत आकर्षित हुने जिम्मेवारीबाट भाग्न मिलेन ।’

रवि लामिछानेको नाममा बुटबलको सुप्रिम सहकारीबाट दुई करोड र पोखराको सूर्यदर्शन सहकारीबाट एक करोडको ऋण गोर्खा मिडियामा प्रवाह भएको थियो । पोखराबाट रविको नाममा निकालिएको ऋणको रकम चुक्ता भएको छ । बुटबलको सुप्रिमबाट रकम निकालेर गोर्खा मिडियाको खातामा जम्मा गर्ने कर्मचारीलाई समेत मुद्दा चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?