+
+

कुरीति र सभ्य व्यवहारको भेद थाहा छ ?

के महिलाहरूले स्वस्थ र हाँसीखुशी बाँच्न नपाउने/नमिल्ने ? उनीहरूले सधैं परम्परा र संस्कृतिको नाममा आफ्नो मानसिक र शारीरिक स्वास्थ्यमा समेत खेलबाड नै गरिरहनुपर्ने ?

अमृता लम्साल अमृता लम्साल
२०८१ असोज १ गते ११:३६

‘फ्रान्स २४’ नामक अनलाइनमा ५ सेप्टेम्बर, २०२४ को दिन प्रकाशित एउटा समाचारमा आँखा पर्‍यो; ‘एजेन्सी फ्रान्स प्रेस्से; (एएफपी) द्वारा वितरित उक्त समाचार अनुसार, सन् २०२१ देखि हालसम्म केन्यामा तीन जना महिला खेलाडीको मृत्यु आफ्नो पार्टनरबाट भइसकेको रहेछ। मारिनेमध्ये तेस्रो खेलाडी रिबेक्का चेप्टेगेइलाई उनको ब्वाइफ्रेन्डले अगस्टको अन्तिम हप्ता, रिबेक्काकै घरमा पेट्रोल खन्याएर आगो लगाइदिएका रहेछन्। तेत्तीस वर्षीया रिबेक्काले गएको पेरिस ओलम्पिकमा लामो दूरीको धावकको खेलमा भाग लिएकी रहिछन्।

हुनत, पाठकहरूलाई लाग्दो हो, केन्यामा मारिएकी महिलासँग हाम्रो के सरोकार भनेर। तर, उनको मृत्युपछि, देशमा लगातार भैरहेको लैंगिक हिंसाबाट आजित भएका महिलाहरूले सरकारसँग यसरी भैरहने हत्या रोक्नको लागि गम्भीर हुनुपर्‍यो भनेर र्‍याली निकालिरहेछन्।

यसै सन्दर्भलाई लिएर, लैंगिक हिंसा विरुद्ध काम गर्ने केन्यास्थित संस्था ‘युसिकमाइ’ (अफ्रिकन उच्चारण हाम्रोभन्दा फरक हुनेहुनाले संस्थाको नाम ठ्याक्कै सही हिज्जे नभएको हुनसक्छ) की सह-संस्थापक नजेरी वा मिगवाइले एएफपीसँग भनेकी छिन्, ‘यस्ता धेरै हिंसा र लैंगिक हिंसालाई अपराधको रूपमा हेरिन्न।’

कुरोको चुरो यहाँ पनि त्यही नै हो; यहाँ पनि महिला तथा यौनिक अल्पसंख्यक लगायत, दलितमाथि गरिने धेरै हिंसा र लैंगिक हिंसालाई अपराधको रूपमा नहेरेको जस्तै भान हुन थालिसक्यो। यहाँको मात्रै कुरा होइन, नेपालीहरू बसाइँ सरेर गएको ठाउँमा समेत, महिलामाथि यौनिक र आपराधिक हिंसा बढ्दै गएको देखिन्छ। यसको उदाहरण, ममता काफ्ले र मुना पाण्डेको हत्या पनि हुनसक्छ।

यो समाज महिलालाई मात्रै संस्कार सिकाएर र असल हुने पाठ पढाएर थाक्दैन। भर्खरै सकिएको तीज र पञ्चमी पर्वको समयमा दिइएको उपदेश र सिकाइएको संस्कारले त सीमा नै नाघेको महसुस भएको थियो ।

थोरै नै संख्यामा भए पनि महिलाहरू जागरुक हुँदैछन्; संस्कृति र परम्परा जोगाउने निहुँमा सबै कुरीति र कुप्रथालाई अँगाल्ने पक्षमा छैनन् भन्ने तथ्य त यो समाजले महसुस गरेकै होला !

बिहानको साढे पाँचदेखि सुरु हुने एफएमका धार्मिक कार्यक्रमदेखि लिएर, रेडियोजकी लगायत सामाजिक सञ्जालका भित्ताहरू, टेलिभिजनका अन्तर्वार्तादेखि लिएर पत्रपत्रिकामा छापिने अधिकांश लेखहरूमा समेत केवल, केवल महिलालाई संस्कारी र मर्यादित हुनुपर्ने पाठ पढाइरहेको देखिन्छ/महसुस गरिन्छ। यही कुरामा बराबर भागीदार समाजको अर्को सदस्य पुरुषलाई किन बनाइन्न ? किन सिकाइन्न ?

