+
+
विचार :

अम्बेडकर पथमा राहुल गान्धी

नेपालका सबै पार्टीका लागि राजनीति सत्ता प्राप्तिको भर्‍याङ मात्रै हुनेभयो । यहाँका बहुसंख्यक जनताको हित देख्ने त परको कुरा, आफ्नो आवाज बोलिदिने पनि कोही देखिंदैनन् ।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८१ असोज १ गते १२:३३

अहिले भारतीय टिभी च्यानल सोनीमा रामायणको सिरियल चलिरहेको छ । खासगरी रामायण र केही हदसम्म महाभारत यस्तो कथा भएको छ जुन भारतीय धार्मिक तथा मनोरञ्जनको उद्योगमा एउटा सर्वकालिक कथा तथा सामग्री हो । यी दुवै महाकाव्यहरू हरेक वर्ष जसो कुनै न कुनै रूपमा चाहे त्यो टिभीको सिरियलको रूपमा होस् वा चलचित्र, त्यहाँका फिल्म उद्योगीहरूले देखाइरहेका हुन्छन् । यसो हुनुमा यी कथाहरू भारतीय तथा केही हदसम्म नेपालीहरूको जीवनमा समेत गहिरो छाप छोडेकोले हो भन्दा अत्युक्ति हुँदैन ।

भारतमा तथा केही हदसम्म नेपालका धार्मिक कथावाचकहरूको पनि कथा वाचनको मुख्य स्रोत यिनै दुई धर्मगन्थ्रहरू रहेका छन् । अर्थात् भनौं भारतमा यी दुई कथाले अर्बौं, खर्बौंको व्यापार गरिरहेका हुन्छन् । यस्तो हुनुमा के कारण होला, यो विभिन्न विषयका अध्येताहरूको खोजको विषय हुनुपर्छ र भइरहनेछ ।

भारतका डा. भीमराव अम्बेडकरले आफ्नै बलबुतामा ९ वटा उच्च अध्ययनका डिग्री हासिल गरे जसमा ३ वटा विद्यावारिधि छन् । त्यसपछि स्नातकोत्तर तथा ब्यारिस्टरको डिग्री समेत । उनले संसारका विभिन्न विश्वविद्यालयहरूबाट मानार्थ पाएका डिग्रीहरू जोड्दा ३२ वटा हुँदोरहेछ । यो पृष्ठभूमिमा उनी अहिले पनि संसारका १०÷१२ जना उच्च अध्ययन गरी विद्वत्ता प्राप्त गरेका व्यक्तिमध्ये पर्दा रहेछन् ।

उनी जीवित छँदाको समयकालमा भारतमा उनीसँग बराबरी गर्ने कोही पनि थिएनन् । के उनी विद्वान् मात्रै थिए वा राजनैतिक विचारक तथा दार्शनिक पनि थिए भन्ने कुराको खासै चर्चा हुँदैन । उनलाई केवल भारतका संविधान निर्माता तथा दलितका नेताका रूपमा मात्रै बुझिन्छ । तर उनी बारे बुझ्दै तथा अध्ययन गर्दै जाँदा एकपछि अर्को गहन विषयहरू थाहा हुँदै जाँदोरहेछ । अब यो आलेखको विषयवस्तुतर्फ जाऔं ।

हिरा विश्वकर्मा

अहिले मैले भारतका विपक्षी दलका नेता राहुल गान्धीलाई विशेष रूपमा पछ्याइरहेको छु र अहिले उनले बोकेका विचार तथा उनको अभ्यासलाई हेर्दा उनी अरू केही नभएर वास्तविक अम्बेडकरवादी भएको मेरो ठहर छ ।

अम्बेडकरले गान्धी, नेहरू तथा पटेल जस्ता बौद्धिक नेताहरू हुँदाहुँदै भारतको संविधान बनाउने जिम्मा कसरी पाए भन्ने कुराको ठूलो पृष्ठभूमि रहेतापनि यहाँ मुख्य घटनाको संक्षिप्त चर्चा गर्नुपर्ने देखिन्छ ।

सन् १९३२ मा जब पुनाप्याक्ट सम्बन्धी छलफल भयो, त्यसमा अम्बेडकर पनि निम्त्याइएका थिए । त्यतिबेलै अंग्रेजहरूले भारतलाई मुस्लिम र हिन्दु बहुल दुई देशमा टुक्र्याउने संकेत गरिसकेका थिए । त्यस्तोमा अम्बेडकरले दलित र आदिवासीहरूको लागि पनि छुट्टै शासकीय क्षेत्र हुनुपर्ने माग राखेका थिए ।

मुस्लिमहरूले छुट्टै देश लगेपछि यदि दलितहरू जसमा अधिकांश हिन्दुहरू छन्, उनीहरूले पनि देश लगे भने भारत कमजोर हुने र हिन्दुहरू पनि अल्पसंख्यक बन्दै जाने अवस्था देखेपछि महात्मा गान्धीले अम्बेडकरको माग विरुद्ध अनशन बसे र सबैको गान्धीलाई बचाउनुपर्ने दबाब झेल्न नसकेर अम्बेडकरले आफ्नो छुट्टै शासकीय स्थानको मागलाई छोड्न बाध्य भए । पछि गान्धी, नेहरू तथा पटेलले उनलाई उनले चाहे जस्तो संविधान निर्माणको जिम्मा दिए ।

