+
+

भारतमा पुराना फिल्म हेर्न हलमा किन लाग्दैछ भीड ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १ गते १८:३१

जब २६ वर्षीया जाकिया रफीकीले २०१८ को बलिउड फिल्म ‘लैला मजनु’ थिएटरहरूमा पुनः रिलिज हुँदैछ भनेर सुने त्यसपछि उनलाई लाग्यो कि यो फिल्मलाई फेरि हेर्नुपर्छ ।

आफ्नी बहिनीसँग फिल्म हेर्न आएकी जाकिया रफिकी भन्छिन्, ‘२०१८ मा यो फिल्म हेर्न आएका थोरै मानिसमध्ये म पनि एक थिएँ । यसपालि धेरै जना आएका छन् । यो फिल्म हेर्दा धेरै मानिस हाँसे र रोएका थिए ।’

यो फिल्मसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उनी बताउँछिन् । यो फिल्ममा कश्मीरको प्रेमकथा छ, जुन उनको जन्मथलो पनि हो ।

उनी यसो पनि भन्छिन्, ‘आफ्नो घरको एउटा ठूलो हिस्सालाई ठूलो पर्दामा हेर्न पाउनु रमाइलो अनुभव हो । जब उनी कश्मीरको सडकमा कारमा यात्रा गर्छिन्, तपाई त्यहाँ उपस्थित हुनुहुन्छ भन्ने महसुस गर्नुहुन्छ ।’

चर्चित फिल्ममेकर इम्तियाज अलीको फिल्म ‘लैला मजनु’ले पहिलोपटकको रिलिजमा बक्स अफिसमा खासै केही गर्न सकेन तर पुनः रिलिज भएपछि भने फिल्मले राम्रो प्रदर्शन गरिरहेको छ ।

यो ती केही दर्जन भारतीय फिल्ममध्येको एक हो, जसको पुनः प्रदर्शनले दर्शकलाई ठूलो संख्यामा हलमा आकर्षित गरिरहेको छ । दुई दशकअघि रिलिज भएका केही फिल्म पुनः रिलिज हुँदैछन् ।

विश्वभरका अन्य सिनेमा उद्योग जस्तै भारतीय सिनेमा उद्योगले कोरोना अवधिदेखि धेरै उतारचढाव देखेको छ, जब थिएटर महिनौंसम्म बन्द थिए ।

बलिउड व्यापार विश्लेषक कोमल नाहटा भन्छन्, ‘बलिउडका भर्खरै रिलिज भएका फिल्मका लागि यो वर्ष खासै राम्रो रहेन ।’

लैला मजनु’ हेर्न मानिसको भीड

बलिउडको दबदबा रहेको भारतीय फिल्म उद्योगका धेरै भन्दा धेरै फिल्म हलमा रिलिज भइरहेका भए पनि अहिले मानिसले थिएटरमा जानुको सट्टा फिल्मलाई नेटफ्लिक्स वा अमेजन प्राइम जस्ता स्ट्रिमिङ प्लाटफर्ममा पर्खन र हेर्न जान रुचाउन जाने गरेको देखिन्छ ।

कतिपय फिल्मले यो प्रवृत्ति तोडेका छन् । हालै रिलिज भएको हरर कमेडी फिल्म ‘स्त्री २’ ले भारतमा ४०० करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ । यो फिल्म यस वर्षको अहिलेसम्मकै सबैभन्दा ठूलो हिट फिल्म बनेको छ ।

कमाइको कुरा गर्ने हो भने यो पान-इन्डिया फिल्म ‘कल्की’ भन्दा पछाडि छ । ‘कल्की’ भारतका केही ठूला स्टारले अभिनय गरेको फिल्म हो । तर ‘स्त्री २’ उद्योगका केही अपवादमध्येको एक हो, किनभने यसअघि धेरै दिग्गज स्टारका फिल्म पनि नराम्ररी फ्लप भइसकेका छन् ।

भारतीय फिल्म उद्योगमा लगातार परिवर्तन

दर्शकको हेर्ने बानी परिवर्तन भइरहेकाले भारतको फिल्म उद्योगले निरन्तर परिवर्तनको सामना गरिरहेको छ भन्ने कुरामा कुनै शंका छैन । यस वर्षका शीर्ष १० फिल्ममध्ये तीनवटा केरला राज्यका छन्, जहाँका फिल्मको बजेट तुलनात्मक रूपमा कम छ ।

फिल्म वितरक र दर्शक दुवैले आ–आफ्नो सुविधा अनुसार पुराना फिल्मतिर लाग्नु अचम्मको विषय होइन । पुनः रिलिज भएका फिल्मको लिस्ट हेर्नुभयो भने यसको पछाडिको सूत्र बुझ्न गाह्रो हुनेछ ।

पुनः रिलिज भएका फिल्म विभिन्न विधाका छन् । ‘दिलवाले दुल्हनिया ले जायेंगे’ र ‘हम आपके है कौन’ जस्ता रोमान्टिक फिल्म होस् वा ‘मैं खिलाडी तू अनारी’ र ‘बाजीगर’ जस्ता सन् १९९० को मनपर्ने एक्सन थ्रिलर फिल्म हुन्, उनीहरूले फेरि एकपटक दर्शकको माया पाइरहेका छन् ।

पछि गएर ‘रकस्टार’, ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘जब वी मेट’ जस्ता फिल्मले पनि दर्शकलाई हलमा ताने ।

‘लैला मजनु’को सफलताले विश्लेषक सबैभन्दा अचम्ममा परेका छन् । फिल्म निर्माता भन्छन् उनीहरू विशेष गरी कश्मीरका दर्शकले फिल्म हेर्न पाएकोमा खुसी छन्, किनभने त्यहाँ दुई दशकपछि सन् २०२२ मा थिएटरलाई पुनः खोल्ने तयारी गरिएको छ ।

कोमल नाहटा भन्छन्, ‘यो फिल्मले अहिले कम्तीमा घाटा कम गर्न सफल भएको छ । यस सफलताले अन्य यस्ता फिल्मलाई पुनः रिलिज गर्न प्रेरित गर्नेछ ।’

फिल्म पुनः रिलिज हुनुको कारण के हो ?