एकातिर, पुरुष र महिला एउटा रथका दुई पाङ्ग्रा भनेर किताबदेखि समाजका ठालूहरूको उपदेशमा सुन्न पाइन्छ; तर, समाजले तोकेको संस्कार र सभ्यता जोगाउने जिम्माचाहिं महिलाले मात्रै किन लिनुपर्ने ?

प्रश्न र तर्क गर्दै, तथ्यहरू खोज्दै जाने हो भने, इतिहासले थुप्रै देशमा धर्म, संस्कृति, समाज जोगाउने नाम र निहुँमा महिलाहरूको बलि (भौतिक वा मानसिक रूपमा) चढाएको देखिन्छ ।

यस्तै एउटा उदाहरण, सन् २०२० को जनवरीमा मेक्सिकोको, कजुमल जाने मौका मिलेको थियो। त्यहाँको युकतान पेनिनसुलाको, ‘कोलम्बियन माया सिभिलाइजेसन’ जुन, २५० देखि १६५० एडीसम्म मानिन्छ; त्यहाँ संरक्षण गरेर राखिएको एउटा पुरातात्विक क्षेत्रमा एउटा खाल्डो देखियो। त्यो खाल्डोको अर्थ के हो ? भनेर गाइडलाई सोध्दा जवाफ थियो- त्यतिबेला, पानी नपरेमा, पानी पार्न र धेरै पानी परेमा पानी रोक्न, उक्त खाल्डो भएको स्थानमा युवतीहरूलाई बलि दिने गरिन्थ्यो रे ! त्यो सुनेर एक खालको त्रासले शरीरका रौं ठाडा भएका थिए। त्यो पनि त्यो समयको संस्कारमै सूचीकृत भएको हुँदो हो।

ती सबै कुराहरू देख्दा, सुन्दा, पढ्दा मनमा बारम्बार उठ्ने प्रश्न एउटै हुन्छ, यस्ता कुराहरूमा पुरुषको उपादेयता त कहिल्यै देखिंदैन त ! यसको मतलब, पुरुषमाथि हिंसा हुनुपर्छ भन्ने सोच कदापि होइन; न त पुरुष, न स्त्री यस्ता कुराहरू गलत हुन्; रोकिनै पर्छ र कालान्तरमा रोकियो पनि। तर, त्यो रोक्न पनि सानातिना आवाजले त पुगेन होला !

यदि, समाज र राज्य सफल बनाउने त्यस्ता कु-प्रथाहरू त रोकिने रहेछन् भने, यो एक्काइसौं शताब्दीमा आएर, एकातिर एआई र रोबोटिक यन्त्रहरूको भरपुर उपयोग गर्ने, अर्कोतिर संस्कार जोगाउने नाममा समाजका महिला सदस्यहरूलाई मात्र कति पछाडि फर्काउने ?

हामीले देख्दा देख्दै, पुरुषहरूले अप्सानी हालेर खाने कार्य किन हटाइयो वा हट्यो ? हुनत, कतिपयलाई ‘अप्सानी’ के हो भन्ने नै थाहा नहोला ! यो पनि वैदिक संस्कृति अनुसारकै क्रियाकलाप हो; जसअनुसार, खाना खानुभन्दा पहिले देवता वा पितृका निमित्त पाँच चिम्टी अन्न खाने भाँडाको वरिपरि घुमाएर छुट्याएर मात्रै खाने गर्दथे। त्यो किन छाडेको त ? पुरुषहरूले समय अनुसार परिवर्तन गर्दै गएका क्रियाकलापको चाहिं कहीं कतै उच्चारण नै गर्न नपर्ने ?

यो वर्षको पञ्चमी पर्व (?) को दुई दिन अगाडि फेसबुकमा एउटा स्टाटस लेखेकी थिएँ; जसमा लेखिएको थियो, ‘राम्रो लोग्ने पाउन र उमेर बढाइदिन गर्नुपर्ने फेहरिस्तको उपदेश सकियो। अब, गोबर/माटो/दतिवनले सफा गर्न सिकाउन ढिलो भएन र ?’ व्यंग्यात्मक शैलीमा लेखिएको उक्त स्टाटसमा युरोपमा बसेर निर्धक्कसँग युरोपियन जीवनशैली व्यतीत गरिरहेको पुरुषदेखि, नेपालका आफूलाई जान्नेसुन्ने ठान्ने पुरुषसम्मका उपदेश ओइरियो।

मानसिक हिंसा होस् वा शारीरिक, परम्परा र संस्कृति जोगाउने नाममा महिलामाथि थोपरिएको कुरीति र कुसंस्कार, समय अनुसार नरोक्ने हो भने यसले महिलालाई मात्रै होइन, सिंगो समाज र देशलाई पनि हानि पुर्‍याइरहेको हुन्छ