अहिले राहुल गान्धीले भारतको संविधान रक्षाको बिंडा उठाइरहेका छन् र उनको सबैजसो सार्वजनिक भाषणको हिस्सा हुने गरेको छ अम्बेडकरको नेतृत्वमा बनेको संविधान । कुनै समय भारतीय मूलधारका मिडियाकर्मी पुण्यपुष्पन बाजपेयीले एउटा छुट्टै युट्युब च्यानल चलाइरहेका छन् जसमा उनले राहुलको अम्बेडकरवादमा अत्यन्त गहिरो टिप्पणी गरेका छन् ।

त्यो टिप्पणीमा उनले खासगरी संसदीय लोकतन्त्रको विषयमा जुन सन्दर्भ उल्लेख गरेका छन्, त्यसमा अम्बेडकरको भनाइ कति सर्वकालिक रहेको भनेर म सोच्न बाध्य भएँ । पुण्यपुष्पनले अम्बेडकरले भारतको संविधानसभाको १९४६ को एउटा भाषणमा लोकतन्त्र वास्तवमा के हो र यसले कसरी पुरानै शासकहरूलाई दोहोर्‍याउँछ र मतदाताहरूले कसरी आफ्ना पुराना मालिकहरूलाई दोहोर्‍याउँछन् निर्वाचन मार्फत भनेर भनेका रहेछन् ।

त्यतिबेला पश्चिमा देशले अँगालेको संसदीय लोकतन्त्र तथा सोभियत संघ लगायत अन्य पूर्वीय युरोपीय देशहरूले अपनाइरहेको कम्युनिस्ट व्यवस्था प्रचलनमा थिए र समाजवादको नारा साम्यवादी तथा संसदीय लोकतान्त्रिक व्यवस्था अपनाएका देशले पनि लगाइरहेका थिए, त्यसमा नेपालका बीपी कोइराला तथा भारतका नेहरू पनि पर्दथे ।

दलितहरूले भोग्नु परेको उत्पीडन र अत्याचार आफैंले भोग्नुपरेकोले अम्बेडकरले तत्कालीन समयमा अत्यन्त हावी भएको कम्युनिस्ट विचार किन बोकेनन् होला ? किन उदार संसदीय लोकतन्त्रमै उनले दलितको मुक्ति देखे भन्ने प्रश्न आजपर्यन्त उब्जिइरहन्छ ।

तर संसदीय लोकतन्त्रप्रति उनी निरपेक्ष थिएनन्, उनले सन् १९४६ अर्थात् आजभन्दा ७८ वर्ष अगाडि पनि त्यो कुरा प्रस्टसँग बुझेका रहेछन् । त्यो के भने संसदीय लोकतन्त्र पनि यस्तो व्यवस्था हो जहाँ चुनावमा जो उठ्छन् उनीहरू प्रायः पहिलेका पूँजीपति, व्यापारी, सामन्त तथा अन्य शासकीय ठाउँहरूमा रहेकै व्यक्तिहरू हुन्छन् । भोट हाल्ने अधिकार आम मान्छेलाई त हुन्छ तर उनीहरूले चुन्ने भनेको ती पहिलेकै शोषक सामन्तहरूमध्येकै एक हुन् ।

त्यसैले लोकतन्त्र आइसकेपछि पनि आधारभूत जनताका सवालहरू ज्यूँका त्यूँ रहन्छन् र शासकहरूले पहिले जे गर्थे लोकतान्त्रिक भनिएको शासन व्यवस्थामा पनि त्यही नै गर्छन् र जनतालाई झुक्याइरहन्छन् । त्यसकारण हामीले संसदीय व्यवस्थालाई सबै तह र तप्काको सहभागिता तथा प्रतिनिधित्व हुने व्यवस्था बनाउनुपर्छ भनेर उनले दलित तथा आदिवासीहरूका लागि सरकारी सेवामा आरक्षणको साथै ५४० निर्वाचन क्षेत्रमा पनि उनीहरूका लागि छुट्टाछुट्टै निर्वाचन क्षेत्रको व्यवस्था गरे ।

अहिले भारत एउटा विश्वकै ठूलो प्रजातान्त्रिक र शक्तिशाली देश हुन पुगेको छ । त्यो अम्बेडकरले दिएका भारतको बहुलवादी समाजको आवश्यकतालाई आत्मसात् गरेको संविधान बनाएर हो भन्ने मान्यता राख्ने ठूलो जमात रहेको छ ।

सन् १९४६ कै सोही भाषणमा अम्बेडकरले अर्को महत्वपूर्ण कुरा भनेका रहेछन्, त्यो के भने भारतमा जुन किसिमले रामायण र महाभारत पढिन्छ र आत्मसात् गरिन्छ त्यही अनुरूपमा भारतको आफ्नै अर्थशास्त्र तथा राजनीति शास्त्र के हो र यसलाई कसरी बुझ्ने भनेर गतिलो किताबहरू पढ्नु पर्‍यो भने भारतीय विद्वान्हरूले लेखेको एउटा पनि किताब भेटिंदैन र हामीले पश्चिमा देशका विद्वान्हरूले लेखेका किताबहरू हेरेर चित्त बुझाउनुपर्छ ।

