+
+
यात्रा र समाज :

उत्तरी गोरखाको सकसले भरिएको जनजीवन नियाल्दा

पूर्णिमा कार्की पूर्णिमा कार्की
२०८१ असोज १ गते १५:०३

भनिन्छ- गन्तव्य एकै भएपनि यात्राका उद्देश्य र सपना भने सबैका फरक-फरक हुन्छन् | हाम्रो यस यात्रामा भेटिएका यात्रीमध्ये पनि कसैलाई मनास्लुको चुचुरो भेट्नु थियो त कसैलाई बूढीगण्डकीको सतहमै हराउनु थियो । कसैलाई वर्षौंदेखिको त्यो शान्त मन बिथोल्न थियो त कोही त्यही बिथोलिएको मन शान्त पार्न भनी निस्किएका थिए ।

काठमाडौं स्कुल अफ लबाट प्रस्थान गरेको कानुनका प्राध्यापक तथा विद्यार्थी समेतको ३० जनाको हाम्रो समूहको पनि यस यात्राको उद्देश्य अरु यात्रीका तुलनामा केही फरक थियो तर एकै थियो- ‘गोरखामा सामाजिक न्यायको सुनिश्चितता’ ।

हामी हरेकको पाइलाका चाल र हृदयका गति एकैनासमा सोही लक्ष्यका निमित्त अघि बढिरहेको थियो । करिब १५ दिन लगाएर १४१ मिटरदेखि सुरु गरी ५ हजार १०६ मिटरसम्म दूरीमा फैलिएको मनास्लु पदमार्गको यात्रामा देखिएका दृश्यहरु कोही हृदय विदारक थिए त कोही हृदयहारी । पहाडको उचाई नाप्दै जाँदा नजिकिंदै आएको मनास्लु देख्दा लाग्थ्यो, यो टाकुरालाई हामीमाझ जोड्ने पुल भत्किएको हो या कहिले बन्दै नबनेको ?

सरल भाषामा सामाजिक न्याय भनेको समाजमा सम्पत्ति, अवसर र सुविधाका लागि समान पहुँच हो । यस अतिरिक्त जन्मसिद्ध हक अधिकारको प्राप्ति र उपयोगको सुनिश्चितता पनि सामाजिक न्यायले गर्छ ।

गोरखा भौगोलिक रुपमा निकै ठूलो छ । यति ठूलो भूभागको सामाजिक न्यायलाई कल्पनामा मात्र सीमित  राखेर राष्ट्रको सामाजिक न्याय अग्रगमनतर्फको यात्रा असम्भव छ ।

यात्राका क्रममा उत्तरी गोरखाका लागि कसरी भूगोल आफैंमा वरदान र अभिशाप दुवै बनिरहेका छन् भन्ने कुरा प्रष्ट देखियो । एकातर्फ हेर्ने हो भने माथि ठाडो चट्टान, अर्कोतर्फ तल गड्गडाउँदै बगेको बूढीगण्डकी । बाँकी रह्यो बीचको भूभाग जुन बाटोले लगेको अवस्था छ । त्यही बाटो पनि बर्खायाममा पहिरोले ठप्प हुने र हिउँदमा महिनौंसम्म हिउँले पुरिने भएकाले जनजीवन कठिन हुने गरेको रहेछ ।

गोरखाको अधिकांश सुन्दर पक्ष पनि भौगोलिक बनावट नै हो | यहाँका हिमशृंखला, नदीनाला, अग्ला पर्वत, जैविक र प्राकृतिक विविधता दुर्लभ छन् । यही भौगोलिक बनोटका कारण गोर्खाको सामाजिक न्यायमा दखल पारेको छर्लङ्ग छ । तर यो विकल्प नै नभएको विषय हो या विकल्प नखोजेर गरिएको अन्याय भन्ने मूल प्रश्न हो | राणाशासन, पञ्चायतकालदेखि लोकतन्त्रसम्मको यात्रामा पनि यो प्रश्न अनुत्तरित नै रह्यो |

सर्वप्रथम उत्पादन, कृषि, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रबाट सामाजिक न्याय विस्तार हुन जरुरी छ | हरेक मानिसको जन्मपछि यस धर्तीमा बाँच्नका निमित्त उसको संघर्ष आरम्भ हुन्छ तर यहाँ उक्त संघर्ष आरम्भ हुन्छ जन्मअगावै ।

शिशुले जन्म लिनुअगावै आफ्नी गर्भवती आमालाई गर्भधारण गर्दा पर्ने सकस, प्रसव पीडाका बेला घण्टौं हिंडेर पुगिने अव्यवस्थित स्वास्थ्य चौकी र चार-पाँच दिनदेखि प्रसव पीडामा छटपटाउँदै बोलाउदा पनि नआउने हेली । उक्त लडाइँ जितेर जब शिशुको जन्म हुन्छ, त्यही बिन्दुबाट नै आरम्भ हुन्छ अर्को लडाइँ । आमाको दूध नआएको खण्डमा भर्खरै जन्म लिएको त्यस शिशुले अर्को विकल्प के पाउनेछ ? जहाँ गाई, भैंसी, बाख्रा पालिंदैन । ल्याक्टोजीनको पहुँच छैन र याक, भेंडा लेकमा मात्र हुन्छन् । महिनावारी भएकी किशोरीलाई प्याडको पहुँच छैन | तीन महिनासम्म दाँत दुखेर उपचार नपाएकी एक वृद्धा हाम्रा प्राध्यापकका नाम अगाडि डा. भएको चाल पाएर उपचार गर्न दौडिंदै आउँछिन् |