कसैले लेखे, ‘क्रिसमस नआउँदासम्म कहिले केही कहिले केही पर्व आइरहने नेपालमा यिनको जमेर विरोध गर्नुपर्ने बाध्यता छ तपाईंहरूलाई। निकै गाह्रो छ।’

त्योसम्म ठिकै थियो, एकजना महिलाले त ढुक्कैसँग लेख्न भ्याइन्, आफूचाहिं अर्ग्यानिक खाना, गोबर, माटो आदि खोज्दै हिंड्ने, अनि यस्तो लेख्ने ?

अब यस्तो सोचलाई कसरी परिवर्तन गराउने ? अर्ग्यानिक खानाको लागि गोबर, माटो खोज्नु र पञ्चमीमा महिलाको योनी शुद्ध बनाउन ३६५ पटक गोबर, माटोले धुनुपर्छ भन्ने तर्क एउटै हो ?

हुनत, ठ्याक्कै तथ्यांक दिएर लेख्न सकेको भए तर्क गर्न अझै सजिलो हुन्थ्यो; तर पनि, नेपालका महिलाहरूमध्ये कति महिलाहरू सफा शौचालय प्रयोग गर्न नपाएको कारणले युरिन इन्फेक्सनबाट संक्रमित हुन्छन् होला ? कति महिलाका योनी सेतो पानी बग्ने, चिलाउने, असामान्य रक्तस्राव आदिबाट पीडित होलान् ?

कतिपय महिलाहरू त आफूलाई स्वस्थ महसुस नगर्दा नगर्दै पनि रोग लुकाएर बसिरहेका हुन्छन्। स्किन इन्फेक्सन, पोलेको महसुस हुने पनि महिलाहरूका योनीमा देखिने रोगहरू हुन्।

एकातिर मेडिकल साइन्स र औषधोपचार विधिले लामो फड्को मारिसक्यो भने, अर्कोतिर महिलाले गोबर र माटोले योनी सफा गरेर रजस्वला भएको पाप पखाल्दिन भने भनेर ‘पितृसत्तात्मक सोच’ महिलाहरूलाई उपदेश दिएर रमाइरहेको छ। के महिलाहरूले स्वस्थ र हाँसीखुशी बाँच्न नपाउने/नमिल्ने ? उनीहरूले सधैं परम्परा र संस्कृतिको नाममा आफ्नो मानसिक र शारीरिक स्वास्थ्यमा समेत खेलबाड नै गरिरहनुपर्ने ?

अझै अब त समय यस्तो आइसक्यो कि, पितृसत्ताले दिएको उपदेश नमान्ने, प्रश्न गर्ने, स्वतन्र रहन चाहने महिलाहरूलाई त अहिलेका ‘न्यु मिडिया’ होस् वा पुरातन विचार नै सही, ती सबै प्रयोग गरेर टाउको उठाउनै नदिने, कथं टाउको उठाउने कोसिस गरेछन् भने पनि साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर कुल्चिएरै छाड्ने प्रवृत्तिको बहुमत छ।

तर, थोरै नै संख्यामा भए पनि महिलाहरू जागरुक हुँदैछन्; संस्कृति र परम्परा जोगाउने निहुँमा सबै कुरीति र कुप्रथालाई अँगाल्ने पक्षमा छैनन् भन्ने तथ्य त यो समाजले महसुस गरेकै होला ! त्यसैले मानसिक हिंसा होस् वा शारीरिक, परम्परा र संस्कृति जोगाउने नाममा महिलामाथि थोपरिएको कुरीति र कुसंस्कार, समय अनुसार नरोक्ने हो भने यसले महिलालाई मात्रै होइन, सिंगो समाज र देशलाई पनि हानि पुर्‍याइरहेको हुन्छ।

अन्य सबै कुरामा समय अनुसार चल्ने, महिलाहरूलाई ङ्याकेर राख्नुपर्‍यो भने पाइला टस-का-मस नगर्ने ? कि, यहाँहरूलाई, संस्कार जोगाउने नाउँमा ‘माया सिविलाइजेसन’को समयको जस्तै खाल्टो खनेर कुरीति र कुप्रथा जोगाइराख्न परेको हो ? होइन भने त कुरीति र सभ्य व्यवहारबारे फरक छुट्याउन सक्नुपर्ने हो। किनकि, रजस्वला पाप थिएन; होइन, यो प्राकृतिक प्रक्रिया मात्र हो।

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?