यस्तो किन भयो भन्दा समाजलाई केवल धर्मभीरु मात्रै बनाउन रामायण र महाभारत जस्ता काल्पनिक कथाहरूकै सिर्जनामा समय बिताइयो तर अर्थशास्त्र, राजनीति शास्त्र तथा विज्ञानका अन्य विषयमा भने कुनै काम गरिएन, त्यसले भारतीय समाजलाई अधोगतितर्फ लगेको छ । जुन कुरा अहिलेको २१औं शताब्दीमा पनि भारतीय मनोरञ्जन उद्योगले कुनै न कुनै रूपमा गरिरहेको छ ।

अम्बेडकर र राहुल गान्धीलाई जोड्दै पुण्यपुष्पन भन्छन्, ‘जसरी भारतीय बहुलवादलाई एकठाउँमा ल्याउँदै भारतका ९० प्रतिशत जनताको हकहितलाई सुनिश्चित गर्ने काम अम्बेडकरले गरे, अहिले आफूलाई त्यही बाटोमा राहुल गान्धीले डोर्‍याएका छन् । चुनावी प्रचारका बेला भाजपाका नेता तथा कार्यकर्ताहरूले भन्न थालेका थिए, ‘अबकि वार चार सौ पार’ र अछूतले बनाएको संविधानको खारेज वा संशोधन । त्यसले दलित तथा अन्य पिछडावर्गलाई बीजेपीको विरुद्ध लाग्न बाध्य बनायो ।

उता, राहुल गान्धीले पनि संविधानको रक्षा तथा भारतका ९० प्रतिशत जनताको अधिकारको कुरा आफ्नो मुख्य चुनावी मुद्दा बनाएपछि कांग्रेसलाई ९९ सिट सहित एउटा सशक्त विपक्षी पार्टीमा उभ्याउन सफल भए । अहिले उनले अम्बेडकरले बनाएको संविधानको रक्षाको मात्रै कुरा गर्दैनन्, जातीय जनगणनाको कुरा जोडतोडका साथ उठाइरहेका छन् ।

राहुलले भनिरहेका छन्, ‘मोदीले १४ लाख करोड रुपैयाँ आफ्ना अर्बपति व्यापारी मित्रहरू अम्बानी र अडानीलाई बाँडे भने त्यही बराबरको रकम महिनाको साढे आठ हजारका दरले गरिब जनताको हातहातमा पुर्‍याउँछु ।’ उनले आफ्नो भनाइ र गराइमा एकरूपता ल्याउन, अम्बानीको छोराको बिहेको निम्तो दिन आफ्नै घरमा आएका मुकेश अम्बानीलाई छोडेर दिल्लीको एउटा भवन बनाइरहेका विहारी मजदुरहरूसँग गिट्टी बालुवा खेलाउन गए ।

राहुलले तल्लो तप्काका सबै मजदुर, किसान, कामदार, युवासँग आफूलाई जोडिरहेका छन् । उनको ख्याति कतिसम्म भएको छ भने एउटा चमारको पसलमा बसेर उनले सिलाएको चप्पलको मूल्य अहिले २० लाख भन्दा बढी पुगेको छ ।

अहिले कुनै बेला मूलधारकै मिडियामा रहेका पत्रकारिता गरेका अधिकांश युट्युबरहरूले राहुलले भारतको राजनीतिको दिशा नै अहिले आम जनताको हितमा लाग्न बाध्य पारिने गरी बदलिरहेको भनिरहेका छन् । उनी आफैं भन्छन्, ‘कांगेसले ७० को दशकमा समाजवादलाई अँगाल्दै बैंक तथा कलकारखानाहरूलाई राष्ट्रियकरण गरेको थियो । ८० र ९० को दशकमा उदार पूँजीवादको बाटो अपनाएर देशलाई विकासको बाटोमा डोर्‍याएको थियो भने अहिले मैले बहुसंख्यक जनताको कुरा गरिरहेको छु ।’

रविशकुमार, पुण्यपुष्पन बाजपेयी तथा अभिसार शर्माहरूले जुन रूपमा राहुल बारेमा चर्चा गरिरहेका छन्, त्यो हेर्दा र उनले भारतीय ९० प्रतिशत जनताको राजनीति गर्दा उनी पक्कै भारतका अर्का प्रधानमन्त्री बन्ने देखिन्छ । तर हाम्रो सन्दर्भमा सबै पार्टीका लागि राजनीति सत्ता प्राप्तिको भर्‍याङ मात्रै हुनेभयो ।

यहाँका बहुसंख्यक जनताको हित देख्ने त परको कुरा, आफ्नो आवाज बोलिदिने पनि कोही देखिंदैनन् । भारतमा लोकतन्त्रले जनताको हितमा काम गर्दा यहाँ कहिले गर्ने हो, सोच्ने बेला आएको छ ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?