बलिउड विश्लेषक तरण आदर्श भन्छन्, ‘यी रिलिज फिल्मले नयाँ फिल्मको अभाव र बक्स अफिसको लुकेको चमकलाई पूरा गरिरहेका छन् ।’

तिनीहरूको पुनः रिलिजको लागि खासै प्रचारप्रसार पनि गर्नुपर्दैन । तिनीहरूको पोस्टर सामाजिक सञ्जाल र टिकट बुकिङ साइटहरूमा मात्र देखिन्छन् ।

तरण आदर्श भन्छन्, ‘यो पूरा नोस्टाल्जियामाथि निर्भर गर्छ । साथै, फिल्मप्रति दर्शकको प्रेमलाई पनि दर्शाउँछ ।’

तमिल र तेलुगु उद्योगमा पुनः रिलिजको पछाडि मुख्य कारक यहाँका स्टार हुन् । हालै केही भिडियो सार्वजनिक भएका छन्, जसमा तेलुगु सुपरस्टार चिरञ्जीवीका फ्यान उनको सन् २००२ को हिट फिल्म ’इन्द्रा’ को एउटा गीतमा नाचिरहेको देखिन्छ ।

पवन कल्याणको २०१२ मा आएको फिल्म ‘गब्बर सिंह’ अर्को हप्ता रिलिजको लागि तयार छ । जब तमिल अभिनेता विजयको २००४ को फिल्म ‘घिल्ली’ अप्रिलमा पुनः रिलिज भयो, दर्शक ठूलो संख्यामा हलमा भेला भए ।

दक्षिणी फिल्म उद्योग विश्लेषक श्रीधर पिल्लई भन्छन्, ‘यी प्रायः २० वर्षअघिका ठूला हिट फिल्म हुन् । यी फिल्म र यी स्टारहरूप्रति दर्शकको माया नै उनीहरूको पुनः रिलिजको मुख्य कारण हो ।’

मलयालम सुपरस्टार मोहनलालका त्यस्ता दुई फिल्म सन् २००० को देवदूतन र १९९३ को मणिचित्रथाझु केरलाको थिएटरमा फेरि फर्किएका छन् ।

पुराना फिल्म हेर्न किन पैसा तिर्छन् ?

पहिलो रिलिजमा फ्लप भएको फिल्म ‘देवदूत’ अहिले एक महिनादेखि हलमा चलिरहेको छ । पिल्लई भन्छन्,  ‘मणिचित्रथाझ’ जसले आफ्नो पहिलो रिलिजमा बक्स अफिसका सबै रेकर्ड तोड्यो, सम्भवतः दक्षिणी भारतमा पुनः रिलिज भएका फिल्ममध्ये सबैभन्दा ठूलो हिट हो ।’

उनी अगाडि भन्छन्, ‘यो फिल्म रिलिज हुँदा ब्लकबस्टर थियो र यसलाई युवा दर्शकको साथ पनि मिलिरहेको छ ।’

कहिलेकाहीं फिल्मको सिक्वेल बन्ने सम्भावनाले त्यो फिल्मप्रति दर्शकको चासो फेरि बढ्छ । सन् २००१ मा रिलिज भएको फिल्म ‘गदर एक प्रेम कथा’ले गत वर्षको सिक्वेल ‘गदर २’ हिट भएपछि हलमा पुनः दर्शकको माया पाएको नाहटा बताउँछन् ।

कोमल थप भन्छन्, ‘कमल हसनको इन्डियनले पुनः रिलिजमा उस्तै सफलता पाएन किनभने यसको सिक्वेल ‘इण्डियन २’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन ।

यस्तो अवस्थामा स्ट्रिमिङ प्लाटफर्ममा पनि उपलब्ध रहेका पुराना फिल्म हेर्न दर्शक किन पैसा खर्च गर्न तयार छन् ?

आदर्श भन्छन्, ‘थिएटरमा फिल्म हेर्ने अनुभव अनलाइनमा हेर्नेभन्दा धेरै फरक हुन्छ र यही कारणले दर्शकलाई थिएटरतर्फ तानेको छ ।’

श्रुति जेन्डे यसमा सहमत छन् । पुणेकी ३० वर्षीया श्रुतिले गत वर्षदेखि यस्ता धेरै फिल्म हेरिसकेकी छिन् । ‘कथाका लागि फिल्म हेर्नुको सट्टा सामूहिक अनुभव बन्छ, जनतालाई अब के हुने हो भन्ने थाहा हुन्छ र संवाद वा दृश्य अगाडि नै त्यही अनुसार प्रतिक्रिया दिन्छन्,’ उनी भन्छिन् ।

श्रुति अहिले तेलुगु सुपरस्टार नागार्जुनको २००४ मा आएको फिल्म ‘मास’ ठूलो पर्दामा हेर्न पर्खिरहेकी छिन् । ‘म वर्षमा एक वा दुई पटक रिलिज भएका फिल्म हेर्न सक्छु तर त्यसपछि नयाँ फिल्म मात्र हेर्न चाहन्छु’ उनी भन्छिन् ।

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?