यसरी जन्मसिद्ध अधिकारका निम्ति भर्खरै मात्रै पाइला टेकेको एक शिशुले लड्ने सामाजिक न्यायको लडाइँ ऊ तरुण हुँदै वृद्धावस्था टेक्दासम्म पनि टुंगिदैन । जीवनका फरक खुड्किलामा चरणवद्ध रुपमा लडिने यो लडाइँको युद्धविराम अब हुनैपर्छ ।

मनास्लुको चुचुरोमाथिको प्रभुत्व सदियौंबाट त्यसैको फेदमा रहदै आएका समुदायको हुनु स्वाभाविक हो तर उक्त चुचुरोबाट हुने आम्दानीको कति प्रतिशत लाभ राज्यले सो समुदायलाई प्रदान गर्न सकेको छ ? सामाजिक न्यायलाई यसरी पनि अँगाल्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यानाकर्षण हुन आवश्यक छ ।  बाटाभरि टिमुर कुहिएर गएका छन् । संरक्षणका नाममा न राज्य आफूले उपभोग गर्छ न त स्थानीयलाई नै उपभोग गर्न दिन्छ | वर्षेनी कैयौं जडिबुटी कुहिएर नष्ट हुने गरेका छन् । ४२४ प्रकारका जडिबुटी पाइने उक्त ठाउँमा जडिबुटीका जरा नभई पात मात्रै उपभोग गर्न पाउनपर्ने माग स्थानीयको छ ।

यहाँ भ्युटावर र शालिकलाई प्राथमिकता दिने सरकारले के गोरखामा पाइला-पाइलामा भेटिने ती सदियौंअघिका मानेका अभिलेख राखेको छ ? ढुंगामा कुदिएका ती जीवित कलाका संरक्षणका लागि के-कस्ता आवश्यक नीति अवलम्बन गरेको छ ?

सम्भावित हरेक तवरबाट गोरखाले राज्यलाई चिनाएपनि विडम्बना, राज्यले कहिले गोरखालाई चिन्न सकेन | छिमेकी, अन्य मुलुक र केही अन्तर्राष्ट्रिय गैरसरकारी संगठनले गरेको देखावटी दयाका आडमा कतिन्जेल लगाउलान् त्यहाँका बासिन्दाले ती सिरेटो नछेल्ने कपडा ?

उत्तरी गोरखामा खट्किएको सामाजिक न्यायको सन्दर्भमा चर्चा गरिरहँदा धर्मको पाटोलाई पनि समेट्नैपर्ने हुन्छ । धर्म, संस्कृति जीवनशैलीलाई बलियो बनाउने एक आधार पनि हो | समझदार, चिन्तक, मार्गदर्शक र ऋषिहरुद्वारा सुझाइएका सात्विक जीवन निर्वाहको मार्ग नै धर्म हो । जुनै धर्मावलम्बीको पनि पहिलो धर्म लोकहितको मार्गमा चल्ने हुन्छ । जब मानिस केवल आधारभूत अभावकै कारण सस्ता प्रलोभनमा परेर कुनै धर्मको अनुयायी हुन बाध्य हुन्छ भने त्यहाँको आवश्यकता परिपूर्ति गरी सामाजिक न्याय प्रत्याभूति गराउने जिम्मा राष्ट्रको हुनेछ | गोर्खामा धर्म परिवर्तनका यस्तै प्रकृतिका प्रशस्तै घटना भेटिए | सौदाबाजीका यस्ता घटनाक्रमले धर्मप्रतिको विश्वास अझ फितलो बनाउँदै लैजाने पक्का छ ।

पुस्तौंबाट पसिना बगाउँदै आएको जमिनको लालपुर्जाका लागि लडिएको लडाइँको पनि युद्धविरामको छाँटकाट देखिएको छैन | जमिनप्रति अपनत्व महसुस गर्ने प्रमाण नभएसम्म त्यो ठाउँको विकासको पाटो थाँती लाग्दै जानुको विकल्प छैन | लालपुर्जा जस्तो संवेदनशील विषयमा राज्यको लापरवाही देख्दा गोरखाप्रतिको यो अन्याय अझ छर्लंग हुन जान्छ | यस्ता अनेक कथा त्यहाँका भञ्ज्याङ चौतारामा अझै पनि गुन्जायमान छन् ।

फगत गोरखाको मनोरम दृश्य र प्राकृतिक सुन्दरता नियाल्न हामी उक्त यात्रामा निस्केका थिएनौं | गोरखाको मौलिक संस्कृति, प्राकृतिक र सांस्कृतिक सुन्दरता अझै जीवित छ । तर हामीले देखेको गोरखाको अर्को रुप कुरूप छ । त्यो कुरुपता सिंगार्ने जिम्मेवारीबाट विमुख नहुने अठोटताका साथ हामी त्यहाँबाट फर्कियौं |

आखिर ‘न्याय नपाए गोरखा जानू’ भन्ने उद्धरण ब्युताउँनु जो थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?